+
+
Shares

देउवा असोज २८ मा फर्कन नमान्दा कांग्रेस विभाजनतर्फ

कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने मागलाई सुनुवाइ नगरेसँगै पार्टी विभाजनको नजिक पुगेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ पुष ३० गते १३:४९

३० पुस, काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित निवासमा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक रुपमा देखिएका थिए ।

२८ असोजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा देउवाले लिखित मन्तव्य राख्दै सक्रिय राजनीतिलाई पूर्णविराम लगाएको जनाउ दिएका थिए ।

पार्टी बैठकमा भाग लिन गएका थिए । सभापतिको दोस्रो कार्यकालको उत्तरार्धमा आईपुग्दा उनले अभिभावकीय भूमिकामा रहने स्पष्ट संकेत गरे । केन्द्रीय समिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेसँगै देउवा अभिभावकीय भूमिकामा हुने धेरैको विश्लेषण थियो ।

त्यसैदिन अनलाइनखबरसँग प्रतिक्रिया दिँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भनेका थिए,‘१५ औं महाधिवशेनसम्म अभिभावकीय भूमिकामा उहाँ रहनुहुन्छ । पार्टीलाई परेका चुनौतीहरूको सामना गर्नुहुन्छ । अब पार्टीको कार्यकारी भूमिकामा पूर्णबहादुर खड्का रहनुहुन्छ ।’

उपचारका लागि सिंगापुर जाने निश्चित गरेका देउवा सक्रिय राजनीति नफर्कनेमा सबै नेताहरु ढुक्क थिए । १० कात्तिकमा पत्नी आरजु राणा सहित सिंगापुर गएका देउवा २८ कात्तिक स्वदेश फर्के । देउवा सिंगापुर जानुअघि र फर्केको केही दिनसम्म केन्द्रीय समितिको बैठक अनिर्णयको बन्दी बनेको थियो । चुनावअघि महाधिवशेन गर्नुपर्ने र गर्नै नहुने विचारले पार्टी ध्रुवीकृत भएको थियो ।

संस्थापनका शीर्ष तहका नेताहरु चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्न नहुने पक्षमा अडान राखे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नियमित महाधिवेशन सम्भव नभए विशेष गर्नुपर्ने अडान राखिराखे ।

मंसिरको पहिलो सातादेखि देउवाले आफ्नो अभिभावकीय भूमिका छोडिसकेका थिए । केन्द्रीय समितिले निर्णय लिन नसकिरहेको बेला शीर्ष तहका नेताहरु बोलाउँदै छलफल गर्न देउवाले सुरु गरे । देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे अवधि मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र त्यस समयमा सम्भव नहुने हो भने विशेष गर्नुपर्ने दुई महामन्त्रीको जोड थियो ।

१५ मंसिरअघि लगातार चार दिन देउवाले शीर्ष तहका नेताहरुलाई महाराजगञ्जस्थित निवासमा बोलाएर छलफल गरे । कार्यवाहक सभापति सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन–विश्वप्रकाश, संस्थापनइतरका नेता डा.शेखर कोइराला, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायत निरन्तर छलफल गरे ।

देउवा सक्रिय भएकै कारण चुनावअघि महााधिवेशनको शब्द सुन्नै नचाहने नेताहरु निधि, सिटौला लगायत कार्यतालिका लागि सहमत भए । पुस २६ देखि २८ मंसिरमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका १५ मंसिरको केन्द्रीय समितिबाट पारित गरियो ।

विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको कार्यतालिकालाई शंकाको दृष्टिकोणले हेर्‍यौं । विशेष महाधिवेशन पक्षधरले कार्यतालिकालाई शंकाको लाभ दियो । पूर्वनिर्धारित समय अनुसार कार्यतालिका कार्यान्वयन हुन विशेष महाधिवेशनको मुद्दा पुनः उठ्न थाल्यो ।

नियमितका लागि कार्यतालिका सार्वजनिक भइसकेको हुँदा विशेषको औचित्यता १५ मंसिरमै सकिएको कार्यसम्पादन समितिमा बहुमतको आधारमा निर्णय गरियो ।

२८ कात्तिकमा सिंगापुरबाट फर्केपछि देउवा केन्द्रीय कार्यालय गएका छैनन् । पार्टी बैठकमा उपस्थित नभएपनि निर्णय अघि देउवाको स्विकृति लिन कार्यवाहक सभापति खड्का उनको निवास महाराजगञ्ज गइरहनु पर्ने बाध्यतामा रहेको कांग्रेस नेताहरु बताउँछन् ।

पार्टीको आन्तरिक जीवनमा सक्रिय भएका देउवा अन्तरपार्टी संवादमा समेत पुरानै लयमा फर्केका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले दुईपटक भेटघाट गरे ।

पार्टी बैठकमा सहभागी नहुने देउवा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा भने शितलनिवास र बालुवाटार पुगे । सभापति देउवा सक्रिय हुँदैनन् भन्ने बुझाईलाई देउवाले पार्टी र बाहिरको गतिविधिले गलत सावित गरिदिएका छन् ।

