+
+
Shares

४० लागिन् दीपिका पादुकोण, फ्यानसँग मनाइन् जन्मदिन

भिडियो र फोटोमा ‘ओम शान्ति ओम’ डेब्यू अभिनेत्रीले ठूलो आकारको चकलेट र बेरी केक काटिरहेको देखाइएको छ । दीपिकाले केकको टुक्रा बाँडेर फ्यानलाई खुसी पनि दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १५:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री दीपिका पादुकोणले सोमबार आफ्नो ४० औं जन्मदिन प्रशंसकसँग केक काटेर मनाएकी छन्।
  • दीपिकाले मोडलिङबाट अभिनय यात्रा सुरु गरी 'ओम शान्ति ओम' फिल्मबाट बलिउडमा रातारात स्टार बनिन्।
  • उनी मानसिक स्वास्थ्य विषयमा खुलेर बोल्छिन् र 'लिभ लभ लाफ' फाउन्डेसन स्थापना गरेकी छन्।

मुम्बई । बलिउड स्टार दीपिका पादुकोण सोमबार ४० औं जन्मदिन मनाउँदैछिन् । यस अवसरमा उनलाई विश्वभरबाट प्रशंसकले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

उनको चालिसौं बर्थडे खास रह्यो । उनले प्रशंसकसँग केक काटेर जन्मदिन सेलिब्रेट गरेकी छन् । उनले फ्यानसँग जन्मदिन मनाएका भिडियो र फोटो सामाजिक सञ्जालमा ब्यापक सेयर भैरहेका छन् ।

बर्थडेको एक दिन अगाडि, उनका उत्साही प्रशंसकले मुम्बईमा एक भव्य फ्यान भेटघाटको आयोजना गरे । सो अवसरमा आफ्नी फेभरेट अभिनेत्रीको झलक हेर्न फ्यान कोठामा खचाखच भरिएको देखिए ।

भिडियो र फोटोमा ‘ओम शान्ति ओम’ डेब्यू अभिनेत्रीले ठूलो आकारको चकलेट र बेरी केक काटिरहेको देखाइएको छ । दीपिकाले केकको टुक्रा बाँडेर फ्यानलाई खुसी पनि दिइन् ।

जन्मदिन उत्सवमा साथ दिने फ्यानलाई उनले फ्लाइङ किसमार्फत धन्यवाद दिइन् ।

सफल स्टारडमको यात्रा

दीपिकाले आफ्नो करियर मोडलिङबाट सुरु गरिन् । सन् २००५ तिर उनले विभिन्न विज्ञापन र र्‍याम्प शोमार्फत चर्चा पाउन थालिन् । त्यसपछि कन्नड फिल्म ऐश्वर्या ९२००६० बाट अभिनय यात्रा सुरु भयो । बलिउडमा उनको वास्तविक पहिचान सन् २००७ मा शाहरुख खानसँग अभिनय गरेको फिल्म ‘ओम शान्ति ओम’ बाट बन्यो । यो फिल्मले उनलाई रातारात स्टार बनायो र उत्कृष्ट नवोदित अभिनेत्रीको पुरस्कार पनि दिलायो ।

यसपछि दीपिकाले लभ आजकल, ककटेल, ये जवानी है दीवानी, चेन्नई एक्सप्रेस, रामलीला, बाजीराव मस्तानी, पद्मावतजस्ता व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्ममा अभिनय गरिन् । उनले ऐतिहासिक, रोमान्टिक, कमेडी र गम्भीर सबै खालका भूमिकामा आफूलाई सफलतापूर्वक प्रस्तुत गरिन् । ‘पिकु’ फिल्ममा निर्वाह गरेको साधारण तर भावनात्मक पात्रलाई दर्शक र समीक्षक दुवैले अत्यन्त मन पराए ।

दीपिका केवल सुन्दरी अभिनेत्री मात्र होइनन्, उनी अभिनयमा गहिराइ, संवेदनशीलता र आत्मविश्वासको उदाहरण हुन् । उनले आफ्ना पात्रलाई सशक्त, आत्मनिर्भर र भावनात्मक रुपमा गहिरो देखाउने प्रयास सधैं गरिन् । यही कारण उनी महिला केन्द्रित फिल्ममा पनि सफल भइन् ।

अभिनयसँगै दीपिका मानसिक स्वास्थ्यका विषयमा खुलेर बोल्ने चर्चित सेलिब्रेटी हुन् । आफू डिप्रेसनबाट गुज्रिएको अनुभव सार्वजनिक गर्दै उनले ‘लिभ लभ लाफ’ फाउन्डेसन स्थापना गरिन्, जसले मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने काम गर्छ । भारतजस्तो समाजमा यस्तो विषयमा खुलेर बोल्नु साहसिक कदम मानिन्छ, जसले धेरै मानिसलाई हौसला दिएको छ ।

व्यक्तिगत जीवनमा दीपिकाले सन् २०१८ मा अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । दुवैको सम्बन्धलाई बलिउडको सबैभन्दा लोकप्रिय र सशक्त जोडीमध्ये एक मानिन्छ । आज दीपिका केवल फिल्म स्टार होइनन्, उनी एक ब्रान्ड, प्रेरणा र आत्मबलको प्रतीक हुन् । अभिनय, सौन्दर्य, सामाजिक चेतना र आत्मस्वीकृतिको समन्वयले उनी आधुनिक भारतीय नारीको सशक्त प्रतिनिधि बनेकी छन् ।

कामको कुरा गर्दा, दीपिकाले शाहरुख खानसँग उनीहरूको आगामी एक्सन-थ्रिलर फिल्म ‘किङ’ मा स्क्रिन सेयर गर्नेछिन् । सिद्धार्थ आनन्दको यो मास इन्टरटेनर फिल्मबाट ठूलो पर्दामा सुहाना खानले पनि डेब्यू गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?