
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले सबै कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।
- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतृत्व हस्तान्तरण गरी आफूलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव राखेका छन्।
- उपमहासचिव जनार्दन शर्माले वर्तमान पदाधिकारी फेरि नआउने गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन्।
९ असोज, काठमाडौं । जेनजी आन्दोलनबाट एकैपटक बढारिएपछि राजनीतिक पार्टीहरुमा नेतृत्व परिवर्तनको चर्को दबाब बढेको छ । यही दबाबमा कारण आन्तरिक संघर्ष चल्न थालेपछि नेकपा माओवादी केन्द्रको बिहीबारबाट केन्द्रीय समितिको बैठक सुरु भएको छ । जसमा नेताहरुका तीन थरी प्रस्ताव आएका छन् ।
अध्यक्ष पुप्पकमल दाहालले विशेष महाधिवेशन गर्ने त्यतिन्जेलसम्म सबै कमिटी भंग गरी आफू संयोजक रहने प्रस्ताव गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दशक भन्दा बढी नेतृत्व गरेको व्यक्तिमाथि प्रश्न उठेकाले अब नेतृत्व हस्तान्तरण गरिहाल्नुपर्ने र तत्काल आफूलाई दिनुपर्ने प्रस्तावसहितको दस्तावेज ल्याएका छन् ।
उपमहासचिव जनार्दन शर्माले चाहिँ अहिले पदाधिकारी तहमा रहेका कोही पनि व्यक्ति फेरी नेतृत्वमा नआउने गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । जुन प्रुस्तावहरुमाथि केन्द्रीय समिति बैठक समूहगत छलफल भइरहेको छ ।
बिहीबारबाट सुरु भएको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति गठनको प्रस्ताव राखे ।
आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने एजेण्डा प्रस्तुत गरे । पार्टी कमिटीमा जेनजी र युवा पुस्ताको प्रतियनिधित्व ५० प्रतिशतसम्म पुर्याउने बताए ।
तर, सडकबाट जेनजीहरूले जसरी सुशासन र भ्रष्टाचारको विषयमा आवाज उठाएका थिए । तीन एजेण्डा अध्यक्ष प्रचण्डले प्रस्तुत गरे न अन्य नेताहरूले ।
प्रचण्ड लगत्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोले । प्रचण्डलाई नेतृत्व छाड्न र आफूलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव राखे । विशेष महाधिवेशन आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावभन्दा पछाडि गर्ने प्रस्ताव अगाडि सारे ।
त्यसपछि उपमहासचिव जनार्दन शर्माले वर्तमान पदाधिकारी फेरि नआउने गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका थिए ।
हाल रहेका पदाधिकारी निर्देशक समितिमा रहेर पार्टीको वैचारिक क्षेत्रमा काम गर्ने उनको प्रस्ताव छ । ‘नयाँ पुस्ताबाट नयाँ नेतृत्व स्थापित गरौं । त्यो हामी भन्दा अझ बढी खट्न पनि सक्छौं’ शर्माको आग्रह छ ।
माओवादीका नेता सन्तोष बिस्टका अनुसार जनार्दनको प्रस्तावले एकप्रकारको तरंग नै पैदा गरेको छ । केन्द्रीय समितिको बैठक अगाडि उपमहासचिव शर्माले आफू अध्यक्ष हुने गरी प्रचण्डलाई हटाउन खोजेको सन्देश प्रवाह भएको थियो ।
तर, केन्द्रीय समितिमा वर्तमान पदाधिकारी कोही पनि नआउने प्रस्ताव राखेपछि माहोल केही मोडियो ।
तीन जना नेताले बोलिसकेपछि तीन वटै प्रस्ताव उपर छलफल गर्न १० वटा समूह बने । १० वटै समूहमा एकसरो भयो । शुक्रबार बिहान ११ बजे केन्द्रीय समितिको बैठकमा निष्कर्ष प्रस्तुत गर्नेछन् ।
