+
+
Shares

समस्याग्रस्त कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको स्थलगत अनुगमन गर्नुभएको छ।
  • कमला पुल निर्माण २०६८ जेठमा ठेक्का सम्झौता भए पनि १४ वर्षसम्म निर्माण पूरा हुन सकेको छैन।
  • पुल निर्माणको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत छ, म्याद थप गरी आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

५ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारी साधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको जस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि अनुगमन गरेका हुन् ।

तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौं पठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ ।

पुल निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले “यो पुल समग्र मधेश क्षेत्रको विकासको लागि अत्यन्तै महत्वपूर्ण रहेकोले तीब्र गतिमा निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले यो पुल जसरी पनि बनाइने र विगतमा निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको पनि बताए । दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ ।

पुल निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने स्थानीयले माग थियो । अनुगमनकै क्रममा मन्त्री घिसिङ वारि धनुषावाट डुङ्गा चढेर पारी सिरहा पुगेका हुन् । जहाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग भेट गरी संयुक्त रुपमा पुल निर्माणको निरीक्षण गरे ।

हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमश : ८३ र ८२ प्रतिशत रहेको छ । १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ ।

व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मिटर पहुँच सडक निर्माण गर्नु पर्ने छ ।

१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लाबमा क्षति पुगेको थियो । क्षति पुगेका स्लाबमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी रहेका छन् ।

विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तथा आईओई तयार गरी स्वीकृत गरिएको छ । ४ वटा स्लाबमध्ये सिरहा पट्टि २ वटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको २ मिटर स्टिम ढलान भई बाँकी २ वटा स्पानलाई दह्रो बनाउने काम बाँकी रहेको छ । स्वीकृत परिमार्जित डिजाइन बमोजिम पुल निर्माण तथा पुनर्स्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?