+
+
Shares

नेपालको कान्छो राष्ट्रिय निकुञ्ज ‘छायानाथ’ को चार किल्ला तोकियो, यस्तो छ सिमाना

१३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गरेपछि वन मन्त्रालयले चार किल्ला सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मुगु जिल्लामा अवस्थित छायानाथ राष्ट्रिय निकुञ्जको चार किल्ला तोकेर सार्वजनिक गरेको छ।
  • मन्त्रिपरिषद्ले १३ भदौमा छायानाथ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
  • शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको चार किल्ला र मध्यवर्ती क्षेत्रको सीमाना पनि मन्त्रालयले नयाँ गरी सार्वजनिक गरेको छ।

२६ असोज, काठमाडौं । सरकारले ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ ।

१३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार वन तथा वातावरण मन्त्रालयले चार किल्ला सार्वजनिक गरेको हो । यो नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज बनेको छ ।

मन्त्रालयका अनुसार मुगु जिल्लामा अवस्थित यो निकुञ्जको क्षेत्रफल ८ सय ४३ वर्गकिलोमिटर रहने छ । पूर्वमा कान्जीरोवा हिमालको शिरदेखि उत्तरतर्फ हिमालको टुप्पैटुप्पो, नामलान नदी र खबुला खोलाको दोभान, मरुम डाँडा, याङ्ला लेक हुँदै यालाकान, याला भञ्ज्याङ र पलाचुङ हाम्दा हिमाल हुँदै चीनसँगको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।

पश्चिममा दाभसल्ला डाँडादेखि उत्तरतर्फ टुप्पैटुप्पो हुँदै नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलासम्म, बेलुरुङ खोलालाई समाती शो चुलीको टुप्पैटुप्पो कुलदम डाँडा, नागपी डाँडा, छायरगोला भञ्ज्याङ, छिमीमारु डाँडा हुँदै नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।

उत्तरमा नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमानामा पर्ने कान्ति हिमालको शिर हुँदै पूर्वतिर चाँदी हुँदै पालचुनहुम्गा हिमाल हुँदै मुगु र डोल्पा जिल्लाको सीमानासम्म तय गरिएको छ ।

दक्षिणमा दाभसल्ला डाँडाबाट दक्षिण जुम्ला र मुगु जिल्लाको सीमाना हुँदै काँडेचुली हुँदै पातारासी हिमालको शिरदेखि कान्जीरोवा हिमालको शिरसम्मको भूभागलाई यस निकुञ्जको क्षेत्रमा समेटिएको छ ।

यस निकुञ्जको मध्यवर्ती क्षेत्र भने १ सय ७७ वर्ग किलोमिटरमा फैलिएको छ । पूर्वमा दाभसल्ला डाँडाको टुप्पैटुप्पा उत्तरतर्फ नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलाको दोभानसम्म, बेलुङ खोलालाई समाती छायानाथ ठाकुरजी डाँडाको चुचुरोको शिर समाती शो चुलीको टुप्पैटुप्पा कल्दम डाँडा हुँदै नागपी डाँडा हुँदै छायारंगगोम भञ्ज्याङसम्म तोकिएको छ ।

पश्चिममा नादाई काँध लेकको टुप्पोबाट उत्तरतर्फ कान खोला पारी गरा लाप्चा डाँडाको शिरैशिर उत्तर ताका गाउँलाई भित्र पारी तिहार बगरसम्म, त्यहाँबाट मुगु कर्णाली हुँदै उत्तर सिरानचौरसम्मको क्षेत्र तय भएको छ ।

उत्तरमा सिरानचौरदेखि छ्याम खोला हुँदै छ्यामगोला भञ्ज्याङसम्म तय भएको मन्त्रालयले जनाएको छ । दक्षिणमा नादाई काँध लेकको शिरैशिर दक्षिण मुगु र जुम्ला जिल्लाको सीमाना हुँदै काँक्रे काँध लेक हुँदै दाभसल्ला डाँडासम्म तोकिएको छ ।

मन्त्रिपरिषद्को सोही दिनको बैठकले शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको समेत चार किल्ला र मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर गरी तोक्ने निर्णय गरेको थियो । मन्त्रालयले यो निकुञ्जको समेत नयाँ चार किल्ला सीमाना सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?