+
+
Shares
माओवादी-एकीकृत समाजवादी एकता ब्रिफिङ :

माओवाद र बहुपद नरहने !

माओवादीभित्र एकताको विषयमा कुनै नेताहरूको सैद्धान्तिक विमत्ति छैन । तर, नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले केही विमति राखिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १३:४३

७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कात्तिक ३० अघि नै एकता गरी  आउँदो चुनावमा एकीकृत पार्टीको रुपमा सहभागी हुने तयारी गरेका छन् । दुई पार्टीहरूबीच एकताको अन्तिम गृहकार्य चलिरहेको छ ।

वार्ता टोलीका सदस्यहरूका अनुसार अहिले भइरहेको प्रगतिमा कुनै बाधा व्यवधान नभए अब एकताबाट पछि हट्ने अवस्था छैन ।

आउँदो चुनावमा आफ्नो पोजिसन के हुने भन्नेमा अलिक बढी चिन्तित रहेका दुवै दल अब मिलेर जाने स्थितिमा पुगेका हुन् । माओवादीभित्र एकताको विषयमा कुनै नेताहरूको सैद्धान्तिक विमति छैन । तर नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले केही विमत्ति राखिरहेका छन् । अब उनीहरूको विमतिको पनि निरुपण गरी एकतामा पुर्‍याउने ती दलका नेताहरूको दाबी छ ।

मार्गदर्शक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद

दलका नेताहरूको अनुसार अहिलेसम्म पार्टीको सैद्धान्तिक आधार तय भइसकेको छ । दुवै पार्टीले कम्युनिस्ट विचारधाराबाट चल्ने भएकाले उनीहरूले मार्क्सवाद र लेनिनवादलाई मान्ने तय भएको छ । माओवादीले भन्दै आएको माओवाद भने मूल सिद्धान्त रहने छैन ।

नेकपा एसले विगतमा भन्दै आएको जनताको बहुदलीय जनवाद पनि रहने छैन । दुवैले लोकतान्त्रिक  व्यस्थालाई आधार मानेर वैज्ञानिक समाजवादलाई अपनाउने छन् । त्यसका लागि नेपाली विशेषताको समाजवाद भन्ने उनीहरूको वैचारिक कार्यदिशा हुने छ ।

नेपाली समाज पुँजीवादी समाज भएको र नेपाली जनता र दलाल नोकरशाही पुँजीवादबीचको अन्तरविरोध प्रधान अन्तरविरोध भएको विश्लेषण छ ।

नेकपा कालमा  जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई फ्रिज गरेर जनताको जनवाद भनिएको थियो ।

माओवादी र  नेकपा एसले क्रान्तिको कार्यक्रम समाजवाद हुने भनेर अपनाइसकेको अवस्थामा नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद हुने भन्नेमा विमति नरहेको एक नेताले बताए ।

बहुपद नरहने

माओवादी र  नेकपा एस दुवैको संगठनात्मक संरचनामा करिब एकरूपता छ ।  अब पनि दुवैले लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयता अबलम्वन गर्ने कुरा भएको छ ।

नेतृत्वमा को र कस्तो रहने भन्नेमा बहस जारी छ । तीन प्रकारका विकल्पमा छलफल भइरेको छ । अब अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायतका धेरैवटा पद नराख्ने करिब सहमति छ । तर मूल नेतृत्वमा कस्तो मोडल अनपाउने भन्ने छलफल जारी छ । अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुवै संरक्षक बस्ने वा संयोजक, सहसंयोजक रहने भन्ने छलफल जारी छ । निर्देशक वा परामर्श समिति राखेर पनि अघि बढ्ने कि भन्ने बहस पनि छ । तर यी सबै मोडलमा एउटा मूल काम गर्ने सचिवालय रहने र अरू सदस्य बन्ने मोडलमा पनि सहमति हुनसक्छ ।

‘सबै नेताहरूको सोच नयाँ स्थितिमा नयाँ ढंगले जानुपर्छ । पार्टीमा नेतृत्व विकास र नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि अपनाउने भन्ने छ’,  एकता प्रक्रिया नियालिरहेका एक नेताले भने ।

पार्टीको नाम : नेकपा समाजवादी, नेकपा वा नेपाली कम्युनिष्ट पार्टी

पार्टीको नामबाट माओवादी हट्ने भएपछि नेकपा समाजवादी वा नेपाली कम्युनिष्ट पार्टी नाम राख्न सकिने विकल्पमा कुरा भइरहेको छ ।

अहिले नेकपा समाजवादी नामको दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ । राजु कार्कीको नेतृत्वमा रहेको उक्त दलसँग एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नेबारे पनि  कुरा भइरहेको छ ।

अर्को विकल्पको रुपमा  लोकनारायण सुवेदी नेतृत्वको नेकपासँग एकता गरेर त्यही नाम राख्ने बारे पनि कुराकानी भइरहेको छ । तर दुवै दलसँग एकता नभएको अवस्थामा ‘नेपाली कम्युनिष्ट पार्टी’ नाम राख्नेबारे पनि छलफल भएको छ । पार्टीको झण्डा कम्युनिस्ट पार्टीकै हुनेछ ।

तर, चुनाव चिह्न नयाँ लिने भन्ने छ । अहिले माओवादीले गोलाकारभित्र हँसिया हथौडा छ भने नेकपा एसको कलश चिह्न छ । दुवैले एकअर्काकै चिह्नमा सहमति खोज्ने कोशिस पनि छ । यो नभए नयाँ कुनै उपयुक्त चिह्न लिने भन्ने छ ।

दुवै दलले  दुई पार्टी मात्र होइन अन्य धेरै दलहरूलाई पनि यसमा जोड्न सकिने विकल्पमा पनि छलफल गरिरहेका छन् । त्यसका लागि नेत्रविक्रम चन्दको नेकपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि कुराकानी भइरहेको छ । दुवै दललाई मिलाएर लैजान सके एकीकृत पार्टीको शक्ति अझै मजबुत हुने बुझाइ दुवै दलको छ ।

एकीकरणका लागि वार्ता चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकका नेता कार्यकर्तालाई पुरानै घरमा फर्किनका लागि अपील गरेका थिए । तर यो अपील सम्मानका लागि भन्दा पनि होच्याउने ढंगले आएकाले त्यतातर्फको सम्भावना कम रहेको अर्का एक नेताले बताए । ‘अब कात्तिक ३० भित्र त एकीकृत रूपमा पार्टी चुनावमा लागि दर्ता भइसक्नुपर्छ । त्यसैका लागि हामी छिटोछिटो एकता टुंग्याइहाल्ने कोशिसमा छौं,’ नेकपा एसका एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?