१ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेको जनाएका छन् ।
सचिवालयका सबै सदस्यहरु हटाउने निर्णय मंसिर १ गतेदेखि नै लागू भएको उनको भनाइ छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी गिरीराज खनालले सभामुख घर्तीमगरको सचिवालयमा रहेका सबै पाँच जनाको मंसिर १ गतेदेखि ‘अवकाश’ भएको जानकारी दिए ।
सभामुख घर्तीको सचिवालयको स्वकीय सचिव पदम सोमै थिए । उनले उपसचिव सरहको सुविधा लिने गरेका प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ । यसैगरी सभामुख घर्तीमगरसँग अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक पनि थिए ।
जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई बढीमा तीन जनाको सचिवालय बनाउन भनेको थियो । तर प्रदेश सभामुख र उपसभामुखको सचिवालयबारे उल्लेख थिएन । यही सन्दर्भमा सभामुख घर्तीमगरले ‘विशेष परिस्थिति’ भन्दै सचिवालय विघटन गरिएको जनाएका हुन् ।
प्रतिक्रिया 4