२७ पुस, काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार आयोजित साधारण सभामा शैक्षिक परामर्श क्षेत्रका व्यापक विषयहरूमा छलफल भएको थियो ।
साधारण सभामा शैक्षिक परामर्श व्यवसाय क्षेत्रका विद्यमान समस्या, कानुनी जटिलता र व्यवस्थापनका विषयमा गहन छलफल गरिएको छ । सहभागीहरूले क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन राज्यले स्पष्ट कानुनी ढाँचा र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
फेकन अध्यक्ष उमेश कुश्वारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सेमान्त कोइराला प्रमुख अतिथि थिए ।
कार्यक्रममा न्युजिल्यान्डका लागि नेपालकी मानार्थ वाणिज्यदूत लिसा चोइगल, अस्ट्रेलियाको भिक्टोरियाका लागि नेपालको मानार्थ वाणिज्यदूत नीराजन गौली, न्युयोर्कस्थित नेपालका पूर्ववाणिज्यदूत तथा फेकन सल्लाहकार नारायणप्रसाद मैनाली, अस्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहाल, बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन तथा फेकन सल्लाहकार प्राडा खेमबन्धु कोइरालालगायत सहभागी थिए ।
कार्यक्रममा आईडीपी, ब्रिटिस काउन्सिल, विभिन्न छाता संगठन, शैक्षिक संस्था तथा साझेदार संस्थाका प्रतिनिधि र फेकनका सदस्य परामर्श व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
फेकनका वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझाले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्राबारे चर्चा गरे । उनले परामर्श व्यवसाय क्षेत्रलाई समयमै कानुन नदिइनु र सञ्चालन प्रक्रियामा बेवास्ता गरिएको भन्दै त्यसको छिटो समाधान आवश्यक रहेको बताए ।
महासचिव दिपेन्द्र पोखरेलले संस्थाले विभिन्न समयमा निर्वाह गरेको भूमिकाबारे जानकारी गराउँदै नेपाललाई ‘शैक्षिक हब’ बनाउने फेकनको अभियानलाई प्राथमिकतामा राखिएको बताए । उनले सरोकारवालाहरूलाई रचनात्मक सुझाव र सहयोगका लागि अपिल गरे ।
साधारण सभामा बोल्ने विभिन्न वक्ताहरूले १५ वर्षको अवधिमा फेकनले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।
निवर्तमान अध्यक्ष राजु निरौलाले सरकारको उदासीनताका कारण परामर्श व्यवसायीहरू समस्यामा परेको बताए । उनले प्रदेश र केन्द्रबाट लाइसेन्स नलिई सञ्चालनमा रहेका संस्थालाई बन्द गर्न र नियमअनुसार काम गरिरहेका व्यवसायीलाई बदनामबाट जोगाउन सरकारसँग माग गरे ।
न्युजिल्यान्डकी मानार्थ वाणिज्यदूत लिसा चोइगलले नेपाल–न्युजिल्यान्ड सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै थप नेपाली विद्यार्थी न्युजिल्यान्डमा अध्ययनका लागि आउनुपर्ने धारणा राखिन् । उनले फेकनसँग निरन्तर संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रमुख अतिथि सेमान्त कोइरालाले कानुन निर्माणमा ढिलाइ र तीन तहका सरकारबीच समन्वयको अभावले समस्या देखिएको स्वीकार गरे । प्रदेशबाट स्वीकृति प्राप्त र दर्ताबिनै सञ्चालनमा रहेका संस्थाहरू छुट्याउने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै नवीकरण अवधि सकिएपछि अवैध संस्थामाथि कारबाही गरिने बताए।
अध्यक्ष कुश्वारले साधारण सभालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले फेकनलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा कार्यसमिति प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया 4