
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने नीलो नम्बर प्लेट खारेज गरेको छ।
- नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेका छन्, जसमा ५० वटाले नीलो नम्बर प्लेट सुविधा लिएका थिए।
- परराष्ट्र मन्त्रालयले नीलो नम्बर प्लेटको दुरूपयोग भएको गुनासोका आधारमा निजी सवारीसाधनमा परिवर्तन गरिने र आवश्यक समन्वय हुने बताएको छ।
२४ असोज, काठमाडौं । सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल) ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ ।
अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तरराष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम आज यो निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० वटाले यो सुविधा लिएका थिए ।
साथै, नीलो नम्बर प्लेटका सवारीसाधनको दुरूपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।
हाल प्रयोगमा रहेका नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने जानकारी दिइएको छ ।
अवैतनिक कन्सुलेट जनरलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख/सरकार प्रमुख र परराष्ट्रमन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ ।
प्रतिक्रिया 4