News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन्।
- पौडेलले महाधिवेशन समय अभाव भन्दै पर धकेल्न मुख्य नेतृत्वलाई दोष लगाएका छन्।
- उनले निर्वाचन अघि महाधिवेशन गरेर नेतृत्व परिवर्तन नभए पार्टीको सर्मनाक हार हुने बताए।
१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौँको धुम्बाराहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आसन्न महाधिवेशनमा आफू महामन्त्रीभन्दा तल र त्यसभन्दा माथिको पदमा उम्मेदवारी दिने तयारी नगरेको बताएका हुन् ।
‘१४औं महाधिवेशनमा महामन्त्रीमा विजयी हुन सकिनँ । १५औं महाधिवेशनमा म महामन्त्रीभन्दा तल र माथिको पदमा उम्मेदवारी दिने तयारीमा छैन । महामन्त्रीकै तयारीमा लागेको छु’ उनले भने ।
उनले आफू यही समूहको महामन्त्रीको उम्मेदवार हुने भन्ने खुलाएनन् । ‘महामन्त्री नै लड्ने भएपछि सभापतिकै सेट मिलाएर पक्कै लडिन्छ,’ उनले भने, ‘तर, अहिले नै यो समूहबाट लड्ने भन्ने टुंगो लागिसकेको छैन ।’
पौडेलले समय अभाव भन्दै महाधिवेशन पर धकेल्ने काम गरिएको पनि आरोप लगाए । ‘अहिले समय अभाव भनेर लम्ब्याउने प्रपञ्च गरियो,’ उनले भने, ‘यसमा मुख्य नेतृत्वको दोष छ,’ उनले भने, ‘धेरै चुनौती थपिएका बेला यसरी अधिवेशन अन्योल राख्न हुन्न ।’
नेता पौडेलले निर्वाचन अघि महाधिवेशन गरेर नेतृत्व परिवर्तन नभए पार्टीको सर्मनाक हार हुने बताए । ‘विधानको व्यवस्था बमोजिम विशेष महाधिवेशन हुन्छ । तोकिएको समयमा अधिवेशन गर्ने गम्भीरता देखिएन,’ उनले भने, ‘अहिले विशेष अधिवेशन निष्क्रिय बनाउने र पार्टीको महाधिवेशन निर्वाचन अगाडि नगर्ने प्रपञ्च गर्नुहुँदैन।’
प्रतिक्रिया 4