News Summary
Generated by OK AI. Editorially reviewed.- जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना र समन्वयात्मक एकद्वार प्रणालीबाट विपद् प्रतिकार्यमा सफलता मिलेको बताए।
- जोशीले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्दा विगतको तुलनामा कम जनधनको क्षति भएको निष्कर्ष सुनाए।
- उनले १८, १९ र २० असोजका लागि पूर्वसूचना समयमै जारी भएकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्नुभयो।
१९ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना, बुझाइमा एकरुपता र समन्वयात्मक रूपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताएका छन् ।
मौसमजन्य विपद्को पछिल्लो अवस्थाबारे न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जोशीले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरे पनि विगतको तुलनामा कम जनधनको क्षति भएको निष्कर्ष सुनाएका हुन् ।
‘यस वर्ष मनसुनको अन्त्यतिर आएर जल तथा मौसम विपद्को हामीले सामना गर्नुपरेको छ’ उनले भने, ‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान, पूर्वसूचनाको बुझाइमा एकरुपता र समन्वयात्मक रूपमा एकद्वार प्रणालीबाट काम गर्नसक्दा विगतको तुलनामा यस्ता प्रकारका घटना भन्दा जनधनको क्षति कम भएको अनुमान छ ।’
जोशीले सबै तथ्याङ्क आउन बाँकी भए पनि समग्रमा विपद्सँग लड्न सफल भएको निष्कर्ष सुनाए ।
‘२७ अक्टोबरमै १८,१९ र २० गते यस्तो हुन्छ भनेर पूर्वानुमान र पूर्वसूचना विभागबाट जारी भइसकेको थियो’ उनले भने, ‘समयमै सूचना पुर्याउन सकेको कारणले गर्दा ठूलो क्षति भएन । यस वर्ष हामी यस वर्षको विपद्सँग लड्न सफल भयौँ ।’
उनले पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने र मिलेन भन्दैमा निराश हुनुपर्ने कारण नरहेको बताए ।
प्रतिक्रिया 4