+
+
Shares

सर्वोच्च अदालतमा एकाएक किन गठन भयो १९ सदस्यीय बृहत पूर्ण इजलास ?

सर्वोच्च अदालतले आइतबार एकाएक १९ न्यायाधीशहरू सम्मिलित बृहत पूर्ण इजलास गठन गरेर एक प्रतिवेदनमाथिको सुनुवाइ थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले २४ भदौको आगजनीपछि नष्ट भएका कागजातसम्बन्धी मुद्दा सुनुवाइका लागि १९ न्यायाधीश समावेश गरेर बृहत पूर्ण इजलास गठन गरेको छ।
  • सर्वोच्च अदालतले मुद्दाका पक्ष र सरोकारवालालाई जलेका कागजात बुझाउन दुई महिनाको समय दिएको छ र इजलासले निकास दिनेछ भने प्रवक्ता अर्जुन कोइरालाले बताउनुभयो।
  • यसअघि १६ जेठ २०७७ मा पनि कोरोनाकालमा मुद्दा सुनुवाइ सहज बनाउन बृहत पूर्ण इजलास गठन भएको थियो।

१३ काठमाडौं । सर्वोच्च अदालतले आइतबार एकाएक १९ न्यायाधीशहरू सम्मिलित बृहत पूर्ण इजलास गठन गरेर एक प्रतिवेदनमाथिको सुनुवाइ थालेको छ ।

सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न सबै न्यायाधीश समावेश गरेर बृहत पूर्ण इजलास गठन भएको हो ।

२४ भदौको आगजनीपछि सीमितबाहेक सर्वोच्च अदालतका सबैजसो कागजातहरू जलेर नष्ट भएका छन् । त्यसक्रममा सर्वोच्च अदालतले मुद्दाका पक्ष एवं सरोकारवालाहरुलाई सम्बन्धित मुद्दाको कागजात बुझाएर सहयोग गर्न आह्वान गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मुद्दाको तारिख लिनेहरूलाई एक महिनाको समय दिइएको तर जलेका कागजात र मिसिल ल्याउन दुई महिनाको अवधि दिइएकाले एकरुपतासहित निकास दिलाउन बृहत पूर्ण इजलास राखिएको बताए ।

‘त्यो काम फूलकोर्टबाट पनि हुन्थ्यो होला । तर हामीसँग कोभिडका बेलामा त्यसैगरी बृहत पूर्ण इजलासबाट निकास निकालेको अनुभव थियो’ प्रवक्ता कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यही भएर अहिले पनि बृहत पूर्ण इजलासमा तारिख र म्यादसम्बन्धी विषयको प्रतिवेदन पेस भएको हो । अब इजलासले नै आवश्यक निकास दिनेछ ।’

सर्वोच्च अदालतमा यसरी सबै न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलास गठन भएको यो दोस्रो घटना हो । कोरोनाकालका बेलामा १६ जेठ, २०७७ मा सर्वोच्च अदालतमा त्यसैगरी बृहत पूर्ण इजलास गठन भएको थियो । उक्त इजलासले लकडाउनका कारण अप्ठेरोमा पर्ने मुद्दाहरूको बाधा अड्चन फुकाउँदै सेवाग्राहीहरूले एक महिनाको सुविधा पाउने व्याख्या गरेको थियो ।

जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा अज्ञात समूहले विभिन्न संवैधानिक निकाय र अड्डाहरुमा आगजनी गर्ने क्रममा सर्वोच्च अदालत पनि ध्वस्त भएको थियो ।

केही सीमित फाइलहरु मात्रै सग्लो भएकोमा सर्वोच्च अदालतले कागजान नष्ट भएका मुद्दाका फाइल र अरु प्रमाणहरू संकलन गर्ने तयारी गरिरहेको छ ।

आगजनीले ध्वस्त भएकाले अदालतका सेवाग्राही र मुद्दाका पक्षहरुले तारिख लिने क्रममा सहुलियत पाइरहेका छन् ।

त्यसै सिलसिलामा म्याद र जलेका फाइलको अर्को कपी पेश गर्ने विषयमा अन्यौल देखिएकाले १९ सदस्यिय बृहत पूर्ण इजलास गठन भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?