नेताहरूका अनुसार समूहगत छलफलमा जसरी तीन जना नेताले विषय प्रस्तुत गरे त्यसैगरी छलफल चलेको छ । नेतृत्व परिवर्तनको विषयमाथि ज्यादा छलफल हुँदा भ्रष्टाचार लगायतका विषयको छलफल भने कम प्राथमिकतामा छ ।
कपिलवस्तुबाट केन्द्रीय समितिमा रहेका काशीराम यादवका अनुसार केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनकै कारण बैठक बसेको हो । ‘जेनजीले सुशासन र भ्रष्टाचारको विषय उठाएका छन्’ काशीराम स्मरण गर्छन, ‘हाम्रो पार्टी अध्यक्षले भ्रष्टाचार विरुद्धको अभियानमा आफैँबाट अनुसन्धान सुरु गर्न भन्नुभएको छ । यही भन्ने हिम्मत सबैले राख्नुपर्छ र अनुसन्धानका लागि तयार हुनुपर्छ ।’
तर, यो ढंगले केन्द्रीय समितिको बैठकमा छलफल भएको छैन ।
माओवादी केन्द्रका नेता रञ्जित तामाङका अनुसार यी भ्रष्टाचारका विषय माओवादीले विगतदेखि नै उठाउँदै आएका हुन् । माओवादीले आफूले नै उठाएका विषय सही ढंगले कार्यान्वयन हुन नसक्दा जेनजी आन्दोलन उठेको हो ।
‘हामीले सुशासन, सेवा प्रवाह, संरचना र नीतिका मुद्दा र एजेण्डालाई विगतदेखि नै उठायौं । ती मुद्दाहरू हामीलाई असाध्यै महत्वपूर्ण लागे । तर, समय क्रममा छोड्दै आयौं,’ उनी भन्छन्, ‘नीति सबै माओवादीको, मुद्दाहरू सबै माओवादीको छ । तर, जनताको विश्वास जति जित्न सक्नुपर्ने थियो त्यो जित्न सकेनौं ।’ यही कारण जेनजी आन्दोलन हुनुपरेको र हुन पुगेको उनको निष्कर्ष छ ।
यसको कारण स्वयं माओवादी भएको उल्लेख गर्दै उनी थप्छन्, ‘हाम्रो नेतृत्व पनि विवादरहित हुन सकेन । नेतृत्वको आचरण र शैली हेर्दा कांग्रेस र एमालेको जस्तै बन्ने वातावरण बन्यो ।’
अब फेरि पार्टीले मुलुकको नेतृत्व गरी अगाडि बढ्न नेतृत्वमा पुस्तान्तरण हुन आवश्यक रहेको उनको तर्क छ । उनी थप्छन्, ‘एजेण्डा र मुद्दाले मात्रै माओवादी बाँच्न सक्दैन । धेरै एजेण्डा र मुद्दा माओवादीका हुन भनेर मात्रै माओवादीको अस्तित्व नरहन सक्छ ।’
यस्तोमा के गर्ने त ? जवाफमा तामाङ चार विकल्प देख्छन् ।
पहिलो : नेतृत्व तहमा पुस्तान्तरण हुनुपर्छ । नयाँ युवालाई अवसर दिने र नयाँ पुस्ताबाट नेतृत्व विकास गर्ने । जसले समय र मुद्दा दुवैको नेतृत्व गर्न सकोस् ।
दोस्रो : भ्रष्टाचार र अनियमितताबारे छानबिनका लागि नेताहरू तयार हुने । यसकालागि पार्टी भित्र पनि छानबिन गर्न समिति बनाउने र दोषी देखिएकालाई कारबाही गर्ने । राज्य संयन्त्रले गर्ने छलफलका लागि तयार हुने ।
तेस्रो : उत्पादनमा नजोडिएकालाई पार्टीमा नजोड्ने । यसो गर्न सक्दा स्वतः भ्रष्टाचार र सुशासनको प्रश्न कम भएर जाने उनको विश्वास छ । एकै व्यक्ति लामो समयसम्म शासन सत्ताको वरिपरी रहिरहन चाहने प्रवृति पनि यसले गर्दछ ।
चौथो : कति उत्पादनमा जोडिएको र राज्यलाई उत्पादनमार्फत कति योगदान गरेको छ, समाजमा कस्तो प्रभाव पार्न सकेको छ भन्ने आधारमा पार्टीमा पदोन्नतिको मापदण्ड बनाउने ।
यसो गर्न सक्दा पार्टीले मुलुकको नेतृत्व लिइरहन सक्ने नेता तामाङको विश्वास छ ।
यही ढंगले केन्द्रीय समितिको बैठकमा छलफल भएको छ त ? नेताहरूका अनुसार एजेण्डागत रुपमा भन्दा ज्यादा नेतृत्व परिवर्तनको विषयमा छलफल भएको छ ।
