News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीले ५१ केन्द्रीय सदस्यको सूचीसहित निर्वाचन आयोगमा आफ्नो दल अध्यावधिक गराएको छ।
- पार्टीले सामुदायिक समाजवाद, समावेशी लोकतन्त्र, बहुसांस्कृतिकता र राष्ट्रिय एकतालाई आफ्नो मूल्यमान्यता बनाएको छ।
- उज्यालो नेपालले डिजिटल प्रविधि, आर्थिक समृद्धि, सामाजिक न्याय र योग्यतामा आधारित शासन प्रणालीलाई प्राथमिकता दिएको छ।
२७ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ समर्थित दल ‘उज्यालो नेपाल पार्टी’ले गत मंगलबार निर्वाचन आयोगमा पुगेर अध्यावधिक गरायो । यसअघि नै दर्ता भएको उज्यालो नेपालमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर ५१ केन्द्रीय सदस्यको सूचि आयोगमा बुझाइयो ।
सुमना श्रेष्ठ, बालेन, सुदन गुरुङ लगायतका व्यक्ति र समूहहरूसँग मिलेर अघि बढ्ने गरी पार्टी गठनको प्रयास भएको थियो । तर प्रयास असफल भएपछि उनीहरुबिनै पार्टी अघि बढेको छ ।
पार्टीका केन्द्रीय सदस्य जितराम लामाले आफूहरु व्यक्ति केन्द्रित नभएको, समग्र नेपालीको मुहारमा उज्यालो ल्याउने अभियान तथा कुरीति, विकृति, भ्रष्टाचार जस्ता अन्धकार हटाउने उद्देश्य राखेको बताए ।
नव गठित यो पार्टीको र्टीको अवधारणा चाहिँ के हो त ? यसले कस्ता मूल्यमान्यता बोक्छ ? अरुभन्दा कसरी फरक छन् ? यी प्रश्नको जवाफ पार्टीको प्रस्तावना र अवधारणा पत्रमा भेटिन्छ ।
अनलाइनखबरले प्राप्त गरेको उक्त प्रस्तावनाअनुसार यो पार्टीले सामुदायिक समाजवाद, सहभागितामूलक समावेशी लोकतन्त्र र, बहुसांस्कृतिकतावाद र राष्ट्रिय एकतालाई मान्ने उल्लेख गरेको छ ।
यसको अर्थ खुलाउँदै पार्टीका संयोजक अनुपकुमार उपाध्यायले भने, ‘सबै शब्दले व्याख्या खोज्छ । मान्छेले आ-आफ्नो ढंगले व्याख्या गर्लान् । तर, जे-जे हामीले लेखेपनि अन्तत: हामी जाने भने प्रजातान्त्रिक समाजवादतर्फ हो । यी सबैको उद्धेश्य प्रजातान्त्रिक समाजवादमा मुलुकलाई लानु हो ।’
अनि, यसमा उल्लेख गरिएको राष्ट्रिय एकताले कसलाई जोड्न खोजेको हो ? यसअघि सामाजिक सञ्जालमा राजसंस्थाप्रति नरम देखिएका उपाध्याय नै संयोजक बनाइएका छन् । उनका सामाजिक संजालमा देशका लागि राजसंस्था हुनुपर्ने आशयका अभिव्यक्ति छन् । के यो पार्टी राजावादी हो त ? प्रस्तावनामा उल्लेख गरिएको ‘राष्ट्रिय एकता’ले केलाई संकेत गर्छ ?
उपाध्यायले थपे, ‘त्यो फेसबुकका स्टाटस मेरो पार्टी खोल्नुभन्दा पहिलाको अभिव्यक्ति हो । अहिले त्यसलाई नगिजोल्नुहोला । यता पार्टीको अवधारणामा पनि काम भइरहेकै छ । त्यसैले अहिले नै यी कुरा जोडेर नहेर्नुहोला । यी छुट्टै विषय हुन् ।’
यसबाहेक १५ बुँदै प्रतिबद्धता पनि उज्यालो नेपालको छ । संवैधानिक सर्वोच्चता र विधिको शासनलाई पहिलो बुँदामा राखेको यसले बहुलवादमा आधारित लोककल्याणकारी राज्य व्यवस्थाको परिकल्पना गरेको छ । उदार अर्थतन्त्र, आर्थिक समृद्धि र दिगो विकास गर्ने पार्टीको लक्ष्य रहेको यसको प्रतिबद्धतामा उल्लेख छ ।
चौथो, नागरिक स्वतन्त्रता र मानव अधिकार छ । पाँचौं, संस्थागत सुधार, पारदर्शिता र जवाफदेहिता भन्ने छ । छैटौं, सुशासन र प्रभावकारी सेवा प्रवाह भन्ने छ । सातौं, वातावरणीय अधिकार र जलवायु न्यायसँग सम्बन्धित छ । आठौं, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार भन्ने छ । नवौं, योग्यतामा आधारित निष्पक्ष चयन प्रणाली भन्ने छ । दसौं, मानवतावादी मूल्य मान्यतालाई यसले आफ्ना प्रतिबद्धताको सूचिमा राखेको छ ।
त्यस्तै, उज्यालो नेपालले नवीनता र प्रविधिमैत्री शासन व्यवस्था हुनुपर्ने भन्दै नयाँ पुस्ताको ध्यान खिच्न खोजेको देखिन्छ । त्यसबाहेक यसको समता र समानतामूलक समावेशिताको प्रतिवद्धता प्रस्तावनामा गरिएको छ । परराष्ट्र मामलाको हकमा ‘सन्तुलित परराष्ट्र नीति’लाई उज्यालो नेपालले बोक्ने देखिन्छ ।
डिजिटल डेमोक्रेसी र युवामा आधारित नेतृत्वलाई यसले आफ्नो प्राथमिकतामा राखेको छ । यसबारे बोल्दै उपाध्यायले भने, ‘डिजिटल युगको प्रयोग हामी गर्छौँ । अबको समय डिजिटलमैत्री हुनुपर्छ । स्वतन्त्र हुनुपर्छ । आधुनिक र डिजिटल प्रविधि प्रयोग गरेर देशको आर्थिक उन्नयन गर्ने हाम्रो उद्धेश्य हो ।’
यी प्रतिबद्धता र सिद्धान्त बोकेको पार्टीको उद्धेश्यचाहिँ के हो त ? उज्यालो नेपाल पार्टीले परिकल्पना गरेको र बनाउन खोजेको देश कस्तो हो ?
