+
+
Shares

बेलायतमा नेपाली बाबु–छोराले नै जिते वर्ल्ड कराँते च्याम्पियनसीपमा पदक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ६:२३

लन्डन । बेलायतमा आयोजित वर्ल्ड कराते च्याम्पियनसीप २०२५ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् ।

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले १९ देखि २१ सेप्टेम्बरसम्म के टु एरिना क्रलीमा आयोजना गरेको प्रतियोगितामा १२ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ज्ञानेन्द्र क्षेत्रीले पदक जितेका हुन् ।

एड्रियनले अन्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल जिते भने उनका बुबा ज्ञानेन्द्रले सोही च्याम्पियनसीपमा अण्डर ६० मा सिल्भर मेडल जिते ।

लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ८ मा अध्ययनरत एड्रियनले यसअघि अण्डर १० र ०२४ को ईयू च्याम्पियनसीप अण्डर १५ मा पनि मेडल जितेका थिए ।

‘सफलतामा खुशी त पक्कै छौं, यसले अरुलाई पनि प्रेरित गर्न सक्छ भन्ने विश्वास छ’, ज्ञानेन्द्रले भने ।

‘ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २२ वर्षदेखि कार्यरत वरिष्ठ इन्जिनियर क्षेत्रीले यसअघि अण्डर ५० मा गोल्ड मेडल जितेका थिए । यसपटक ७ डान ब्ल्याक बेल्टसँग प्रतिष्पर्धा गर्नुपरेका कारण सिल्भर मेडलमा चित्त बुझाउनु परेको क्षेत्रीले जनाए ।

काठमाडौं गोकर्णका स्थायी बासिन्दा क्षेत्री क्वीन्सबरी बस्छन् । उनका छोरा एड्रियन लन्डन बार्नेटमा जन्मिएका थिए ।

एड्रियन ५ वर्षको छँदा सन् २०१७ देखि यस खेलमा आवद्ध भएका थिए । एड्रियनले सोमबार, मंगलबार र बुधबार पढाइपछि ६ देखि ८ बजे साँझ कराते प्रशिक्षण लिंदै आएको बताए ।

छोरालाई सिकाउन लैजाँदा आफू पनि खेल्न थालेको ज्ञानेन्द्रले बताए । ‘एकदिन छोराले मलाई ड्याडी मेरो ट्रेनिङभर कुरेर बस्नु हुन्छ । बरु हजुर पनि सिक्नु न भन्यो’, उनले सुनाए, ‘मेरो पनि हुन्छ र ? भनेको छोराले कोचलाई बोलाइसकेछ । कोचले ओके भनेपछि यता लागें ।’

बाबु–छोराले फेमिली कातामा समेत प्रतिस्पर्धा गरेर विभिन्न मेडल जितेका छन् ।

खेल खेल्न उमेरले नछेक्ने उनले बताए । ‘बिरामी भएर औषधि खानुभन्दा मार्सलआर्ट राम्रो नि’, उनले भने, ‘यो त घरमा पनि प्राक्टिस गर्न सकिन्छ । स्वस्थ्य रहन पनि खेल आवश्यक छ ।’

इन्जिनियर क्षेत्री गीतकार पनि हुन् । उनले लेखेको ‘पैसा पैसा’ भन्ने गीत एवं म्यूजिक भिडियो गत वर्ष निकै लोकप्रिय भएको थियो । यसबाहेक माया र प्रेमलाई संस्कार र प्रकृतिसँग संयोजन गरिएको उनको ‘पीर नगर निरमाया’ बोलको अर्को गीतको भिडियो पनि यूट्युबमा लाखौंले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?