
सोसल मिडियामा सक्रिय रहने इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरु अहिले निकै ग्लामरस लाग्दछन् । तर, भविष्यमा सोसल मिडियाका कन्टेन्ट क्रिएटरहरुले आफ्नो यस्तो प्रभावशाली व्यक्तित्व गुमाउनेछन्।
हातमा मोबाइल फोन लिएर लगातार विभिन्न खालका सिर्जनात्मक सामग्रीहरू तयार पार्ने यस्ता कन्टेन्ट क्रिएटरहरुहरुको भविष्यको रुपरंग तथा सरीरलाई लिएर डरलाग्दो खालको एक प्रारुप तयार पारिएको छ । यसका माध्यमबाट विज्ञहरुले ग्याजेटको अत्यधिक प्रयोगले कन्टेन्ट क्रिएटरहरु भविष्यमा कस्ता बन्नेछन् भन्ने देखाउने कोसिस गरेका छन् ।
फोनमा सोसल मिडियाका लागि विविध सामाग्री तयार पार्ने मानिसहरु भलै अहिले ग्लामरस तथा आकर्षक देखिन्छन्, तर उनीहरुको त्यो जाज्वल्य धेरै नटिक्ने देखिन्छ ।
न्युयोर्क पोस्टको रिपोर्ट अनुसार अनलाइन जुवा साइट क्यासिनो डट ओआरगीका विज्ञहरुले एउटा अनौठो खालको एआई मोडल तयार पारेका छन् । यसले सन् २०५० मा कन्टेन्ट क्रिएटरहरु कस्ता देखिनेछन् भन्ने देखाएको छ । यसमा उनीहरुको छालामा धब्बा, कुप्रो ढाड तथा गर्धनमा लगातार दुखाईको संकेत दर्शाईएको छ ।
जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सक्छ कन्टेन्ट क्रियसन
विज्ञहरुका अनुसार सोसल मिडियामा सामाग्री सिर्जना गर्ने करिअर आकर्षक देखिएता पनि यसले हाम्रो जीवनशैलीले गम्भीर असर ल्याउन सक्दछ । लाखौं करोडौं फलोअर्स भएका सोसल मिडिया सेलिब्रेटीको ट्रेण्डिङ पेशाले उनीहरुको शरीरको रुपरंगलाई प्रभावित गर्दछ ।
विज्ञहरुका अनुसार एल्गोरिदमको पछि लाग्नु, सौन्दर्य मानकको दबाब तथा निरन्तर कन्टेन्ट सिर्जनाले शरीर र मन दुवैमा नकारात्मक प्रभाव पार्नसक्छ ।
यो कुरालाई प्रष्ट पार्नका लागि क्यासिनो डट ओआरजीले एवा नामको भविष्यको एउटा काल्पनिक कन्टेन्ट क्रिएटरको प्रारुप तयार पारेको छ । यो वर्षौंसम्मको कन्टेन्ट क्रियसनबाट सिर्जित जटिलताहरुको डिजिटल प्रतिनिधि हो ।
जसरी सन् १८९० मा ओस्कार वाइल्डले लेखेको प्रसिद्ध थ्रिलर उपन्यास द पिक्चर अफ डोरियन ग्रे ले सोसल मिडिया युगका डरलाग्दो वास्तविकतालाई प्रतिनिधित्व गर्दछ, त्यसैगरी एवाले कन्टेन्ट क्रियसनमा लिप्त सर्जकहरुको भविष्यको शारीरिक विकारलाई देखाउँदछ ।
विज्ञ भन्छन् : लस भेगासको अन्तहीन ब्राण्ड यात्रादेखि फिल्टर र फोटोशूटको दैनिक भागदौडसम्मले उनीहरुको जीवनशैलीमा गहिरो छाप छाडेको छ ।
चिकित्सा अनुसन्धान अनुसार एवाको रुपरंग प्रभावशाली मानिसहरुका आनीबानीको परिणाम हो ।
काल्पनिक पात्र एवाको भयावह रुप
यस एआई सेलिब्रेटीको गतिहीन, स्क्रिन संतृप्त जीवनशैली वास्तवमा उसैमाथि भारी पर्नेछ । उदाहरणका लागि लामो समयसम्म सोसल मिडिया तथा स्मार्टफोनको प्रयोगका साथै रिंग लाइटको तल घण्टौँसम्म पोज दिँदा एवाको काँध गोलो भएको छ । त्यसैगरी टाउको अगाडितर्फ झुकेको छ र गर्धनमा सधै पीडा महसुस हुन्छ । यस्तो अवस्थालाई टेकनेक भन्दछन् ।
इन्टरडिसिप्लिनरी न्यूरोसर्जरी पत्रिकामा शोधकर्ताहरुले लेखेको रिपोर्ट अनुसार पटक पटक स्मार्टफोनको प्रयोगले गर्धनको पोस्चर असन्तुलित हुनसक्छ वा मांशपेशी तथा हड्डी (मस्कुलोस्केलेटल) विकार विकसित हुनसक्छ ।