प्रस्तावनामा उल्लेख भएअनुसार सामुदायिक समाजवादलाई व्यवहारमा उतार्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता संरक्षण गर्ने, आन्तरिक लोकतन्त्रलाई पारदर्शी बनाउने, प्रत्येक नागरिकको राजनीतिक–आर्थिक–सामाजिक–भाषिक–सांस्कृतिक अधिकार सुनिश्चित गर्ने उद्देश्य यो पार्टीले बोकेको छ ।
बहुसांस्कृतिक विविधतालाई विकासको स्रोत बनाउने, प्रेस स्वतन्त्रता र सूचना पहुँच बढाउने, सार्वजनिक सेवालाई प्रविधिमैत्री र जवाफदेही बनाउने योजना यो पार्टीको देखिन्छ ।
उज्यालो नेपालको नजरमा पिछडिएका वर्गहरूको सूची लामो छ । जस्तो – महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न वर्ग । यिनको समुन्नत विकास, सहभागिता, आत्मसम्मान र समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि पार्टीको प्रस्तावनामा उल्लेख छ ।
आर्थिक क्षेत्रमा कृषि, पर्यटन, उद्योग, जलविद्युत पूर्वाधार विकास, उद्यमशीलता र दक्ष मानवस्रोत विकासलाई पनि प्राथमिकता दिइने यसको प्रस्तावनामा छ । विज्ञान प्रविधि, कृत्रिम बौद्धिकता र डिजिटलाइजेसनलाई प्रोत्साहन गरी डिजिटल पूर्वाधार विस्तार गर्ने, युवा–केन्द्रित रोजगार नीति अवलम्बन गर्ने योजना यो पार्टीको छ ।
वातावरण संरक्षण र जलवायु न्यायलाई पनि जोडतोडले उठाउने पनि प्रस्तावनामा उल्लेख छ । भइपरी आउने विपद् व्यवस्थापनमार्फत सुरक्षित समाज निर्माण गर्ने लक्ष्य छ ।
पार्टीकै हकमा पनि योग्यतामा आधारित शासन प्रणाली स्थापना गरी दक्ष र इमानदार नेतृत्वद्वारा पारदर्शी संरचना निर्माण गर्ने, बहुपक्षीयता र सन्तुलित कूटनीति अपनाउने, अन्तराष्ट्रिय सन्धिहरूको कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्य छन् ।
यसरी आफ्ना योजना, मूल्यमान्यता र उद्धेश्य बताएको उज्यालो नेपालले समावेशितालाई न्यायको प्रारम्भ भनेको छ भने आम–सहभागितालाई लोकतन्त्रको आत्मा ठानेको छ । ‘यसबाहेक सेवा नै नेतृत्वको धर्म, र योग्यताको सम्मान नै विकासको आधारको रुपमा स्थापित गर्ने,’ उद्धेश्य यसले आफ्नो प्रस्तावनामा राखेको छ ।
उज्यालो नेपालले अरु दलभन्दा पृथक ‘एक व्यक्ति, एक पद’लाई मानेको छ । केन्द्रीय सदस्य जितराम लामाकाअनुसार यो विषयलाई पार्टीले कडाईका साथ पालना गर्छ । ‘त्यसैले त अहिले कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्न मिल्दैन भनेर उहाँ आउनुभएन । राज्यको स्रोतसाधन पार्टी निर्माणमा प्रयोग हुनुहुँदैन भन्नेमा हामी दृढ छौँ,’ उनले भने ।
‘यो मास–बेस्ड पार्टी हो । दुई महिनाभित्र हरेक तहका कमिटीहरू गठन गर्ने कार्ययोजना छ,’ लामाले थपे, ‘हामी न त पूर्ण राइट न त लेफ्ट – स्ट्रेट फरवार्ड । अर्थतन्त्रमा उदार नीति र पुँजी विकासलाई जोड दिन्छौं, तर शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा राज्यको जिम्मेवारी सुनिश्चित गर्छौँ । विपन्न वर्ग, पछाडि परेका समुदायको लागि समानुपातिक समाजवादमा काम गर्छौँ । योग्यतावादलाई (राइट म्यान इन राइट प्लेस) प्राथमिकता दिन्छौँ ।’
प्रतिक्रिया 4