+

शेरबहादुर खड्का स्मृति महिला भलिबल : न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन

२०८२ पुष  २६ गते १९:१९ २०८२ पुष २६ गते १९:१९
शेरबहादुर खड्का स्मृति महिला भलिबल : न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
  • शनिबार भएको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हरायो ।
  • चार टोली सहभागि प्रतियोगितामा आर्मीलाई हराउँदै एपीएफ तेस्रो भयो ।

२६ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, १५–२५, २७–२५ ले पराजित गर्दै उपाधि जितेको हो । न्यु डायमन्डकी प्रगति नाथ फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

न्यु डायमन्डले दोस्रोपटक यो प्रतियोगिताको उपाधि जितेको हो । यसअघि सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो । न्यु डायमण्डले उपाधि जित्ने क्रममा अपराजित यात्रा कायम राख्यो ।

चार टोली मात्र सहभागि प्रतियोगितामा न्यु डायमण्डले लिग चरणमा त्रिभुवन आर्मीलाई ३–०, एपीएफलाई ३–२ र पुलिसलाई ३–२ ले हराको थियो ।

एक साताको अवधिमा न्यु डायमन्डको राष्ट्रिय स्तरमा यो दोस्रो उपाधि हो । यसअघि न्यु डायमन्डले पुलिसलाई नै हराएर नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ को उपाधि जितेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सुरुका ६ संस्करणको उपाधि विजेता एपीएफ तेस्रो भयो । शनिबारै भएको खेलमा एपीएफले आर्मीलाई २५–१३, २५–२३, २५–१८ को सोझो सेटमा हरायो । एपीएफकी मिना सुनार ‘प्लेयर अफ द म्याच’ बनिन् ।

विजेता न्यु डायमण्डले उपाधिसँगै ५ लाख हात पार्दा उपविजेता पुलिसले २ लाख ५० हजार र तेस्रो भएको एपीएफले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ पनि न्यु डायमण्डकै वर्चस्व रह्यो । न्यु डायमन्डकी प्रतिभा माली प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५० हजार नगदसहित ट्रफी पाइन् । यसअघि नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा पनि माली सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् ।

यस्तै यसै प्रतियोगिताको उद्घाटनमा शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित न्यु डाइमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, तथा न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उपविजेता टिम पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र पनम चन्द उत्कृष्ट सर्भर तथा एपीएफकी मिना सुनार उत्कृष्ट सपाइकर घोषित भए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, केएनपी नेरोलेका कन्ट्री हेड मनोजकुमार मिश्र, एलआईसीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, मार्वल टेक्नोप्लास्टका प्रशासन प्रमुख दीपक चौलागाईं, एभरेष्ट बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्का, अध्यक्ष रञ्जन खड्का र उपाध्यक्ष सीता खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा ४ टिम सहभागी थिए ।

शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय