News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने कम्पनीको लागि लाइसेन्स खुला गरेको छ।
- भूमि व्यवस्था तथा अभिलेख कार्यालयले एक महिना अवधि राखेर लाइसेन्स खुला गरेको हो।
- एक पटकमा ५ करोडसम्मको कारोबार गर्ने कम्पनीलाई ५ लाख र बढीको कारोबार गर्ने कम्पनीलाई १० लाख दस्तुर तोकेको छ।
१३ कात्तिक, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा धेरैको घरजग्गा कारोबार गर्ने कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ ।
भूमि व्यवस्था तथा अभिलेख कार्यालयले एक महिना अवधि राखी लाइसेन्स खुला गरेको हो ।
विभागले लाइसेन्स लिन चाहने कम्पनीका लागि दस्तुर समेत कायम गरी लाइसेन्स खुला गरेको हो । विभागका अनुसार एक पटकमा ५ करोडसम्मको घरजग्गा कारोबार गर्ने कम्पनीका लागि ५ लाख र त्यसभन्दा धेरैको कारोबार गर्नेलाई १० लाख रुपैयाँ शुल्क तोकेको छ ।
सरकारले मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था गरेको छ । सोही ऐनले जग्गा खरिद बिक्री हुँदाको सीमासमेत तोकिने उल्लेख छ । मालपोत ऐनको दफा २६ ‘क’ र २६ ‘ख’ को व्यवस्था थप स्पष्ट पार्दै घरजग्गा कारोबार सहज बनाइएको छ ।
सरकारले तोकिएको अधिकारीका रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई तोकेको छ । त्यसैगरी घरजग्गा कारोबार सीमा एक पटकमा ३ करोडभन्दा धेरैको कारोबार गर्न कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था राजपत्रमा सूचना प्रकाशित गरी तोकेको थियो । सोही अनुसार विभागले लाइसेन्स खुला गरेको जनाएको छ ।
त्यसभन्दा कमको कारोबारका लागि कम्पनी दर्ता गर्नु पर्दैन । त्यसैगरी कारोबार गर्ने घरजग्गाको क्षेत्रफल सन्दर्भमा जतिसुकै कारोबार गर्न सक्ने व्यवस्था छ । मालपोत ऐनको दफा २६ ‘क’ अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा यस ऐन बमोजिम इजाजतपत्र लिनुपर्ने अवस्था छ ।
जग्गासम्बन्धी कारोबार भन्नाले प्राकृतिक व्यक्तिबीच आपसी सहमतिमा गरिने खरिद–बिक्रीबाहेक कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा त्यसबारे अन्य कुनै किसिमले व्यावसायिक रूपमा सेवा उपलब्ध गराउने कार्य सम्झनुपर्छ ।
ऐनको दफा २६ ‘ख’ अनुसार घरजग्गा सम्बन्धी कारोबार गर्न लाइसेन्स लिन चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण, कागजात र दस्तुर सहित नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4