+
+
Shares

जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एकलाई चौधरी ग्रुपले रोजगारी दिने

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारको एक जनालाई रोजगारी दिने घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यावसायिक घराना चौधरी ग्रुपले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ।
  • जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपलाई करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
  • चौधरी ग्रुपले क्षति भएका परिवारलाई सम्पर्क गरी रोजगारी प्रक्रिया अघि बढाइरहेको छ।

२२ असोज, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट यस्तो घोषणा गरेका हुन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ६ दर्जन बढीले सहादत प्राप्त गरेका थिए ।

‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौं,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिने छौं, पुनर्निर्माण गर्ने छौं, आशा, सहानुभूति र सम्मान सहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौं ।’

प्रबन्ध निर्देशक चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सीजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको छ । यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ ।

प्रबन्ध निर्देशक चौधरीले यस्तो घोषणा गरे पनि जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा पनि अधिक क्षति पुर्‍याइएको थियो ।

जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।

सीजीका अनुसार काठमाडौं सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यावसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् ।

यसैगरी सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ ।

राजधानी लगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् । थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको छ ।

सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।

काठमाडौं उपत्यकाका ललितपुर, विशालनगर लगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा पनि ठूलो क्षति पु‍र्‍याइएको छ ।

चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरिएको छ भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ ।

विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाइएको सीजीले जनाएको छ ।

‘जेनजी आन्दोलन क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले भनेका छन्, ‘यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वस साथ पुनर्निर्माण यात्रामा अगाडि बढेका छौं र यस कठिन समयमा चौधरी ग्रुप सहित परिवारप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?