+
+
Shares

६१ मेगावाटको नारखोला जलविद्युत्‌ आयोजनामा जुट्यो ऋण लगानी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा ६१ मेगावाट क्षमताको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
  • कुमारी बैंकको नेतृत्वमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता सोमबार गरेका छन्।
  • आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेको र आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

१५ मंसिर, काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आायोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाईमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मनाङस्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत् आयोजना निर्माण गरिनेछ । आयोजनाको प्रबर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जीले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पीपीए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार सम्झौतामा हस्ताक्षर भएको हो ।

नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत बिक्री गर्नेछ ।

६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन् । आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको रहनेछ । आयोजनाको बाँधका संरचना नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सबस्टेशनमा जोडिने छ ।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा ९ अर्ब ६३ करोड रुपैयाँ र स्वपूँजी ३ अर्ब २१ करोड रुपैयाँ हुनेछ । स्वपूँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?