
२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् ।
आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।’
१६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन् । तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन् ।
ऐनले मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भनेको थियो । तर, सरकारले आदेशमार्फत क्रियाशील गराए पश्चात असोज १२ गतेबाट मतदाता नामावली दर्ता तथा अध्याविधक सुरु भएको हो । यही ३० कात्तिकसम्म मतदाता नामावली दर्ता तथा अध्याविधक हुनेछ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । स्वीकृत कार्यतालिका अनुसार आगामी १-१० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । ३-१८ फागुनसम्म निर्वाचन प्रचारप्रसार हुनेछ । तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
२१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ। समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया 4