News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमणका विषयमा आफूमाथि लगाइएका आरोप आधारहीन भएको दाबी गर्नुभयो।
- गुप्ताले अमेरिका भ्रमणका लागि भिसा प्रक्रिया सुरु नगरेको र त्यसलाई कसरी रद्द गरियो भनेर प्रश्न गर्नुभयो।
- एनआरएनएका अध्यक्षद्वयले मन्त्री गुप्तालाई औपचारिक रुपमा अमेरिकामा हुने कार्यक्रममा आमन्त्रण गरिएको पुष्टि गर्नुभयो।
२५ पुस, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमणका विषयमा आफूमाथि आधारहीन आरोप लगाइएको दाबी गरेका छन् ।
दलबलसहित अमेरिका भ्रमणमा जान लागेको समाचार आएपछि शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री गुप्ताले त्यसलाई आधारहीन भनेका हुन् ।
लोकतन्त्र र वाक स्वतन्त्रतामा आलोचनात्मक चेतनासहितको खबरदारी सुन्दर हुने भन्दै मन्त्री गुप्ताले अपुष्ट र अनावश्यक आरोप र नियतवशको खेदाइ कुरुप हुने तर्क गरेका छन् ।
मन्त्री गुप्ताले देश, विदेशका विभिन्न कार्यक्रममा सहभागीताका लागि निमन्त्रण आएपनि जाने नजाने आफ्नो निर्णय भएको बताएका छन् ।
साथै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा उनले अमेरिका भ्रमणका लागि भिसा प्रक्रिया सुरु नै नगरेकाले रद्द कसरी गरियो ? भनेर प्रश्न समेत गरेका छन् ।
गैर आवासीय नेपाली संघ अन्तर्गतको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी यूएसए) को निमन्त्रणमा मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको बताइएको थियो ।
तर, शुक्रबार आयोजकले विज्ञप्ति निकालेर मन्त्री गुप्तालाई आमन्त्रण नगरिएको बताएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
तर, शुक्रबार नै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय डा बद्री केसी र महेश कुमार श्रेष्ठले एक विज्ञप्ति जारी राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी यूएसए)का अध्यक्षद्वय विकास उप्रेती र सत्येन्द्र शाहबीच समन्वय नहुँदा समस्या आएको उल्लेख गरेका छन् ।
एनआरएनएका अध्यक्षद्वय डा केसी र श्रेष्ठले मन्त्री गुप्तालाई अमेरिकामा हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जेड रिभोलुसन’ शीर्षकको कार्यक्रममा आमन्त्रण गरिएको पुष्टि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएले औपचारिक रुपमा कार्यक्रमका लागि माननीय युवा तथा खेलकुद मन्त्रीज्यूलाई आमन्त्रण गरेका जानकारी हामीले पाएका छौं, गैरआवासीय नेपाली संघमा विगतमा देखिएका आपसी समझदारी अन्त्य गर्दै केन्द्रमा वृहत् एकताको सम्झौता सम्पन्न भइसकेको तथा राष्ट्रि समन्वय परिषद्हरू (एनसीसी) समेत एकताको प्रक्रियामा सहभागी भइरहेको जानकारी गराउँदछौं, यद्यपि विकास उप्रेतीको अध्यक्षमा गठित राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी यूएसए) र सत्येन्द्र शाहको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी यूएसए) बीच आपसी समन्वयको अभावका कारण सिर्जना भएको पछिल्लो अवस्थाप्रति हाम्रो क्षमाप्रार्थी छौं ।’

प्रतिक्रिया 4