News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको समूहले पार्टीमा नयाँ पुनर्जागरणको युग सुरु गरेको छ।
- गगन थापाले पार्टीको वैचारिक पक्षमा समाजवादबाट मुक्त उदारवादी राजनीतिक दर्शन अपनाउने प्रतिबद्धता जनाएका छन्।
- विशेष महाधिवेशनपछि गगन थापा लगायत तीन नेतालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको छ र दल विभाजन औपचारिक घोषणा गरिएको छ।
अघिल्लो साता यसै स्तम्भमा मैले नेपाली कांग्रेस कसरी प्रजापरिषद्को बाटोमा जान सक्छ भनेर आफ्नो मत राखेको थिएँ। यसैबीच मूलतः जागरुक युवा कांग्रेसहरूले आयोजना गरेको विशेष महाधिवेशन पछि उक्त पार्टीमा नयाँ पुनर्जागरणको युग आउँदै गरेको संकेत देखिन्छ।
लामो समयदेखि विवाद, आलोचना र आकर्षणको एउटा केन्द्रका रूपमा रहेका युवा नेता गगन थापा नेतृत्वको समूहले नयाँ कांग्रेस निर्माणको अभिभारा आफ्नो काँधमा लिएको छ। यसले नेपाली राजनीतिका पछिल्ला कतिपय संकथनलाई बदलेको छ र बदल्ने छ। आजको आलेखमा यसका अर्थ र प्रभावका आयामबारे प्रारम्भिक चर्चा गरिने छ।
नवजागरणको उद्घोष
मंसिर २७ गते भृकुटीमण्डपको एउटा खुला सभामा जे हुँदैथियो, त्यसले नेपालको राजनीतिक इतिहासको एउटा अध्यायको पाना सकिएर अर्को अध्याय सुरु भएको जनाउ घण्टी बजाइरहेको थियो। कांग्रेस इतिहासको पहिलो विशेष महाधिवेशनका सहभागी वृद्ध नेता ओमकार श्रेष्ठ र पहिले नाम नसुनिएकी जेनजी पुस्ताकी करुणा कटुवालसम्मले राजनीतिको रंगमञ्चमा अर्को पर्दा उघ्रँदै गरेको र नयाँ पात्रहरू प्रवेश गर्दै गरेको सूचना दिन्थे। त्यो थियो नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र। यसले कांग्रेसको अनुहारमा लागेको धुलो टक्टकाउने र मूर्च्छित पार्टीलाई जीवन दिने नयाँ प्रयास गरिरहेको थियो।
समकालीन नेपाली राजनीतिमा दुई पटक नेतृत्व परिवर्तनको लागि ठूलो आवाज उठेको छ। पहिलो पटक २०५७ देखि २०६१ सम्म यस्तो आवाज उठेको थियो। गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोविन्दराज जोशी, कृष्णप्रसाद भट्टराई, कमल थापा, सूर्यबहादुर थापा, वामदेव गौतम र केपी ओली तथा केही मधेशी नेताहरू आम मान्छेको निशानामा थिए। आर्थिक उदारीकरणका नकारात्मक झट्काहरूको प्रभाव, कांग्रेसले आरम्भ गरेर निरन्तरता पाएको दलीयकरणमाथिको आक्रोश र ‘३६ से’ प्रकरण यसका आरम्भिक विन्दु थिए, जसले निराशा र आक्रोश जन्माइदिएका थिए।
गणेशमानको विद्रोह, कृष्णप्रसाद भट्टराईमाथि गिरिजाले गरेको ज्यादती र अपमान, देउवाले आफ्नो कुर्सी बचाउन प्रयोग गरेको सांसद खरिद-बिक्री, बैंकक प्रकरण, प्राडो-पजेरो काण्डले कांग्रेसलाई बदनाम गराएका थिए। सुरासुन्दरी काण्डमा एमाले पनि चर्चामा थियो। एमाले र कांग्रेस बीच पञ्चायती नेताहरूलाई शिरमा राखेर पुज्न भएको प्रतिस्पर्धा तथा माओवादीको बढ्दो गतिविधिबाट समेत प्रभावित आम नागरिकले राजनीतिक दलको नेतृत्व परिवर्तनको माग गर्न थालेका थिए।
नेताहरू बदनाम भएकाले ज्ञानेन्द्र विरोधी आन्दोलनका समयमा सात दलको अपिलमा सात सय मानिस उपस्थित नहुने अवस्था आएको थियो। तर ज्ञानेन्द्रले अधिनायकवादी शासनको अभ्यास गर्न थालेपछिको समयमा भने आम नागरिकले सुध्रन चेतावनी दिंदै उनै नेताहरूलाई स्वीकार गरे र जनआन्दोलनमा सामेल भए। संकटकालको अन्त्य, हिंसाबाट मुक्ति र गणतन्त्रको स्थापनाका शर्तमा नागरिकले त्यतिबेलाका नेताहरूलाई माफी दिएका थिए। नेताहरूको सत्तामोह र कुशासनको बाङ्गो पुच्छर भने २०६३ पछि पनि सोझिएन।
यो माग दोस्रो पटक २०७७ मा तत्कालीन नेकपामा देखिएको विभाजन र सत्तासंघर्षका क्रममा फेरि बलियो भएर आयो। दुई-दुई पटक संसद् विघटन, संविधानको स्वार्थपूर्ण झेली व्याख्या, संवैधानिक निकायहरू र न्यायालयको समेत दुरुपयोगको चर्चा र कुशासनका कारण त्यसयता खासगरी एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम सहित पुरानो पुस्ताको नेतृत्व परिवर्तनको आवाज जोडदार रूपमा उठ्न थालेको थियो। यसलाई उनीहरूका बीच चलेको गठबन्धनहरू बन्ने-भत्कने ‘म्युजिकल चेयर’को खेलले थप उकास्ने काम गरेको थियो।
आरम्भमा यसलाई युवाहरूको सक्रियतामा काठमाडौं महानगरको निर्वाचनमा बालेन शाहको पक्षमा व्यक्त जनमतले ठोस अभिव्यक्ति दिएको थियो। लगत्तै संसदीय निर्वाचनमा रास्वपाले ल्याएको अनपेक्षित मत र पाएको समर्थनमा पनि यही आक्रोश र निराशा व्यक्त भएको थियो। तर कांग्रेस, एमाले र माओवादीले समयको यो चापलाई बुझ्न ढिलो गर्दै गए। पछिल्लो संसदीय निर्वाचनपछि थप वाक्क लाग्दा खेलहरू खेलिए। त्यसप्रतिको आक्रोशको चरम अभिव्यक्ति भदौ २३ र २४ का दिनहरूमा सडकमा व्यक्त भयो।
यसका पछाडि लुकेर गरिएको लुटपाट र ध्वंसको आलोचना गर्दै गर्दा सडकमा उत्रेका लाखौं नरनारीको असन्तोष कसका कारणले सिर्जिएको थियो र कसप्रति लक्षित थियो भन्ने बिर्सनु कृतघ्नता ठहरिन्छ। प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन दुई ठूला दलको गठबन्धनको सरकार र कांग्रेस तथा एमालेको नेतृत्व यसका लागि मुख्य जिम्मेवार थियो र २३ गतेको बर्बर गोली प्रहार तथा युवाहरूको हत्याको लागि पनि यही पक्ष दोषी थियो (इतिहासमा यो रगतको अक्षरले लेखिइसकेको छ)।
