+
+
Shares

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त

जनसम्पर्क सल्लाहकारमा तिमल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १६:५४

 १२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।

त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

खनाल पेशाले पत्रकार हुन् । उनी द हिमालयन टाइम्स र उकालो अनलाइनका सम्पादक थिए । त्यसभन्दा अघि उनले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका थिए ।

उनी साझा पार्टी स्थापनाका क्रममा संस्थापक थिए । साझा पार्टीसँगको आबद्धता त्यागेपछि उनले फेरि पत्रकारिता गरेका थिए । पछिल्लो समय उनी भू–राजनीतिक विषयवस्तुसँग सम्बन्धित अनुसन्धानमा संलग्न थिए ।

पछिल्लोपटक उनी सेन्टर फर सोसल इनोभेसन एण्ड फेडरलिजमका रिसर्च डाइरेक्टर थिए । यो संस्थाले मूलतः चिनियाँ गतिबिधिलाई निगरानी गर्दै भूराजनीतिक बिषयमा अनुसन्धान गर्दछ ।

नेपालमा चिनियाँ गैरसरकारी संस्था र सफ्ट पावर, नेपालमा बीआरआई, नेपालका मिडियामा चिनियाँ प्रभाव लगायतका बिषयमा अनुसन्धान प्रतिबेदन तयार पारेको थियो ।

खनालको पारिवारिक पृष्ठभूमी समेत राजनीतिक हो । उनी नेपाली कांग्रेसका संस्थापकमध्येका एक श्रीभद्र शर्माका छोरा हुन् । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय शर्मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत हुन् । खनालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा सघाउनेछन् ।

आइतबार नै जनसम्पर्क सल्लाहकारमा नियुक्त गोविन्द नारायण केही वर्षदेखि वैकल्पिक राजनीतिक शक्ति स्थापनाको वकालतमा थिए । उनी विवेकशील नेपाली दलमा आबद्ध भएर काम गरे ।

विवेकशील र साझा पार्टी एकीकरणपछि भने दुवै पक्षबीच मनमुटाव भयो, त्यसपछि वैकल्पिक राजनीतिमा काम गरेपनि उनी कुनै पनि समूहमा सक्रियताका साथ अगाडी आएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?