१७ कात्तिक, काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिएको छ ।
१२–१५ कात्तिकसम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले कार्की नेतृत्वको सरकारलाई यस्तो संज्ञा दिएको हो ।
‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोहलाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो । तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
९ बुँदे निर्णय सार्वजनिक गर्दै सो पार्टीले जेनजी विद्रोहपछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना नरहेको निर्षकर्ण निकालेको छ ।
‘जेनजी विद्रोहले धुलिसात पारिसकेको दलाल संसदीय पूँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेनजीहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
जेनजी विद्रोहपछि वामपन्थी पार्टीहरूमा देखिएको विघटन, भागदौड र हायलकायलको अवस्था वास्तवमा पुरानो कम्युनिस्ट आन्दोलनमा रहेको वैचारिक संकटको परिणाम भएको वैज्ञानिक समाजवादी पार्टीको निष्कर्ष छ ।
‘इतिहासमा असफल पार्टी, व्यक्ति र समूहहरूको गठजोडद्वारा नयाँ युगलाई हाँक्न सक्ने शक्तिको जन्म सम्भव छैन । अतः विभिन्न समूहहरूमा रहेका सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिका निम्ति वैचारिक स्पष्टतासहित ध्रुवीकरणको नयाँ यात्राको संकल्प लिएर अघि बढ्न बैठकले विशेष अपिल गरेको छ,’ विज्ञप्तिमा भनिकएको छ ।
प्रतिक्रिया 4