+
+
Shares

कमलपोखरी छलफल भद्र समझदारी नजिक: यसपटक बालेन, अर्को पटक रवि !

कमलपोखरीको बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १२:१०

८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् । यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । समझदारी अनुसार दुई नेता अघि बढेमा अर्को चुनावमा भने बालेनले रविलाई सघाउने छन् ।

गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा वार्ता भएको थियो । वार्तापछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए ।

‘सुरुमा बालेन, कुमार बेन, रवि र असिम साहबीच करिब ४५ मिनेट संयुक्त छलफल भयो । त्यसपछि असिम र कुमार बेनलाई बाहिर राखेर रवि–बालेनबीच ४–५ घण्टा एक्लाएक्लै छलफल भयो’, स्रोतले भन्यो ।

‘वान अन वान’ वार्ताका विषय औपचारिक रुपमा सार्वजनिक भएका छैनन् । तर उनीहरु निकट स्रोत भने आगामी राजनीतिक यात्रा सँगसँगै गर्ने समझदारी बनेको बताउँछ । ‘यसबारे थप छलफल गर्न सम्भवत: आजै अर्को चरणको पनि वार्ताको तयारी भइरहेको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

पहिलो चरणमा बालेनलाई प्रधानमन्त्री बन्न रविले सघाउने

स्रोतका अनुसार बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सोही छलफल अन्तर्गत कमलपोखरी बसाइको प्रबन्ध मिलाइएको थियो ।

सो बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ । ‘आगामी प्रतिनिधि सभा निर्वाचनबाट बालेन चुनाव लड्ने र रविले बालेनलाई पूरै पाँच वर्ष प्रधानमन्त्री बन्न सघाउने भन्ने समझदारी बनेको छ,’ स्रोत भन्छ, ‘अर्को चुनावमा भने बालेनले रविलाई त्यसैगरी सघाउने कुरा छ ।’

स्रोतका अनुसार बालेन रास्वपाको घण्टी चुनाव चिह्नलाई स्वीकार्न पनि तयार देखिएका छन् तर पार्टीको नाममा भने छलफल जारी छ । मिल्न बाँकी थप विषयमा निरन्तर छलफल जारी राख्ने समझदारी उनीहरुबीच भएको छ ।

बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् । भैरहवा कारागारबाट मुक्त भएपछि चितवनको चौबिसकोठीमा आयोजित सार्वजनिक कार्यक्रममै रविले देश बन्ने सर्तमा आफू सबै त्याग्न तयार रहेको बताएका थिए ।

कसरी जुर्‍यो कमलपोखरी बसाइ ?

चितवनबाट काठमाडौं फर्किएलगत्तै रवि भेटघाटमा व्यस्त भएका थिए । सुरुमा जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेका उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भेटेका थिए । त्यसपछि पुस ६ गते बालेन र रविबीच असिम साहको घरमा संक्षिप्त भेटवार्ता भएको थियो ।

त्यहीबेला अर्को चरणको भेटवार्ताबारे सहमति भएको थियो । सो सहमति अनुसार बालेनले सुरुमा अब कुमार बेनको घरमा बस्ने प्रस्ताव राखेका थिए । रविले सुरक्षा लगायतका कारण देखाउँदै अर्को विकल्प खोज्न भनेका थिए ।

‘रविले कुमार बेनको घरमा बस्न कम्फर्टबेल फिल नगरेपछि अर्को ठाउँ खोज्ने क्रममा असिमको कार्यालय कमलपोखरी तय गरियो,’ स्रोतले भन्यो ।

सो भेटमा सुरुमा डा. स्वर्णिम वाग्ले पनि रहने बताइए पनि रविले अन्तिम समयमा स्वर्णिमलाई नलगेको स्रोत बताउँछ ।

‘एकताको सन्देश’

बालेन र रविबीच भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहले छलफल सौहार्दपूर्ण भएको र एकताको सन्देश दिएको बताए ।

‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ’, असिम साहले भने, ‘यसको सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’

उनले फेसबुकमा पनि लेखेका छन्, ‘अन्तत: कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो ।’

कुलमानबारे पनि छलफल

रवि र बालेनबीच जेनजी युवाहरुको भावना समेट्ने गरी वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयास गर्ने समझदारी समेत भएको स्रोत बताउँछ ।

यसक्रममा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबारे पनि छलफल भएको बताइन्छ । तर रविले यसमा कम्फर्टेबल फिल नगरेको स्रोतको भनाइ छ । यसअघि कुलमान र बालेनबीच भने भेटवार्ता भएको थियो ।

‘विभिन्न दल र समूह गरेर १० वटासँग कुराकानी भइरहेको छ । त्यसमा हामी आक्रामक रुपमा नै जाने भन्ने कुरा भएको छ,’ एक नेताले भने, ‘एक दुई दिनमै केही नयाँ आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?