१९ माघ, काठमाडौं । भारत केन्द्र सरकारले युवालाई डिजिटल कन्टेन्ट निर्माण, विशेषगरी रील बनाउने सीप सिकाउन विद्यालय तथा कलेजस्तरमै कन्टेन्ट क्रिएसन ल्याब स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०२६ को बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीथारमणले १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा कन्टेन्ट क्रिएटर ल्याब स्थापना गर्ने घोषणा गरेकी हुन् ।
उनका अनुसार मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजीको सहयोगमा देशभरका विद्यालय र कलेजहरुमा कन्टेन्ट क्रिएटर ल्याब सञ्चालन गरिनेछ ।
यी ल्याबमार्फत युवालाई एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स तथा सामाजिक सञ्जालका लागि रील र डिजिटल सामग्री निर्माण गर्न सिकाइने छ ।
भारत सरकारले AVGC (एनीमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स) क्षेत्रमा २०३० सम्म २० लाख युवालाई दक्ष बनाउने लक्ष्य लिएको छ ।
साथै, पढाइसँगै कम्पनीमा काम गर्ने अवसर दिने गरी पाँच नयाँ इन्टर्नसिप कार्यक्रम पनि सुरु गरिने बजेटमा उल्लेख छ ।
गेमिङ स्टार्टअपलाई प्रोत्साहन गर्न १० हजार करोड रुपैयाँको कोष स्थापना गरिनेछ, जसबाट १० लाखभन्दा बढीलाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
एआई र डीप–टेक केन्द्रित १० हजार नयाँ फेलोसिप पनि सुरु गरिनेछ ।
यसैगरी, २० प्रमुख पर्यटकीय स्थलमा १२ हप्ताको हाइब्रिड तालिममार्फत १० हजार टुरिस्ट गाइडलाई सीपयुक्त बनाउने लक्ष्य समेत छ । राष्ट्रिय डिजिटल ज्ञान ग्रिड स्थापना गरेर स्थानीय अनुसन्धानकर्ता, इतिहासकार र कन्टेन्ट क्रिएटरका लागि रोजगारीका अवसर सिर्जना गरिने भारतको बजेटमा उल्लेख छ ।
यो पनि पढ्नुहोस् –
प्रतिक्रिया 4