+
+
Shares

खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

यो साझेदारी मार्फत एनपीएल-२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्ल्याटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपालसँग समझदारी गरेको छ।
  • समझदारी अनुसार बोर्डले एनपीएल-२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्ने छ।
  • एनपीएल-२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट गरिने भएको छ जसले विश्वभरिका दर्शकसम्म नेपालको खेल पर्यटन प्रचार गर्ने बोर्डको विश्वास छ।

३० कात्तिक, काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ ।

यो साझेदारी मार्फत एनपीएल-२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्ल्याटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य छ । समझदारी अनुसार बोर्डले एनपीएल-२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्ने छ ।

छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापिते एनपीएल-२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।

बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरको इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलका रूपमा लिइएको छ ।

एनपीएल-२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा छ । एनपीएल-२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट गरिने भएको छ । जसले गर्दा विश्वभरिका करोडौं दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्य प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्‍वास छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभरि बढ्दो खेलकुद गतिविधि (विशेषगरी एनपीएल-२) ले खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए ।

‘एनपीएल-२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,’ जोशीले भने, ‘यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शक समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्‍वास छ ।’

उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे । त्यसैगरी क्यानका महासचिव पारस खड्काले यस सहकार्यप्रति खुसी व्यक्त गरे ।

‘खेलकुद र पर्यटन दुवैलाई सँगै अघि बढाउन पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौ,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभरि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र एनपीएल-२ ले यसलाई अझ उचाइमा पुर्‍याउने छ ।’

अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल-२ ले नेपालले विश्वस्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुद मार्फत नेपालमा पर्यटनका अवसर विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिज्म डेस्टिनेसन’ का रूपमा स्थापित गर्न मद्दत गर्ने छ ।

एनपीएल-२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभव र सांस्कृतिक समृद्धि समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदीयमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?