
८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा तिहारअघि नै स्मार्ट बोर्ड जडान गरिने भएको छ ।
महानगरका मेयर बालेन साहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘विविध कारणले विगत २ वर्षदेखि रोकिएको स्मार्ट कक्षाकोठा बनाउने कार्य अन्ततः सम्पन्न हुने चरणमा पुगेको छ । हाल सबै सामुदायिक विद्यालयमा पहिल्यै भएका १७७ वटा स्मार्ट बोर्ड र पछिल्लो ठेक्का मार्फत ३१३ वटा स्मार्ट बोर्ड जडान भइसकेको छ । ५७० वटा बोर्डका लागि सम्बन्धित विद्यालयमा बजेट निकासा गरिसकेको छ । महानगरका ८७ वटा विद्यालयका लागि आवश्यक १ हजार ६० वटा बोर्ड तिहार अगाडि नै जडान हुनेछन् ।’
योसँगै विद्यालयका सम्पूर्ण कक्षाकोठालाई स्मार्ट कक्षाकोठाको रूपमा परिणत गर्ने कार्य सम्पन्न हुने र सामुदायिक विद्यालयका ५३ हजारभन्दा बढी विद्यार्थी लावान्वित हुने मेयर साहले बताएका छन् ।
‘बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकतामा हुन्, उनीहरूप्रति गर्ने लगानीले मात्रै उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गराउन सक्छ भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । यसमा सबैको अपनत्व हुन आवश्यक छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया 4