२० पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको भन्दै निन्दा गरेका छन् ।
खनालका अनुसार उक्त कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध हो । ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो,’ खनालले आज विज्ञप्ति जारी गरेर भनेका छन् ।
उनले अमेरिकाले भेनेजुएलामाथि लामो समयदेखि ‘गिद्धे दृष्टि’ राख्दै आएको र विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले यस्तो कदम चालिएको आरोप लगाएका छन् । मदुरो सरकारलाई हटाउन ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाइएको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको दाबी गर्दै विश्वका न्यायप्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको उल्लेख गरेका छन् ।
उनले नेपाली कम्युनिष्ट पार्टी र नेपाली जनताको तर्फबाट भेनेजुएलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी पत्नीको सकुशल रिहाइको माग गरेका छन् ।
साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न र साना तथा कमजोर मुलुकहरूको सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4