माओवादी नेता विदुर खड्काकाअनुसार जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा फरक–फरक मत प्रस्तुत भएका छन् ।
युवा नेताहरूले आन्दोलनको अगुवाइ युवाले गर्ने र विगतमा गर्दै आएको ख्याल गर्न र त्यसअनुसारको व्यवहार गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
युवा पुस्ताले गरेको क्रान्तिमार्फत प्राप्त उपलब्धीलाई पाको पुस्तामार्फत संस्थागत गर्ने अभ्यास विगतमा हुँदै आएको र जेनजी आन्दोलनमा पनि त्यही देखिएको बताउँछन् ।
उनी भन्छन्, ‘जेनजी आन्दोलनपछि सरकार निर्माणको प्रक्रियालाई हेर्दा पनि यस्तै देखिन्छ । अन्तरिम सरकारमा अनुभवी र पाका पुस्ता नै हुनुहुन्छ ।’
यो यथार्थका बाबजुद जेनजी आन्दोलनपछिको केन्द्रीय समितिको बैठकलाई मौकाको रुपमा नेतृत्व लिने र नेतृत्व नछाड्ने जस्तो परिस्थिति बन्दा केन्द्रीय समितिको बैठकमा एजेण्डा एकातिर छलफल अर्कोतिर जस्तो हुन पुगेको भाव छ ।
अध्यक्षले केन्द्रीय समिति भंग गरेर महाधिवेशनमै जाने भनिसकेकाले नेतृत्वको विषयलाई कम एजेण्डामा ज्यादा छलफल हुन सक्नुपर्ने उनको मत छ ।
नेता खड्का भन्छन्, ‘पार्टीको कार्यदिशा, विचार, नेपाली समाजको आर्थिक, सांस्कृतिक, समाजिक अन्तरविरोध छन् तिनलाई हल गर्ने विषयमा छलफल हुनुपर्दथ्यो, भएको पनि छ । तर, अलि बढी नेतृत्व परिवर्तनको, नेतृत्वको छिनाझम्टीको विषयले प्राथमिकता पाएको हो कि भन्ने डर छ ।’
तथापी, पार्टीलाई एजेण्डामै केन्द्रित गराउने प्रयासमा आफूहरू रहेको खड्काको जवाफ छ ।
माओवादीका अर्का नेता सन्तोष विस्टका अनुसार समूहगत छलफलमा तीन शीर्ष नेताले प्रस्तुत गरेको दस्तावेजमाथि नै छलफल भएको छ ।
उनी भन्छन्, ‘जसरी छलफलमा तीन वटा डकुमेन्ट प्रस्तुत भयो । त्यसैगरी दृष्टिकोण पनि फरक–फरक डकुमेन्टलाई समर्थन गरेर सदस्यहरूको धारणा आएको छ ।’ जे जस्ता विषय प्रस्तुत भएका छन् त्यसैगरी केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने तयारी छ ।
तीन नेताका कतिपय विषयमा तीन खाले प्रस्ताव आएका छन् । यस्तोमा कस्तो साझा सुझाव वा निष्कर्ष के दिने भन्ने विषय समूहगत छलफलमा पनि उठेको छ ।
माओवादी नेता सिता थेवेका अनुसार नेतृत्व छाडिदेउ भनेर छाडिने विषय होइन । उनी भन्छिन्, ‘प्रचण्ड समयले जन्माएको नेतृत्व हो । उहाँ नै सँधै नेतृत्व भन्ने होइन । अर्को नेतृत्व पनि समयले जन्माउँछ । हामी यसमा प्रष्ट छौं ।’
यसलाई ख्याल गरेर केन्द्रीय समितिमा समूहगत छलफलका निष्कर्ष प्रस्तुत हुने र केन्द्रीय समितिले निर्णय लिने उनको विश्वास छ ।
माओवादीका अर्का नेता रहिश साह पनि थेवेको भनाइमा समर्थन जनाउँछन् । ‘पार्टी कमिटीमा युवाको सहभागिता बढाउँदै लैजाने नीति लिने प्रस्ताव आएको छ ।
यसअनुसार जाँदा निश्चित समयमा समयले नेतृत्व जन्माउँछ । त्यो नेतृत्व जो कोही पनि हुन सक्छ’ उनी भन्छन्, ‘प्रचण्डको अहिलेसम्मको नेतृत्व जुन छ यसमा मुलुकले नै गर्व गरेको छ, हामीमा संकोच रहने कुरै छैन ।’
नेतृत्व परिवर्तनका लागि पार्टीले विधान बनाएको छ । विधान अनुसार नेतृत्वको विषयमा निर्णय हुने उनको जवाफ छ, ‘विधान अनुसार नेतृत्वमा जो पनि आउन सक्छ । विधान अनुसार फेरि प्रचण्ड अध्यक्षमा आउनुहुन्छ भने हामी सबै मान्न तयार छौं, मान्छौं ।’
प्रतिक्रिया 4