१५ मंसिर, धनगढी । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको समानान्तर सूची सार्वजनिक भएको छ ।
जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अलग सूची सार्वजनिक गरेका छन् । संस्थापन इतरतर्फ उभिएका अध्यक्ष मलासीको सूचीप्रति असहमति जनाउँदै संस्थापनतिर लागेका सचिव भट्टले छुट्टै सूची तयार पारेका हुन् ।
अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुला तर्फका प्रतिनिधि चयन भएका छन् ।
महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल छन् भने दलित तर्फ सिता बिक र धनबहादुर नेपाली छन् । ४० वर्ष मुनिका युवा तर्फ बमबहादुर बम चयन भएका छन् ।
संस्थापन नजिक मानिने जिल्ल सचिव भट्टको सूचीमा खुलातर्फ सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट, महिला तर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलित तफरु शान्ती चुनारा, धनबहादुर नेपाली र युवा तर्फ खेमबहादुर घर्तीलाई चयन गरिएको छ । भट्टलाई जिल्ला इन्चार्ज गौरी ओलीले साथ दिएको दाबी गरिएको छ ।
अध्यक्ष र सचिवको दुई वटा सूची सार्वजनिक भएपछि ओलीले आफ्नो सुझाव र पार्टीको विधान विपरीत कब्जा गर्ने शैलीबाट दुई सूची ल्याइएको बताइन् ।
अध्यक्ष मलासीले भने निर्वाचन अधिकृतले सार्वजनिक गरेको सूची नै प्रतिनिधिको आधिकारीक भएको बताएकी छन् । सचिव भट्टले नजानेर दोस्रो सूची बनाएको बताउदै फिर्ता गरिसकेको उनको जिकिर छ ।
‘प्रतिनिधि चयनमा विवाद भएको होइन । उहाँ(सचिव)ले नजानी नजानी गरेको हुँ अहिले फिर्ता गरिसकेको छु भन्नुभएको छ । यो पक्ष अर्को पक्ष भन्ने पनि केही पनि होइन । सचिवलाई नै अधिकार दिएका थियौँ ।
हामीले गरेको निर्णय आधिकारीक हो । प्रदेशमा समेत पठाइसकेका छौँ,’ मलासीले भनिन् ।
सचिव भट्टले भने अध्यक्षले एकलौटी गर्दै आफू अनुकूल प्रतिनिधि चयन गरेपछि अर्को सूची सार्वजनिक गर्नुपरेको दाबी गरेका छन् ।
‘अध्यक्ष कमरेडबाट प्रतिनिधिमा बिना सहमती एकलौटी नाम घोषणा गर्ने काम भयो । यो कुरामा सुरुबाटै मैले विरोध जनाइरहेको थिए’ सचिव भट्टले भने, ‘मेरो असहमतिबीच उपसचिवलाई माइन्युट गर्न लगाएर गरिएको एकलौटी निर्णयमा मेरो हस्ताक्षर पनि छैन । समर्थन पनि छैन । ’
भट्टले दोस्रो पटक सार्वजनिक गरिएको प्रतिनिधिको सूचि नै आधिकारिक भएको दाबी समेत गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले भने जिल्ला कमिटीबाट प्राप्त भएका दुवै सूचीलाई निर्णयका लागि माथिल्लो कमिटीमा पठाउने जनाएको छ । ‘जिल्ला कमिटीबाट आधिकारीक रुपमा आएका प्रतिनिधिको सूची र अन्य निवेदनहरुसँगै राखेर हामीले माथि पठाउछौँ,’ चन्दले भने, ‘दुवै सूची पठाइसकेपछि केन्द्रीय संगठन विभागले गर्ने निर्णय नै अन्तिम हुन्छ ।’


प्रतिक्रिया 4