News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ कात्तिकसम्म वीरगञ्ज भन्सारबाट कुल आयातको ४६.३४ प्रतिशत र निर्यातको ३५.२५ प्रतिशत भएको छ।
- नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी बाढीले भत्किएपछि बन्द छ र मुस्ताङस्थित कोरला नाका विकल्प बनेको छ।
- भैरहवा र विराटनगर भन्सारले क्रमशः कुल आयातको १५.३० र १२.०३ प्रतिशत र निर्यातको १०.१५ र २९.६३ प्रतिशत हिस्सा ओगटेको छ।
९ कात्तिक, काठमाडौं । वैदेशिक व्यापारमा करिब आधा हिस्सा वीरगञ्ज भन्सारबाट हुने गरेको देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ कात्तिकसम्म २८ भन्सार बिन्दुबाट वैदेशिक व्यापार (आयात–निर्यात) भएको छ ।
तीमध्ये सबैभन्दा अगाडि वीरगञ्ज भन्सार कार्यालय छ । यस वर्ष कात्तिकसम्म ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । निर्यात भने ९३ अर्ब ४९ करोड बराबर भएको छ ।
त्यसमध्ये वीरगञ्जबाट मात्र २ खर्ब ८२ अर्ब बराबर वस्तु आयात भएको छ । यो कुल आयातको ४६.३४ प्रतिशत हो । यस भन्सारबाट ३२ अर्ब ९५ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३५.२५ प्रतिशत हो । आयातका दृष्टिकोणबाट दोस्रो ठूलो भन्सार भैरहवा देखिन्छ ।
भैरहवाबाट ९३ अर्ब २७ करोड बराबर वस्तु नेपाल भित्रिएको छ । जुन कुल आयातको १५.३० प्रतिशत हो । यस भन्सारबाट ९ अर्ब ४८ करोडको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको १०.१५ प्रतिशत हो ।
आयातका हिसाबले तेस्रो स्थानमा विराटनगर भन्सार छ । यस भन्सारबाट ७३ अर्ब २९ करोड बराबरको वस्तु नेपाल आएको छ । जुन कुल निर्यातको १२.०३ प्रतिशत हो ।
निर्यातका दृष्टिकोणबाट भने विराटनगर दोस्रो ठूलो भन्सार बिन्दु हो । यस भन्सार हुँदै २७ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ । जुन कुल निर्यातको २९.६३ प्रतिशत हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अर्को ठूलो भन्सार बिन्दु हो । यहाँबाट चार महिनामा ७१ अर्ब ३६ करोड बराबर वस्तु आयात भएको छ । जुन कुल आयातको ११.७१ प्रतिशत हो ।
निर्यात १२ अर्ब ९ करोड बराबर भएको छ । यो कुल निर्यातको १२.९४ प्रतिशत हो । पोखरा र भैरहवा विमानस्थल भन्सारबाट यस वर्ष कुनै पनि व्यापार हुन सकेन ।
चीनतर्फको व्यापारमा मुस्ताङ विकल्प
नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी अहिले बन्द छ । बाढीले मितेरी पुल भत्काएसँगै अहिले निर्माणको काम भइरहेको छ ।
यससँगै चीनसँगको व्यापारमा मुस्ताङस्थित कोरला नाका विकल्प बनेको छ । यस नाका हुँदै चीनबाट नेपालमा ७ अर्ब ३७ करोडको वस्तु आयात भएको छ भने ८ करोड ३८ लाख बराबर निर्यात भएको छ ।
रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात शून्य देखिन्छ । तातोपानी नाकाबाट १३ अर्ब ३५ करोड बराबर वस्तु आयात भएको छ । निर्यात शून्य छ । यो नाकासमेत वर्षायाममा अवरुद्ध भएको थियो ।
प्रतिक्रिया 4