२४ कात्तिक, काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका छन् ।
उनका अनुसार, नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त, मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गरिएको छ ।
त्यस्तै, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्ता छन् सरकारका मुख्य ७ निर्णय :
–नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।
–राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।
–भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।
–२०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।
–भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।
–२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ ।
–मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया 4