
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार संसद विघटनपछि बिहीबार १६० अंक घटेर सर्किट ब्रेक लागेर कारोबार स्थगित भयो।
- आइतबार बजार १११ अंकले रिकभर भयो तर निर्जीवन बीमा सेक्टर ४.०२ प्रतिशतले घट्यो।
- अर्थमन्त्री रामेश्वर खनालको संयोजकत्वमा पूँजीबजार सुधारका लागि कार्यदल गठन गरिएको छ।
५ असोज, काठमाडौं । मुलुकमा संसद विघटन र अन्तरिम सरकार गठनपछि गत बिहीबार खुलेको सेयर बजार १६० अंक घट्यो । सर्किट ब्रेक लागेर कारोबार नै स्थगित हुन पुग्यो ।
तर आइतबार नै १११ अंक रिकभर भइसकेको छ । भदौ २३ र २४ गतेको विध्वंस घटना र त्यसबाट सिर्जित संक्रमणकालीन अवस्थापछि अघिल्लो दिन देखिएको त्रास आइतबार नै उत्साहमा परिणत भयो ।
अघिल्लो दिन लगातार तीन सर्किट ब्रेक लागेपछि कारोबार नै जम्मा ५ मिनेटमा सीमित रह्यो । जसले गर्दा खरिद गर्न चाहनेले पनि पाएनन् । आइतबार पनि बजारको प्रिओपमा त्यस्तै संकेत देखिएको थियो । प्रिओपनमा बजार घटे पनि नियमित कारोबारका क्रममा सम्हालिँदै उच्च अंकको वृद्धि कायम गर्यो ।
बजार सम्हालिए पनि निर्जीवन बीमा सेक्टरको त्रास कायमै छ । आइतबार सबै सेक्टर बढ्दा निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो । निर्जीवन बीमा उच्च दरले घट्नुमा यी कम्पनीको अकस्मात् बढेको दायित्व हो ।
भदौ २४ गतेको विध्वंस घटनामा ठूला व्यवसायी भवन, निजी आवास, सवारीसाधनमा आगजनी भयो । यहीं घटनापछि कम्पनीहरुमा क्षतिपूर्ति माग गर्दै करिब २१ अर्बको माग दाबी परिसकेको छ । यो माग दाबी रकम थप बढ्ने अनुमान छ । यहीं कारण निर्जीवन बीमा समूहप्रति लगानीकर्ता/कारोबारी सशंकित छन् ।
यो समूह कारोबारका क्रममा ७ प्रतिशतसम्म झरेको थियो । अन्तिममा केही सम्हालिएकाले आगामी दिनमा धेरै नघट्ने कतिपयको अनुमान छ । ‘निर्जीवन बीमा समूहका कम्पनीको दायित्व बढ्ने भएकै कारण आज धेरै घटेको हो, तर अरु सेक्टरले बजारलाई डोहोर्याउँदै माथि लैजान थाले भने यो सेक्टर पनि सम्हालिन्छ, अब धेरै नघट्ला’ लगानीकर्ता सुभासचन्द्र ढुंगानाले भने ।
एकैदिनको बजारलाई हेरेर फर्किएको भन्न नमिल्ने भए पनि अब बजार धेरै नघट्नेगरी लगानीकर्तामा विश्वास देखिएको उनी बताउँछन् । ‘नेगेटिभ सर्किट ब्रेकपछि खुलेका बजार विगतमा पनि बढेको देखिन्छ, तर आजैबाट फर्कियो भन्न अलि हतार हुन्छ, ३/४ दिनको कारोबार हेर्नैपर्छ ।’ उनले भने ।
बजारलाई अन्य मुख्य सैद्धान्तिक पक्षले साथ दिएकाले लगानीकर्ता धेरै आत्तिनु नपर्ने नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
‘अहिले ब्याजदर न्यून छ, लगानीयोग्य रकम पर्याप्त छ त्यसकारण धेरै डराउनुपर्ने अवस्था छैन’ उनले भने ‘पहिले पनि संकटपछि नेपाली सेयर बजार उठेको इतिहास छ, अहिले पनि त्यसै नहोला भन्न सकिन्न ।’
उनले भनेजस्तै विगतमा ठूला संकटपछि पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको इतिहास छ । २०७२ सालमा गएको भूकम्प र २०७६ माघमा देखिएको कोरोनापछि नेप्सेले रेकर्ड ब्रेक गरेको थियो ।
बजार सधैं बढिरहने वा घटिरहने हुँदैन । ‘भूकम्प र कोरोनापछि लामो समयसम्म आयात प्रभावित भयो, अन्य क्षेत्रमा लगानी गर्न जोखिम ठानियो, जसले गर्दा पैसा बजारमा आयो र नयाँ रेकर्ड बने’ ढुंगानाले भने ‘इतिहास सधैं दोहोरिन्छ भन्ने छैन, तर बजारप्रति विश्वास कायम छ ।’
यतिबेला दसैं, तिहार, छठजस्ता पर्व नजिकिएका छन् । चाडपर्वपछि बजारले राम्रो गति लिन सक्ने ढुंगाना बताउँछन् । ‘मंसिरसम्म बजार केही घट्ने वा साइडवेजमा रहन सक्छ’ उनले भने । असोज महिना चाडपर्वसँगै बैंकको साँवा, ब्याज भुक्तानी गर्ने समय भएकाले बजारलाई दवाव कायम रहन्छ ।
बजारप्रति सकारात्मक मनोभाव बढाउनका लागि सरकारले पनि एक कार्यदल गठन गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन् ।
शुक्रबार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । यो कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष बुझाउने जिम्मेवारी पाएको छ।
सो कार्यदल गठन भएपछि पनि लगानीकर्तामा आज सकारात्मक मनोभावना विकास भएको हो । अर्थमन्त्री खनाललाई सेयर बजार मैत्रीका रुपमा लगानीकर्ताले बुझ्दै आएका छन् ।
विगतमा पनि पूँजी बजार सुधारका लागि भन्दै कयौं कार्यदल गठन गर्ने र प्रतिवेदन बुझाइने गरेको हो । तर प्रतिवेदनमा उल्लेखित कतिपय सुझावहरु अझै कार्यान्वय भएका छैनन् । ती सुझाव कार्यान्वयनका लागि कयौं नीतिगत व्यवस्था समेत बाधक छन् ।
आइतबार मात्रै लगानीकर्ताका संगठनहरुले गठित कार्यदलसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा उनीहरुले विभिन्न सुझाव दिएका छन् । बैंकबाट दिइने सेयर कर्जाको सीमा ७० प्रतिशतलाई बढाएर ८० प्रतिशत कायम गर्नुपर्ने, व्यक्तिगत लगानीकर्ताका लागि २५ करोडको सीमा हटाउनुपर्ने, असोजसम्मको ब्याज भुक्तानीको अवधिलाई बढाउनुपर्ने, प्रिमियम र बुक बिल्डिङमार्फत आईपीओ तत्काललाई बन्द गर्नुपर्ने, सर्वसाधारणलाई कम्तीमा ४९ प्रतिशत सेयर निष्कासन गर्ने व्यवस्था गर्नुपर्ने, नेटवर्थ १०० भन्दा कम भएका कम्पनीलाई आईपीओ र हकप्रद जारी गर्न बन्द गर्नुपर्ने जस्ता माग लगानीकर्ताले राखेका छन् ।
प्रतिक्रिया 4