
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले पार्टी एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउने निर्णय गरेको छ।
- वार्ता समितिलाई एकता प्रक्रिया टुंग्याउन जिम्मा दिइएको छ, जसमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल लगायतसँग वार्ता भइरहेको छ।
- एकीकृत समाजवादीले आगामी २१ फागुनमा हुने चुनावको तयारी गर्ने र २९ र ३० असोजमा स्थायी तथा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
२६ असोज, काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी एकता प्रक्रियालाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्याउने निर्णय गरेको छ।
सचिवालय बैठकले वार्ता चलिरहेका राजनीतिक दलहरूसँग एकता प्रक्रिया निष्कर्षमा पुर्याउने निर्णय गरेको हो। उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार एकता प्रक्रिया टुंग्याउन वार्ता समितिलाई जिम्मा दिइएको छ।
‘जो–जससँग वार्ता चलिरहेको छ, उनीहरूसँगको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन वार्ता समितिलाई जिम्मा दिने निर्णय भएको छ,’ उनले भने । एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग एकता वार्ता गरिरहेको छ।
बेदुराम भुसाल संयोजक तथा प्रमेश हमाल र प्रकाश ज्वाला सदस्य रहेको वार्ता समितिले गरिरहेको प्रयत्नलाई तत्काल निष्कर्षमा पुर्याउने निर्णय बैठकले गरेको हो।
एकीकृत समाजवादीले पार्टीलाई चुनावको पक्षमा उभ्याएको छ। आगामी २१ फागुनमा तोकिएको चुनावको तयारी गर्ने एकीकृत समाजवादीले निर्णय गरेको छ। निर्वाचनको तयारीसँगै राष्ट्रिय राजनीतिक परिस्थितिबारे अन्य दलहरूसँग सम्वाद अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ।
शुक्रबारदेखि चलेको बैठकले आगामी २९ गते स्थायी कमिटी र ३० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।
प्रतिक्रिया 4