आफूलाई सक्रिय राजनीतिबाट टाढा राख्ने निधो गरेका देउवा पुरानै लयमा फर्केपछि विशेष महाधिवेशन पक्षधर थप शंसकित बन्यो । पार्टी पुर्नगठन सहित चुनावमा जानुपर्ने अडानमा रहेका दुई महामन्त्री गगन–विश्वप्रकाश सभापति देउवासँग थप चिढाउने कार्य एमालेसँगको चुनावी तालमेल गर्ने भित्रि तयारीबाट भयो ।

संस्थापनले औचित्यहीन भनेको विशेष महाधिवेशन पक्षधरले देउवाको बहिर्गमनलाई प्रमुख शर्त बनायो । २७ पुसदेखि विशेष महाधिवेशन सुरु भएपछि भएका त्रिपक्षीय वार्ता सहमति हुन नसक्नुमा प्रमुख कारण यही बन्यो ।

विशेष महाधिवेशनबाट पार्टी विभाजित हुन नदिन यो वीचमा त्रिपक्षीय वार्ता टोली गठन गरियो । संस्थापन पक्षबाट नेताहरु रमेश लेखक र बालकृष्ण खाँण, विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षबाट नेताहरु जीवन परियार र डा. मिनेन्द्र रिजालले मंगलबार दुई चरणमा संवाद गरे ।

मूल विषय सभापति देउवा सक्रिय राजनीतिबाट विदा लिनुपर्ने एजेण्डामा सहमति जुट्न सकेन । विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, महामन्त्रीद्धयले प्रस्ताव गरेको प्रतिवेदनलाई पार्टीको पुँजीको रुपमा स्विकार गर्नुपर्ने, एमालेसँग चुनावी गठबन्धन गर्न नहुने लगायतका एजेण्डामा मोटामोटी सहमति जुटेको थियो । तीन पक्षका वार्ता टोलीमा मुख्य अड्किएको विषय बन्यो–देउवा कार्यकारी पदबाट बाहिरिनु पर्ने ।

विशेष महाधिवेशन पक्षका वार्ता टोलीका नेता प्रदीप पौडेलका अनुसार देउवाले सक्रिय राजनीति छोडेर चुनाव केन्द्रीय उच्च स्तरीय संयन्त्र बनाउन सकिने विकल्प पनि संस्थापनलाई दिइएको थियो । देउवाले कार्यकारी भूमिका छोड्न वार्ता टोलीले निर्णय लिन नसक्ने भन्दै संस्थापनका नेताहरु लेखक र खाँण सभापति देउवालाई भेटेर निर्णय लिने जानकारी गराएका थिए ।

तर, मंगलबार राति देउवा भेट्न गएका उनीहरु वार्ताका लागि फर्केनन् । नेता लेखकले सभापति कार्यकारी भूमिकाबाट बाहिरिन नचाहेको सन्देश पठाएका थिए । आसन्न प्रतिनिधि सभाका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न नहुने मागका सभापति देउवा सकारात्मक बनेका छन् ।

समानुपातिक र राष्ट्रिय सभा उम्मेदवारका लागि देउवाले गरेको हस्ताक्षर गरेका छन् । प्रतिनिधि सभाका उम्मेदवारको टिकटमा सभापतिले हस्ताक्षर नगर्न तयार रहेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । कानुनी समस्या नहुने भए अरु कोहीले हस्ताक्षर गर्ने गरी निर्णय लिएपनि आफू तयार रहेको देउवाले बताएको महतले सुनाए ।

कार्यदलबाट सहमति जुट्न नसकेपछि एकता कायम राख्ने प्रयासका लागि दुई पक्षका शीर्ष तहका बुधबार बिहान छलफल भएको थियो । सभापति देउवा र दुई महामन्त्री गगन–विश्व वीचमा बिहान भएको छलफल सकरात्मक नभएपछि विशेष महाधिवेशन पक्षले निर्वाचनको कार्यलाई तिव्रता दिएको छ ।

वार्तामा थप नेताहरुमा प्रकाशशरण महत, बालकृष्ण खाँण र डा. मिनेन्द्र रिजाल सहभागी थिए । सभापति देउवा संरक्षक भएर बस्नुपर्ने दुई महामन्त्रीको प्रस्तावलाई देउवाले अस्विकार गरेका थिए । प्रवक्ता महतले सभापतिलाई संरक्षक भएर बस्नुपर्ने प्रस्ताव दुई महामन्त्रीले राखेको स्वीकारे ।

विशेष महाधिवेशन पक्षका अगुवा नेता मधु आचार्यले भने,‘वार्ता टोलीमा भएको सहमति भन्दा पनि पछि हट्ने सभापतिको कुरा सुनेपछि महामन्त्रीहरु निस्किनु भयो ।’ विशेष पक्षधरले सभापति देउवाले चुनाव लड्न नपाउने माग भने नराखेको प्रवक्ता महतले जानकारी गराएका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?