
News Summary
Generated by OK AI. Editorially reviewed.- अमृत साइन्स क्याम्पसकी पूर्व प्राध्यापक रविलक्ष्मी चित्रकारलाई जेन-जी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भई भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ।
- पूर्वसभापतिहरूले चित्रकारलाई 'सादा जीवन र उच्च विचारकी प्रतिमूर्ति' भन्दै सम्मान व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
- चित्रकारको देब्रे हात काटिएको छ र शरीरमा करिब १५ प्रतिशत जलन भएको छ भने फोक्सोमा निमोनिया देखिएको चिकित्सकहरूले बताएका छन्।
७ असोज, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी अमृत साइन्स क्याम्पस (अस्कल) की भौतिकशास्त्र विषयकी पूर्व प्राध्यापक रविलक्ष्मी चित्रकारको अहिले भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
आफ्नो गुरुआमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्कलका विभिन्न पुस्ताका स्ववियु सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
पूर्वमन्त्री प्रदीप पौडेलसहित केदार बस्नेत, कुमार गुरुङ, टेकराज पछाइ, प्रेम जैसी, केशबराज पान्डे, कमल बस्नेत र रुद्रहरी पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘अमानवीय र नृशंस’ भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ ।
पूर्वसभापतिहरूले दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा चित्रकारलाई ‘सादा जीवन र उच्च विचारकी प्रतिमूर्ति, हजारौं विद्यार्थीहरूको प्रेरणाको स्रोत’ भन्दै सम्मान व्यक्त गरिएको छ ।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी समेत रहेकी चित्रकारको ललितपुरस्थित निवासमा आगजनी भएको थियो । सो क्रममा गम्भीर घाइते भएकी चित्रकारलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको देब्रे हात काट्नुपरेको छ भने शरीरमा करिब १५ प्रतिशत जलन भएको चिकित्सकहरूले बताएका छन् ।
बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार उनको ज्यानलाई तत्काल खतरा नभए पनि फोक्सोमा धुवाँका कारण निमोनिया भएको छ । स्वास्थ्यमा सुधार देखिए पनि पूर्ण निको हुन समय लाग्ने बताइएको छ । थप उपचारका लागि छोरा निर्भिकसहित उनलाई दिल्लीको एपोलो अस्पताल लगिएको छ ।
चित्रकारको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै अस्कल परिवारले निरन्तर साथ र सहानुभूति रहने जनाएको छ ।
प्रतिक्रिया 4