News Summary
Generated by OK AI. Editorially reviewed.- सेन्सर बोर्डले चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मलाई समेत जाँच गर्नुपर्ने नयाँ नियम लागू गरेको छ।
- नयाँ कार्यविधि २०८२ अनुसार समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ।
- समितिले सेन्सर प्रक्रियालाई व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याएको अध्यक्ष उदयबहादुर रानाले बताए।
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई समेत जाँच गर्नुपर्ने नियम ल्याएको छ ।
२ पुसदेखि कार्यान्वयनमा आएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि, २०८२’ को सातौं बुँदामा यो कुरा उल्लेख गरिएको छ ।
उक्त बुँदामा लेखिएको छ, ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ ।’
समितिले कार्यविधिको पूर्ण विवरण वेबसाइटमा प्रकाशित गरेको छ ।
फेस्टिभलमा प्रदर्शन हुने फिल्मलाई सेन्सर गर्नुपर्ने नियम चाहिँ यसअघिको कार्यविधिमा पनि समावेश रहेको कुरा समितिका अधिकारीहरूले बताएका छन् । ‘अघिल्लो कार्यविधिमा पनि त्यो कुरा उल्लेख थियो’ एक सदस्यले भने ।

नयाँ कार्यविधिमा ‘चलचित्रसँग सम्बन्धित प्रचलित कानुनको पूर्ण पालना गर्दै’ स्वयंले जाँच गर्ने पद्दतिको विकास गर्ने (सेल्फ सेन्सरसिप) लाई प्रोत्साहन गर्ने कुरा पनि उल्लेख छ ।
फिल्मको प्रोमो वा ट्रेलरबारे निर्माताले प्रचलित कानूनको पालना गरि स्वःपरीक्षण गरि प्रचारप्रसार गर्नुपर्ने पनि उल्लेख छ ।
अनुमति प्राप्त गर्ने व्यक्ति (निर्माता) र प्रदर्शकले पालना गर्नुपर्ने प्रावधान पनि कुरा उल्लेख छ । हलवालाले सेन्सर बोर्डले दिएको वर्गीकरणलाई दर्शकले देख्ने गरि टिकट काउन्टरको बाहिर टाँस्नुपर्ने र सेन्सर पास भैसकेका फिल्मलाई काँटछाँट गरि प्रदर्शन गर्न नपाइने उल्लेख छ ।
यसअघिको चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८० खारेज गरिएको छ ।
समितिले फिल्म सेन्सरको लागि अब सहज हुने दाबी समेत गरेको छ । समिति अध्यक्ष उदयबहादुर रानाले सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याइएको बताए ।
‘सेन्सर बोर्डका प्रक्रियागत जटिलतालाई हटाउन र पुराना त्रुटि सच्याउन हामीले बुँदाहरू परिमार्जन गरेका छौँ,’ उनले भने, ‘सेन्सरमाथि प्रश्नचिन्ह उठिरहेको बेलामा प्रक्रियालाई समयसापेक्ष बनाउने प्रयास हो ।’
प्रतिक्रिया 4