तर त्यसपछि पनि न केपी ओली न त एमाले, न शेरबहादुर न त कांग्रेसले इतिहासमा आफूले गरेको गल्ती स्वीकार गरे। गगनहरूको विद्रोहलाई त्यही सन्दर्भमा लिनुपर्छ, जसलाई उनीहरूले विशेष महाधिवेशनका प्रतिनिधि समक्ष पेश गरेका दस्तावेज र प्रस्तावहरूले मुखरित गरेका छन्। गगनहरूले गरेको यो विद्रोहलाई इतिहासले समय चेतना अनुसार गरेको हस्तक्षेपका अर्थमा लिनेछ र त्यसलाई गलत साबित गर्ने प्रयासहरू किनारामा धकेलिने छन्।
यो विद्रोह यही जटिल घुम्तीमा पुग्दा पनि नगरेको भए गगनहरूको पनि समय सकिने थियो, फेरि नफर्कने गरी। गगनहरू सकिएर देशलाई के नोक्सान हुन्थ्यो या हुन्नथ्यो अलग हिसाबको विषय हो तर देउवाहरूको नेतृत्व कायम रहँदा देश थप बर्बादी र थप उग्र भदौ २४ का शृङ्खलाबद्ध पुनरावृत्तितिर जाने निश्चित थियो, छ। यस मानेमा गगनहरूलाई यो विद्रोहका लागि बधाई दिनुपर्छ।
विशेष महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित हुँदै गर्दा संस्थापन पक्षले उनी सहित अर्का नेता विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको छ र दल विभाजनको औपचारिक घोषणा गरेको छ। कानुनी प्रश्नहरूको निरुपण निर्वाचन आयोग र अदालतले नै गर्लान् तर राजनीतिक वैधानिकता विशेष महाधिवेशन पक्षमा रहने छ।
गगनको वैचारिक पक्ष
गगन थापा नेपाली राजनीतिका नयाँ पात्र होइनन्; अहिले आफूलाई प्रमाणित गरेका मात्र हुन्। नेतृत्व विरुद्धको विद्रोहपछि नवीकृत भएका हुन्। नेविसंघको महामन्त्रीका रूपमा युवा विद्यार्थीमाझ आफ्नो परिचय बनाएका गगनको सार्वजनिक राजनीतिक छवि नरहरि आचार्य र कृष्ण खनालहरूसँगै तत्कालीन राजनीतिक प्रश्नहरूको बारेमा लिएका अडानबाट भएको हो।
उतिबेला गिरिजाप्रसाद कोइरालाले गुरु घिमिरे समेत यिनलाई गणतन्त्रका पक्षमा आवाज उठाएकोमा निलम्बन गरेका थिए। प्रतिगमन विरोधी आन्दोलनका उनी एक जना ‘पोस्टर ब्वाई’ थिए। उनको स्पष्ट विचार र भिन्न युवा व्यक्तित्वका कारण मिडियाले पनि उनलाई हाईहाई गरेको थियो।
यिनले त्यसयता कांग्रेसको नयाँ पुस्ताको शक्तिशाली प्रतिभाका रूपमा आफ्नो छवि बनाइरहेकै थिए। यतिबेला, जेनजी आन्दोलनका आधारभूत प्रश्नहरूप्रति समर्थन जनाउँदै आफ्नो दलका तर्फबाट भए-गरेका गल्ती स्वीकार गर्न तयार भएर उनले एउटा विद्रोही, एउटा विचारशील र समयको चाप बुझ्न सक्ने नेताको छवि बनाएका छन्। उनका राजनीतिक मान्यता र कतिपय शैली तथा खास मुद्दामा उनले लिने अडानमा विमति राख्न त सकिन्छ तर अहिलेको नेपालका राजनीतिज्ञहरूमा उनी एक जना अब्बल सम्भावना बोकेका नेता हुन् भन्ने कुरामा विमति राख्न सकिन्न।
