+
+
Shares
सांस्कृतिक सम्पत्ति सम्झौता :

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर, कलाकृतिको चोरीविरुद्ध लड्ने

सहमतिमा नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपोसारको रोकथाम गर्नेसम्बन्धी कुरा उल्लेख छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १९:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति संरक्षण र अवैध ओसारपोसार रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
  • सम्झौतामा पुरातात्विक सामग्री, मानवजातीय वस्तु र धार्मिक कलाकृतिको अवैध व्यापार रोक्न दुई देशले सहकार्य गर्ने उल्लेख छ।
  • अमेरिकी राजदूत डिन आर थम्पसनले सम्झौताले सांस्कृतिक सम्पदाको जिम्मेवार हेरचाह र प्रवद्र्धनमा सहयोग गर्ने बताए।

काठमाडौं । नेपाल र अमेरिकाबीच द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा विहिबार हस्ताक्षर भएको छ ।

आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख सुरेश सुरश श्रेष्ठ र अमेरिकी राजदूत डिन आर थम्पसनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितीमा दुई मुलुकका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । सहमतिमा नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपोसारको रोकथाम गर्नेसम्बन्धी कुरा उल्लेख छन् ।

सम्झौताअन्तर्गत नेपाल सरकारद्वारा जारी भई म्याद नगुज्रिएको निर्यात प्रमाणपत्रको साथमा बाहेक अमेरिकाले नेपालबाट निश्चित पुरातात्विक तथा मानवजातीय सामग्रीलाई अमेरिकामा आयातको लागि प्रतिबन्ध लगाउने भएको छ ।

सम्झौताले धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक वस्तु र अमेरिकाद्वारा आगामी दिनमा प्रकाशित गरिने निर्दिष्ट सूचिमा उल्लिखित पाण्डुलिपि लगायतका पाषाण युगको करिब ३२,००० इसापूर्वदेखि इस्वी संवत् १७७० सम्मका पुरातात्विक सामग्री र १३ औं शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्री समेटेको छ ।

सम्झौताले कलाकृतिको चोरीडकैती र अवैध व्यापारविरुद्ध लड्न द्विपक्षीय सहयोगलाई सुदृढ गरी नेपालका सांस्कृतिक निधि भावी पुस्ताका निम्ति संरक्षित रहने सुनिश्चितता गर्ने अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

‘यो सम्झौताले अमूल्य सम्पदालाई अवैध विक्री हुनबाट रोकेर, चोरीडकैती हुन सक्ने तत्वलाई न्यूनीकरण गरेर र सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण हेरचाह र प्रवद्र्धन गरेर नेपाललाई महत्वपूर्ण लाभहरू प्रदान गर्नेछ’ दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौताले नेपालको विश्वव्यापी छविलाई उँचो बनाउनुका साथै अमेरिकी संस्था, विश्वविद्यालय र अन्वेषकसँगको सहकार्यलाई सहजीकरण गर्ने जनाउँदै दूतावासले नेपालको सांस्कृतिक इतिहासको अध्ययन गरी त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन सक्ने पनि जनाएको छ ।

ऐतिहासिक कलाकृति आफ्नै मौलिक परिवेशमा कायम रहने र नेपाली नागरिक तथा आगन्तुक सबैले तिनको अनुभव लिन सक्ने सुनिश्चित गरी सम्झौताले नेपालको सांस्कृतिक पर्यटन उद्योगलाई पनि टेवा पुर्‍याउने आशा लिइएको छ, जुन उद्योग नेपालको अर्थतन्त्रका निम्ति अत्यन्त महत्वपूर्ण छ ।

हस्ताक्षर समारोहमा राजदूत थम्पसनले भने, ‘यस सांस्कृतिक सम्पत्ति सम्झौताले नेपालको सांस्कृतिक सम्पदाप्रति रहेको अमेरिकाको गहिरो सम्मानमाथि जोड दिएको छ । यसले अवैध ओसारपसार रोकथाममा सहकार्यलाई सुदृढ बनाउँछ, कानुनसम्मत सांस्कृतिक आदानप्रदानमा सहयोग गर्दछ र नेपालको सांस्कृतिक सम्पदा भावी पुस्ताका निम्ति जोगाउने हाम्रो साझा जिम्मेवारीमा बल पुर्‍याउँछ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव निरौलाले भने, ‘नेपालको सांस्कृतिक सम्पदाको जगेर्नामा निरन्तरको साझेदारीका निम्ति नेपाल सरकार अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दछ ।’

उनले अघि भने, ‘विगत दुई दशकमा राजदूत सांस्कृतिक संरक्षण कोष र हाल सांस्कृतिक सम्पत्ति सम्झौतामार्फत गरिएको यो साझेदारीले नेपाल र अमेरिकाबिचको बलियो सहकार्यका साथै सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोक्न र भावी पुस्ताका लागि सांस्कृतिक सम्पदाको संरक्षण गर्नप्रति हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।’

अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रले सांस्कृतिक सम्पत्ति सम्झौताको हस्ताक्षर र कार्यान्वयनमार्फत सांस्कृतिक सम्पदाको अवैध ओसारपसारविरुद्ध लड्ने र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अमेरिकी कार्यहरूको नेतृत्व गर्छ ।

‘सम्झौताले अवैध ओसारपसारका सञ्जालहरू तोड्ने, अमेरिकी संकलक तथा सङ्ग्रहालयहरूलाई चोरिएका वस्तु अन्जानमा खरिद गर्नबाट जोगाउने र आतङ्ककारी तथा अन्तर्देशीय अपराधीहरूतर्फ हुने आर्थिक प्रवाह रोक्ने गर्छन्’ दूतावासले भने, ‘यिनले अमेरिकी नागरिकले विश्वव्यापी सम्पदामा जिम्मेवारीपूर्वक पहुँच पाउन र अध्ययन गर्न सक्ने सुनिश्चित गर्दै, अमेरिकी दूतावासलाई साझेदार देशसँग सम्बन्ध बलियो बनाउने माध्यम उपलब्ध
गराएर कूटनीतिलाई पनि बढवा दिन्छन् ।’

विश्वभर ३० मुलुकसँग यस्तो सम्झौता गरिएको अमेरिकी दूतावासले जनाएको छ । ‘नेपालसँगको सांस्कृतिक सम्पत्ति सम्झौता नेपालको सार्वभौमिकता र सम्पदाको सुरक्षाप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धतामा आधारित छ’ दूतावासले भनेको छ ।

सोही कार्यअनुसार अमेरिकाले दुई दशकमा २८ परियोजनाका लागि नेपालमा राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत ४५ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग गरिसकेको छ ।

ती परियोजनाअन्तर्गत ऐतिहासिक स्मारक तथा पाण्डुलिपिको जीर्णोद्धार, सांस्कृतिक सम्पदा स्थलको जगेर्ना र हालसालै लुम्बिनीमा नेपालकै पहिलो आधुनिक संरक्षण प्रयोगशालाको स्थापना समावेश छन् । सो अवसरमा नेपाली शाष्त्रीय सांगीतिक समूह स्वरसुधाले सांगीतिक प्रस्तुति दिएको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?