१६ कात्तिक, काठमाडौं । डा. निकोलश भुसालले अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले निगरानीमा राखेको छ ।
हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् ।
भुसालले शनिवार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिए । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकैदिन सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ ।
उनीहरुलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाहीका लागि अगाडि सर्ने समेत बताए । ‘कारबाही’का लागि आफूहरु ओली र लेखकको घर जाने उनले बताएका छन् ।
सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै भुसाल हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि खनिए । उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गरेका छन् ।
साथै उनले आफूमाथि कारबाही गर्न सरकारलाई चुनौतिसमेत दिएका छन् । अपशब्द प्रयोग गर्दै उनले गृहमन्त्री अर्याललाई भनेका छन्, ‘हे गृहमन्त्री तैले कारबाही गर्न सक्छस् भने गर् मेरै गाउँको होस् तँ पनि । खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि तँ भन्न बाध्य छु ।’
उनी यतिमै रोकिँदैनन् । उनले आफूले बालुवाटार माथि मिसाइल राखेको समेत बताएका छन् । त्यसबाट कोही नबच्ने भन्दै धम्की दिएका छन् ।
वर्तमन सरकारले दलहरूलाई बोलाएर छलफल राखेकोमा पनि उनले विरोध गरेका छन् ।
आगामी फागुनमा चुनाव गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रमुखसहितको चुनाव गर्नुपर्ने होइन भने चुनाव हुन नसक्ने पनि उनले बताएका छन् । बालेन शाहले समेत जेनजीका माग पुरा नगरेको भनेर उनले आक्रोश पोखेका छन् ।
सरकारविरुद्ध माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्न उनले आह्वान गरेका छन् ।
निकोलस विवादित पात्र हुन् । उनले यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको थियो । त्यसपछि उनका दाजु सागरले सुधार केन्द्र लैजाने भन्दै जिम्मा लिएपछि प्रहरीले छाडेको थियो । तर पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन ।
शनिबार झन् उग्र हुँदै भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको जनाएको छ ।
प्रतिक्रिया 4