यसपालि गगनले उठाएको जोखिमले उनको उचाइ मात्र उठाएको छैन, बरू यसले कांग्रेसमा नयाँ पुनर्जागरणको युग ल्याउने छ। यसका दूरगामी प्रभावहरू लामो समय नेपालले अनुभव गर्नेछ। महाधिवेशनमा पेश गरेको प्रतिवेदन हेर्दा उनले आफूलाई सनातनी कांग्रेस भन्दा खासै भिन्न नदेखाउन खोजे पनि पार्टीको चौधौं महाधिवेशनबाट नै गगनले आफूलाई बीपीको वैचारिक लिगेसीबाट मुक्त गर्ने प्रयास गरेका हुन्। उनले बीपीसँग गर्न खोजेको ‘डिपार्चर’ चाहिं समाजवादबाट मुक्त कांग्रेसको खोजी हो। सामाजिक न्यायसहित सामाजिक प्रजातन्त्रलाई उनले आफ्नो गन्तव्य बनाउन चाहेका छन्।
यसको अर्थ उनी उदारवादी राजनीतिक दर्शनको पक्षमा छन् भन्ने लाग्छ। मार्क्सवादबाट ‘डिभोर्स’ खोजेका छन्। यसले नेपालमा भल्गर हुँदै र क्लिसे बन्दै गएको र स्वयं कांग्रेसका लागि बोझ बनेको ‘प्रजातान्त्रिक समाजवाद’माथि न्याय गर्नेछ।
लोकतन्त्र र बहुलवादप्रति प्रतिबद्धता, प्रचलित लोकतन्त्रलाई थप उदार (लिबरल), थप उन्नत र समावेशी तथा डेलिभरी दिने लोकतन्त्रका रूपमा विकसित र रूपान्तरित गर्ने प्रतिबद्धता उनले गरेका छन्। संवैधानिक उदारवाद, बहुलवाद र समावेशीकरणलाई उनले जोड दिएका छन्। यसले नेपाललाई बहुसंस्कृति र विविधतायुक्त समाजका रूपमा स्वीकार गर्दै त्यसको प्रतिविम्ब राज्यका निकाय र संवैधानिक राजनीतिक अङ्गहरूमा हुनेछ भन्ने स्पष्ट व्याख्या खोज्छ।
यसरी मात्र नेपाललाई गतिशील लोकतन्त्रमा लैजान सकिन्छ। उनले बहुलवाद र धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याएका छन्। यी प्रतिबद्धताहरूले उनलाई नेपालको राजनीतिमा उदारवादी खेमाको नेताका रूपमा उभ्याउने छ। यसले कम्युनिस्टहरूसँग स्पष्ट वैचारिक भिन्नता र ध्रुवीकरणको माग गर्छ।
गगनले अघि सारेको समाधान
दस्तावेज र प्रस्तावलाई आधार बनाएर हेर्दा गगनहरूले खासमा जेनजी आन्दोलनका मर्महरूलाई आत्मसात् गरेका छन् र स्वीकार गरेका छन्: हो हामीबाट गल्ती भएकै थियो, हामी आत्मालोचना गर्दै सच्चिने कसम खान्छौं।
यसो भनेको मूलतः शासकीय शैलीमा सुधार, कानुनको शासन, सत्तालिप्त मानसिकताबाट मुक्त नेतृत्वको खोजीलाई समर्थन गर्नु हो। नेपालभित्र सम्भावनाहरू छन् र हामी त्यसलाई सार्थक बनाउँछौं भनेर कसम खानु हो।
देउवा नेतृत्वको संस्थापन पक्षले गगनहरूलाई कारबाही गरेर र विशेष महाधिवेशन बोलाउनै पर्ने वैधानिक व्यवस्था अस्वीकार गरेर लोकतन्त्रमाथि ठट्टा गरेको मात्र होइन, भदौ २३ गते सडकमा बगेको नेपाली युवा-युवतीको रगतको अपमान गरेको हो। कांग्रेसको मुख्य नेतृत्व यसैमा चुकेको हो र समाजलाई निराशामा कैद गर्ने ध्वाँस दिएको हो। गगनले म नेपाली समाजको नेतृत्व गर्छु, नेपाली नागरिकका आकाङ्क्षाहरूको नेतृत्व गर्छु भनेर दाबी गरिरहँदा उनको सम्पूर्ण राजनीतिक व्यक्तित्वको स्वीकार्यता र वैधानिकता यसै उद्घोषमा अन्तर्निहित छ।
