२४ कात्तिक, काठमाडौं । मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ रुटको प्रारम्भिक अध्ययन सुरु गरेको छ । गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को प्रायोजनमा रुट सर्भे सुरु गरिएको हो ।
हाल मनास्लु आरोहीहरू काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् र पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भिमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको हो ।
सामागाउँ र भिमथाङ दुवैतर्फको आरोहण रुट ६ हजार मिटर माथि क्याम्प थ्रीमा पुगेर मिसिन्छ । गोरखा जिल्लामा पर्ने यो हिमाल ८ हजार १ सय ६३ मिटर अग्लो छ ।

यो हिमालमा सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए । त्यतिबेला भिमथाङबाटै आरोहण भएको र पछि रुटमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् ।
पुन: भिमथाङबाट आरोहणको सम्भावनाबारे प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले थप अध्ययन आवश्यक रहेको बताए ।
‘हामी जाँदा हिउँ नयाँ थियो । त्यसैले थप अध्ययन आवश्यक छ,’ उनले अनलाइनखबरसँग भने, ‘भिमथाङतर्फको रुटमा पहिरोको जोखिम कति छ भन्ने जस्ता विभिन्न प्राविधिक कुराहरू अध्ययन आवश्यक छ ।’

उनले पहिलो चरणमा फोटो/भिडियो खिचेर ल्याएको र अनुभवी आरोहीहरूबाट त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्न बाँकी रहेको बताए ।
गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले पनि अनुभवी माउन्टेन गाइडहरूको सहभागितामा प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको तर निष्कर्ष ननिस्किएको बताए ।
यदि भिमथाङतर्फको रुटबाट आरोहण गर्न सम्भव छ भन्ने पुष्टि भएमा सबैभन्दा सजिलो र छोटो रुट यही हुने उनले बताए ।

‘हामीले भिमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौं,’ उनले भने, ‘यदि त्यो सफल भएमा नेपालको ८ हजार मिटरभन्दा माथि बेस क्याम्पसम्म पुग्ने छोटो दुरीको ट्रेक भनेको नै यही हुनेछ ।’
‘आरोहण गर्दाखेरि मितव्ययी होस् र राज्यको नमुनाको रूपमा छोटो दुरी पार गरेरै आठ हजार मिटरको बेस क्याम्पसम्म पुग्ने वातावरण सिर्जना होस्, एजेन्सीहरूलाई पनि सस्तो होस् भनेर सर्भे गरिएको हो,’ उनले भने ।
उनका अनुसार राजधानी काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मनाङको तिल्चे गाउँसम्म बस वा गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि तिल्चेबाट पैदल हिँडेर गुवा, सुती खोला, याकखर्क हुँदै भिमथाङमा बास बसिन्छ । त्यहाँबाट सिधै मनास्लुको बेस क्याम्पमा साढे दुई दिनमै पुग्न सकिन्छ । यो मनास्लु आरोहणको सबैभन्दा छोटो दुरी रहेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

उनका अनुसार यो रुटमा करिब ३० वटा होटलहरू छन् । ३ हजार ७०० मिटरको उचाइमा रहेको भिमथाङमा मात्रै ११ वटा होटलहरू छन् । यहाँ ५०० जना अट्न सक्ने क्षमता रहेको अध्यक्ष गुरुङले बताए ।
सर्भे रिपोर्ट कुरिरहेको बताउँदै उनले भने, ‘हामीलाई विश्वास छ कि यही छोटो रुटबाट मनास्लु आरोहण गर्न सकिन्छ । मितव्ययीताको साथ छोटो दुरीमा ८ हजार मिटर माथिको हिमाल आरोण गर्न सकिन्छ कि भनेर सर्भे गर्दैछौं । यो सर्भेको सफलताको शुभकामना दिन्छु ।’

प्रतिक्रिया 4