+
+
Shares

नयाँ संसद् बैठक अब आफ्नै आधुनिक भवनमा

सिंहदरबार परिसरमा १५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन तयार हुँदैछ । पाँच तलाका अग्ला भवन ठडिइसकेका छन् । समग्र निर्माण प्रगति ८७ प्रतिशत वरिपरि छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ असोज २६ गते २०:३५

२६ असोज, काठमाडौं । चुनावबाट आउने नयाँ प्रतिनिधिसभाको बैठक संघीय संसद्को आफ्नै आधुनिक भवनमा बस्ने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन जलेपछि सिंहदरबारस्थित संसद्को नयाँ भवनमा आउने प्रतिनिधिसभाको बैठक राख्ने गरी छलफल अघि बढेको छ ।

सिंहदरबार परिसरमा १५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन निर्माण भइरहेको छ । पाँच तलाका अग्ला भवन ठडिइसके पनि समग्र निर्माण प्रगति भने ८७ प्रतिशत वरिपरि मात्रै छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शहरी विकास मन्त्रालयले संसद् भवन निर्माणको सम्बन्धमा छलफल गरिरहेको छ । उनी भन्छन्, ‘अब नयाँ प्रतिनिधिसभाको बैठक नयाँ भवनमै बस्ने विश्वास छ ।’

२०६४ सालदेखि संघीय संसद्को बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । उक्त भवन जलेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको विकास समितिसँग भवन प्रयोग गर्ने गरी गरेको भाडा सम्झौता संघीय संसद सचिवालयले रद्द गरेको छ । योसँगै संसद् भवन निर्माणको प्रगतिको विषयमा सम्बन्धित पक्षको ज्यादा ध्यान गएको हो ।

शहरी विकास मन्त्रालयका सहसचिव र प्रवक्ता नारायण प्रसाद मैनालीका अनुसार सिंहदरबारस्थित नयाँ संसद् भवनको निर्माणको सन्दर्भमा ताकेता गर्ने काम भइराखेको छ । उनी भन्छन्, ‘२१ फागुनको चुनावबाट आउने प्रतिनिधिसभाको बैठक नयाँ भवनमै राख्न सकिन्छ । यस ढंगले आवश्यक काम भइराखेको छ ।’

१६ पुसको डेटलाइन

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी-सेक जेभीले पाएको छ । ठेकेदारले आगामी १६ पुसभित्र सबै काम सक्नुपर्ने सम्झौता छ ।

गत १२ मा शहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाँचौं पटक म्याद थपको सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार संसद् भवन निर्माणको म्याद ठेकेदारलाई आगामी १६ पुससम्म रहेको हो ।

सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

नयाँ संसद् भवनको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । फेरि पनि काम सकिएन ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै संसद्को आफ्नै नयाँ आधुनिक भवन बनेसँगै भाडाको तनावबाट संसद् सचिवालय मुक्त हुनेछ ।

१ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो । फेरि पनि प्रगति भएन । २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रो पटक म्याद थप भयो । फेरि पनि काम नसकिएपछि चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो र पाँचौं पटक गत १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको हो ।

पटकपटक म्याद थपेर पनि काम नसकिएको भनेर यसअघि संसद्मै कुरा उठेको थियो । संसद् भवनकै काम समयमा सकिँदैन भने कहाँको सकिन्छ भनेर तत्कालीन सांसदहरूले प्रश्न गरेका थिए । प्रश्न उठेपछि राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत जिम्मेवार व्यक्तिहरू संसद् भवन निर्माणको अवलोकन गर्न पुग्थे ।

अब भने संसद् बैठक बस्नका लागि अर्को भवन छैन । यो अवस्थामा अन्य विकल्प खोज्न नसकिने सरकारी अधिकारीहरू बताउँछन् । यसकारण पछिल्लो पटक थपिएको समयभित्र संसद् भवन निर्माण कुनै हालतमा सक्ने गरी काम गर्न ताकेता गरिएको शहरी विश्वास मन्त्रालयले जनाएको छ ।

भाडाको तनावबाट मुक्त

विगतमा पनि संसद्को ग्यालरी बैठक सिंहदरबारमै थियो । सिंहदरबाभित्रै रहेको उक्त भवन काम नलाग्ने भएपछि २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा संसद्को बैठक राख्न थालिएको हो । २०६३ सालमा सम्झौता भएर २०६४ सालदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिइएको थियो ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै संसद्को आफ्नै नयाँ आधुनिक भवन बनेसँगै भाडाको तनावबाट संसद् सचिवालय मुक्त हुनेछ ।

आफ्नै भवन नभएका कारण संसद् सचिवालयले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई विगत १९ वर्षसम्म निरन्तर भाडा तिर्नुपरेको थियो । सुरुमा वार्षिक १६ करोड ५० लाख भाडा तिर्ने गरी सम्झौता भएको थियो । आर्थिक २०७८-७९ मा १० प्रतिशत भाडा बढेको थियो । नयाँ आफ्नै भवन बनेसँगै संसद् सचिवालय अब यस्तो भाडा तिर्नुपर्ने तनावबाट मुक्त हुनेछ ।

साजसज्जामा छैन कम्प्रमाइज

शहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारभित्रै निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

शहरी विकास मन्त्रालयका अनुसार नयाँ भवनमा सुविधा र साजसज्जामा कम्प्रमाइज गरिएको छैन ।

७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबि छ ।

साना-ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाएइको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर रहनेछ ।

प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मल्निे पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।

शहरी विकास मन्त्रालयका अनुसार नयाँ भवनमा सुविधा र साजसज्जामा कम्प्रमाइज गरिएको छैन ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?