२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ ।
विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।
विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् ।
सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका छन् ।
कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् ।
विशेष पक्षधरका एक शीर्ष नेताका अनुसार सहमतिका लागि पार्टी नेतृत्वले विशेष महाधिवेशनलाई आफ्नो स्वामित्वको रूपमा लिनुपर्ने छ ।
यसैगरी विशेष महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनलाई पार्टीको पूँजीको रूपमा स्वीकार गर्नुपर्ने छ ।
यसैगरी पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने, राजीनामा दिन तयार नभए सक्रिय राजनीति छोडेको घोषणा गर्नुपर्ने, त्यो पनि मान्न तयार नहुने हो भने अन्तिम विकल्पमा रूपमा टिकट वितरण गर्दा देउवाले हस्ताक्षर नगर्ने निर्णय लिनुपर्ने उनले बताए ।
तीन सर्त मान्न संस्थापन पक्ष तयार नभए विशेष महाधिवेशनको बन्द सत्रमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने ती नेताले बताए ।
यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया 4