गर्धनको अगाडितर्फ झुकेको अवस्थाले गर्दा गर्धन र मेरुदण्डको दुखाइ सिर्जना गर्दछ । साथै यसले मेरुदण्ड आसपासका क्षेत्रहरुमा मांशपेशीमा दबाब पैदा गर्न सक्दछ । यो वास्तवमा चिन्ताजनक अवस्था हो ।
बीबीसीका अनुसार सोसल मिडिया इन्फ्लुएन्सरहरुले हप्तामै ९० घण्टासम्म काम गर्दछन् र त्यसको अधिकांस समय आफ्नो फोनमै बिताउँछन् ।
भविष्यको अविश्वसनीय विज्ञान प्रविधिको विकाससँग सम्बन्धित कथानक भएको थ्रिलर फिल्म द सब्सेन्टजस्तै सोसल मिडिया सेलिब्रेटीहरुको सौन्दर्यको खोजीले उनीहरुलाई उल्टै कुरुपतामा धकेलिरहेको छ ।
क्यासिनो डट ओआरजीका अनुसार एआई पात्र एवालाई छालाको जलन, सुन्निने तथा छालामा दागधब्बा निस्कने जस्ता समस्या देखिएका छन् । दैनिक रुपमा पटक-पटक अनेक खालका मेकअप लगाउने, बारम्बार छाला सुन्दर बनाउने भन्दै ब्यूटी प्रडक्टहरु लगाउने र लगातार कस्मेटिकको प्रयोग गर्दा यस्ता समस्या उत्पन्न हुन्छ ।
आँखामा पनि असर
सोसल मिडियामा पोस्ट गर्नका लागि तयार पारेका सामग्रीहरु सम्पादन तथा लाइभ प्रशारण गर्ने सिलसिलामा व्यतित गरिएको लम्बेतान समयले आँखामा पनि ठूलो असर पार्नसक्छ । मेडिकल जगतमा यसलाई डिजिटल आई स्ट्रेन वा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ ।
यो समस्याका लक्षणहरुमा आँखा रातो हुनु, सुख्खा हुनु तथा दृष्टि धमिलो हुनुदेखि आँखाको मुनि सुन्निएको जस्तो वा डार्क सर्कल बस्नु लगायतका हुन्छन् ।
अत्यधिक स्क्रिन टाइमका कारण आँखामा उत्पन्न हुने यस्ता दुष्प्रभावलाई कम गर्नका लागि स्क्रिनमा काम गर्नेहरुले २०-२०-२० को नियम पालना गर्नुपर्छ । यसमा हरेक २० मिनेट कम्प्युटर वा फोनको स्क्रिनमा आँखाले हेरेर बिताएसँगै २० सेकेण्डका लागि २० फिटको दूरीमा रहेको कुनै पनि चिजलाई हेर्नुपर्छ र आँखालाई केही बेरका लागि स्क्रिनबाट बाहिर निकाल्नुपर्छ ।
लगातार सोसल मिडिया फीड स्क्रोल गर्ने तथा फ्यानहरुसँग दिनरात कुराकानी गरिरहने बानीले निद्रामा असर गर्नसक्छ । किनकि स्क्रिनबाट निस्कने निलो प्रकाशले सरीरमा एड्रेनलाइन हर्मोनको उत्सजर्नमा प्रभाव पार्ने र जैविक घडीमा असर पार्ने हुन्छ ।
फिलरका कारण विकृत हुँदै अनुहार
सोसल मिडिया इन्फ्लुएन्सरले राम्रो अनुहार देखाउनका लागि अनुहारमा वर्षौँसम्म फिलर लगाउँदा त्यसले अनुहार असमान तथा विकृत बन्दछ । स्नापच्याट डिस्मर्फिया तथा पिलो फेस सिन्ड्रोम जस्ता ट्रेण्डबाट प्रेरित भएर यस्ता कस्मेटिक प्रयोग गर्नाले गाला सुन्निने, चुच्चो परेको चिउँडो तथा ओँठ बन्ने र अनुहारको कृत्रिम र कुरुप स्वरुप सिर्जना हुने जोखिम रहन्छ ।
साथै स्टाइलिस बन्नका लागि कपालमा अत्यधिक बाह्य सामग्री तथा रसायनको प्रयोगले कपाल झर्ने, तालु खुइलिने वा कपाल पातलो बन्ने जस्ता समस्या निम्तिने गरेका छन् ।
छाला विज्ञ तथा कपाल झर्ने समस्या सम्बन्धी विज्ञ आमना एडेलका अनुसार कपालको जरा अर्थात् फोलिकलहरु लगातार तान्नाले ट्रयाक्सन एलोपेसिया नामक समस्या उत्पन्न गर्दछ । यस्तो समस्या समयक्रम सँगै असाध्य बन्दछ र स्थायी रुपमै कपाल झर्नसक्छ ।
क्यासिनो डट ओआरजीका अनुसार उसले तयार पारेको कन्टेन्ट क्रिएटरको एआई प्रतिरुप एवा केवल एक काल्पनिक तथा अवधारणागत चित्र मात्र होइन । यो हाम्रो यस्तो डिजिटल लतले पार्ने दीर्घकालीन प्रभावहरुको प्रतिबिम्ब पनि हो ।
प्रतिक्रिया 4