नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी बीच कुराकानी भएको जस्तो देखिने १५ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। क्लिपमा देउवाले “मेरो घरमा भेटिएको नोटको बिटो सबै एआई थियो” भनेको सुनिन्छ।
तर, नेपालफ्याक्टचेको तथ्य जाँचले यो भिडिओ वास्तविक नभई एआईबाट बनाइएको प्रष्ट भएको छ।
के हो दाबी ?
फेसबुकमा ७० हजारभन्दा बढी फलोअर्स भएका प्रयिन सिंह नामक प्रयोगकर्ताले गत फेब्रुअरी २६ मा यो भिडिओ पोस्ट गर्दै क्याप्सनमा लेखेका छन्- “घरको पैसा एआई, भिडियो एआई, राम धुलाई पनि एआई नै थियो रे के भन्नु हुन्छ, शेरे बाजे ?”
भिडिओमा देउवाले “त्यो मेरो घरमा भेटिएको नोटको बिटो सबै एआई नै थियो” भनेको सुनिन्छ। प्रस्तोताले “अनि हजुरहरूले भेट्नुभएको राम धुलाई नि?” भन्छन्। देउवा एकछिन अलमलिएर “धुलाई पनि एआई नै थियो” भन्छन्।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड :
(भिडियोको लिंक, अर्काइभ लिंक र अर्काइभ भिडियो)
तथ्य जाँच गर्दासम्म उक्त रिल्समा १५ हजार लाइक, २७५ कमेन्ट, २८३ शेयर र ६ लाख २१ हजारभन्दा बढी भ्यूज छन्। कमेन्टहरुको विश्लेषण गर्दा केहीले यसलाई साँच्चिकै भिडिओ ठानेर प्रतिक्रिया दिएको भेटियो। हामीलाई ह्वाट्सएपमा पनि यो भिडियो साँच्चै हो कि होइन तथ्य जाँच गरिदिन अनुरोध आएकोले हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्यौँ।
के हो तथ्य ?
कार्यक्रमको सेट हेर्दा सुरज सिंह ठकुरीको युट्युबमा प्रसारण हुने ‘इनसाइड द बङ्कर‘ कार्यक्रमको जस्तो देखिन्छ। तर हामीले युट्युबमा खोज्दा देउवासँग यस्तो अन्तर्वार्ता भएको कुनै एपिसोड भेटिएन।
भिडियो पोस्ट गर्ने प्रयिन सिंहको फेसबुक प्रोफाइल सन् २०१२ मा खोलिएको र अमेरिका बाट सञ्चालन भइरहेको देखिन्छ। उनले आफ्नो बायोमा आफू एआई कन्टेन्ट क्रिएटर भएको उल्लेख गरेका छन्। तर यो भिडिओ एआईबाट बनेको भनेर उनले कुनै लेबल राखेका छैनन् जसका कारण दर्शक झुक्किएको देखिन्छ।

हामीले उक्त भिडियोलाई हाइभ मोडेरेशनमा पनि चेक गर्यौँ। हाइभ मोडेरेशनले उक्त भिडियो ९९ प्रतिशत एआई निर्मित हुनसक्ने जनायो।
हेर्नुहोस्, हाइभ मोडेरेशनको नतिजा :

तथ्य जाँच गर्ने क्रममा हामीले उक्त भिडियोलाई गुगलको SynthID Check परीक्षण गर्यौँ। SynthID गुगलद्वारा विकसित प्रविधि हो, जसले एआईबाट सिर्जित सामग्रीमा डिजिटल वाटरमार्क पहिचान गर्न मद्दत गर्छ ।
परीक्षणको नतिजाले उक्त भिडियोमा भएका दृश्यहरू गुगल एआईद्वारा सम्पादन वा उत्पन्न गरिएको देखायो ।
हेर्नुहोस्, स्क्रिन सट :

यी सबै परीक्षणहरूले भिडिओ कृत्रिम रूपमा सिर्जित भएको देखाउँछन्।
तथ्य जाँच
दाबी : शेरबहादुर देउवाले आफ्नो घरमा भेटिएको नोटको बिटो “सबै एआई” भएको बताएका भाइरल भिडिओ।
दाबीकर्ता : प्रयिन सिंह (फेसबुक प्रयोगकर्ता)।
तथ्य/निष्कर्ष : मिथ्या। देउवाले हालसालै यस्तो कुनै अन्तर्वार्ता दिएको पुष्टि हुँदैन। प्राविधिक परीक्षण र स्रोत खोजीका आधारमा भाइरल भिडिओ एआईमार्फत निर्माण गरिएको हो।
(अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य)
–सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिंक हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ ।
प्रतिक्रिया 4