News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र महोत्सवका ७ वटा फेस्टिभलका प्रतिनिधिले केन्द्रीय चलचित्र जाँच समितिको नयाँ नियम खारेज गर्न मागपत्र बुझाएका छन्।
- समितिको नयाँ कार्यविधिमा फिल्म फेस्टिभलमा प्रदर्शन गरिने फिल्मलाई पनि जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ।
- समिति अध्यक्ष रानामगरले नियम संसोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
काठमाडौं । चलचित्र महोत्सवमा देखाइने फिल्मलाई जाँच गर्नुपर्ने केन्द्रीय चलचित्र जाँच समितिको नयाँ नियमलाई खारेज गर्न चलचित्र महोत्सवका आयोजकले माग गरेका छन् ।
आइतबार समिति अध्यक्ष तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरलाई भेटेर ७ वटा फिल्म फेस्टिभलका प्रतिनिधिले मागपत्र बुझाएका हुन् ।
किम्फ, निफ, हुमन राइट्स, वुमन फिल्म फेस्टिभल, ग्रामीण चलचित्र, पामे फिल्म फेस्टिभल, काठमाडौं हरर फेस्टिभलका प्रतिनिधिले मागपत्र बुझाएका हुन् ।
आफूहरूले समितिको नयाँ कार्यविधिमा समावेश उक्त नियम खारेज हुनुपर्ने लगायतका माग राखेको मानवअधिकार फिल्म फेस्टिभलका अध्यक्ष पाण्डव खत्रीले जानकारी दिए ।
‘सो नियमले फेस्टिभललाई समस्या हुने भयो । फेस्टिभलमा देखाइने फिल्मबारे चलचित्र विकास बोर्डलाई जानकारी दिउँला तर सो नियमले समस्या हुने भएकाले खारेज गर्न माग गर्यौं’ खत्रीले भने ।
मागपत्र बुझ्दै समिति अध्यक्ष रानामगरले उक्त नियम यसअघिदेखि नै कार्यविधिमा रहेको र यसलाई संसोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
२ पुसदेखि कार्यान्वयनमा आएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि, २०८२’ को सातौं बुँदामा फिल्म फेस्टिभलमा प्रदर्शन गरिने फिल्मलाई पनि जाँच गर्नुपर्ने कुरा उल्लेख छ ।
उक्त बुँदामा लेखिएको छ, ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ ।’
यसबारेको समाचार बाहिर आएपछि फेस्टिभल आयोजक र फिल्मकर्मीले विरोध जनाउँदै आइरहेका छन् ।
प्रतिक्रिया 4