+
+
Shares

कुलमानसँग छलफल गर्ने भन्दै उज्यालो नेपाल पार्टीको प्रचार, पदाधिकारीमा को-को छन् ?

उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङका अनुसार दल निर्माणका लागि देश/विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ । यसैक्रममा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ९:१९
उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ (वायाँ) र मन्त्री कुलमान घिसिङ

१७ असोज, काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टी (उनेपा)ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग छलफल गर्न लागेको जनाएको छ ।

उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको बताउँछन् ।

‘कसरी, कुन तरिकाले जाने ? कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिराखेको छ,’ अध्यक्ष तामाङले भने, ‘यही क्रममा मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्ने तय भएको छ ।’

शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म भर्चुअल रुपमा छलफल गर्ने तय भएको उनले जानकारी दिए । त्यसमा उनेपाका पदाधिकारीहरू र कुलमानसहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए ।

उनका अनुसार दल निर्माणका लागि देश/विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ । यसक्रममा कुलमान घिसिङको समेत उपस्थितिमा ‘जुम मिटिङ’ गर्न लागिएको हो । ‘जुम मिटिङ’मा पार्टीको घोषणापत्रको मस्यौदाका सम्बन्धमा समेत छलफल हुने अध्यक्ष तामाङले बताए ।

कुलमानसँग छलफल गर्न लागिएको भन्दै सार्वजनिक गरिएको प्रचार सामग्री

उनका अनुसार उज्यालो नेपाल अभियान, पार्टीको अवधारणा पत्रको पहिलो ड्राफ्ट तयार भएको छ । छलफलका क्रममा आएका सुझाव समेट्दै संशोधन, व्याख्या एवं पार्टीका एजेन्डा र कार्यक्रमहरू थप्दै जाने तयारी छ ।

तर मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । प्रचार गरिएजस्तो ‘जुम मिटिङ’मा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ ।

को–को छन् उनेपामा ?

उनेपाको अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन् । यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को कार्यालय सदस्य थिए ।

पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए ।

आजपाबाट सामूहिक राजीनामा दिएकाहरु

‘उज्यालो नेपाल अभियान’मा सक्रिय भएकाहरुले दल दर्ताका लागि निर्वाचन आयोगमा कागजपत्र बुझाइसकेका छन् । त्यसमा उल्लेख भएअनुसार उनेपाका पदाधिकारीहरु यी हुन्–

राष्ट्रिय अध्यक्ष– ज्ञानेन्द्र कुमार तामाङ

उपाध्यक्ष– नारायण प्रसाद पाण्डे

उपाध्यक्ष– रमेश प्रसाद थपलिया

उपाध्यक्ष– सागर पाण्डेय

महासचिव– प्रशान्त केसी तिमल्सिना

उपमहासचिव– भुवन नारायण तामाङ

कोषाध्यक्ष– विमला तामाङ

सचिव– पुनम तामाङ, सविना बुढाथोकी, विमला स्याङतान, कान्छाकाजी तामाङ र सचिन्द्र कुमार तामाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?