काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरु मर्कामा परेका छन् । पानी परेसँगै बाटो चिप्लो भएको र केही सवारी साधनहरु बिग्रिएर बाटोमै रोकिएकाले सवारी साधनको जाम लागेको हो ।
एकजना कार चालकले हिजो बेलुका दाउन्नेमा आइपुगेकोमा रातभर जाममा परेर आज बिहान सात बजे बल्ल दुम्किबास आइपुगेको बताएका छन् । उनले थुप्रै संख्यामा यात्रुहरु सडकमै अलपत्र परेको बताए ।
अरुणखोला, चोरमारातर्फको जंगल क्षेत्रमा सयौं सवारी साधनहरु रोकिएका छन् । त्यहाँ करिब ४०० गाडीहरुको लाइन रहेको स्थानीय बताउँछन् ।
प्रहरीका अनुसार दाउन्ने सडकखण्डको तिसठ्ठी मोडमा ४ वटा ट्रक र एउटा बसमा बिग्रिएकाले राजमार्ग एकतर्फी भएको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार दाउन्ने खण्डमा सवारी साधनको अत्यधिक चाप छ । ‘दाउन्ने खण्डको विभिन्न ठाउँमा गाडी बिग्रिएकाले एकतर्फी भएको छ । जाम लामै देखिन्छ,’ उनले भने, ‘पानीसमेत परेकाले बाटो चिप्लो भएकाले हिजोदेखि नै समस्या छ ।’
प्रतिक्रिया 4