+
+
Shares

फुट्यो कांग्रेस

देउवा पद छोड्न तयार नभएपछि नेपाली कांग्रेस फुटेको छ ।

केशव सावद केशव सावद
२०८२ पुष ३० गते १६:३६

३० पुस, काठमाडौं । नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँचवर्षको लागि कारबाही गरेको छ ।

यता विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए । तर देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको छ ।

कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको हो ।

कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ । पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए । ‘मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो,’ थापाले भने ।

कांग्रेसको देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा अहिले विशेष महाधिवेशन गर्न नसक्ने अडान राख्दै आएको थियो । नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरेको थियो ।  तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूंले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए ।

तर नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुननसक्ने भन्दै संस्थापन पक्षले अडान लिएको थियो । विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमा  व्यवस्था भएकाले यसलाई नजरअन्दाज गर्न नहुने अडान राखेका  थिए ।

विशेष महाधिवेशन पक्षधरहरूले  पुस २८ भित्र महाधिवेशन बोलाउनका लागि दिएको निवेदनको समयसीमा सकिने भएकाले जसरी पनि महाधिवेशन गरेरै छाड्ने अडान  लिए । त्यो अडान अनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्यो । महाधिवेशन चलिरहँदा पनि  पार्टीलाई विभाजनबाट जोगाउनका लागि भन्दै पटकपटक वार्ताका प्रयास भए ।  दुवै पक्षले वार्ता टोली बनाएर आफ्ना सन्देश आदानप्रदान गरे । तर दुवै पक्ष अडान नछोड्दा पार्टी विभाजनमा पुगेको हो  ।

 

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?