नेकपा एमालेको हालै सम्पन्न महाधिवेशन यस मामिलामा चुकेको छ र आफूलाई यथास्थितिवादको रक्षकका रूपमा उभ्याएको छ। म अचम्मित हुन्छु, मेरा सहकर्मी र नेता कमरेडहरू जो कठिन समयमा, किशोरवयमै विद्रोहको राँको बालेर समाज रूपान्तरणको पक्षमा हिंडेका थिए, यति छिटै समयभन्दा पछि फर्केर किन दौडिरहेका छन्? के सत्ताको लतले मान्छेलाई यति खराब बाटोमा लान्छ? इतिहास चेत भएका ऐतिहासिक भौतिकवादका अनुयायीहरू यसरी स्थिरता र जडताको पक्षमा कसरी उभिन सकेका? कसरी युवा विद्रोहलाई पञ्चायती दरबारको भाषा पैंचो मागेर विदेशी चलखेल भनेर दोषारोपण गर्न सकेका?
गगनले इतिहासका कमजोरीहरूको जिम्मेवारी लिएका छन्, माफी मागेका छन् र सारा युवाका आक्रोश र प्रश्नहरूको सामना गर्ने हिम्मत गरेका छन्। समयले खास अवस्थामा माग गर्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन्। गगनहरूको विद्रोहले देउवा युगको अन्त्य गर्नेछ। यससँगै सत्ता समीकरण, दलीयकरण, नागरिकहरूको अभिमतमाथि खेलबाड, डेलिभरीबाट विमुख, कुर्सीको खेलबाहेक अन्य कुरा नदेख्ने, गुट चलाउने डिमेन्सियाग्रस्त अटेरी नेतृत्वले बाटो छोड्न बाध्य हुनेछ।
अवश्य पनि यसले नेकपा र नेकपा एमाले जस्ता दलमा रूपान्तरण खोजिरहेका युवाहरूलाई प्रोत्साहित गर्नेछ। त्यसका परिणाम समयक्रममा देखिने छन्। राजनीतिमा जमेको फोहोर पोखरी खुलेर सफा हुने क्रम आरम्भ भएको छ।
कानुनी झमेला र निर्वाचन
यो विद्रोहलाई वैधानिकता दिनुपर्ने दुई वटा पक्ष भने अनिश्चित बनेका छन्। पहिलो, पार्टीको नाम, झन्डा र चुनाव चिह्नको स्वामित्वमा आजैबाट सुरु हुने कानुनी संघर्ष। गगन पुस्ताको विद्रोहबाट सीमान्तमा धकेलिएको र राजनीतिक वैधानिकता गुमाएको देउवा पक्ष निर्वाचन आयोगमा गएर प्राविधिक वैधता खोज्ने प्रयासमा लागेको छ। गगनलाई यो चुनौती चर्को पर्ने निश्चित छ।
अर्को वैधानिकता दिने भनेको निर्वाचनले हो। ६ दिन पछि नै प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार दाखिला गर्नुपर्ने भएकोले समय अत्यन्त कम छ। निर्वाचन आयोग २०७७ मा नेकपा विवादको समयमा जस्तो पक्षधरतामा फसेन भने मात्र यसले सहज निकास पाउने छ।
यो जटिलताले गगनहरूलाई केही मनोवैज्ञानिक दबाबमा धकेल्ने छ। उनीहरूले लामो बाटो तय गर्नुपर्ने सम्भावना पनि छ। अवश्य पनि यो स्थापनाकालीन कांग्रेस नेतृत्वले वैयक्तिक जीवनमा आइपर्ने कठिनाइ र जोखिम उठाउन गरेको साहस भन्दा अलि कम चुनौतीपूर्ण हुनेछ।
वर्गीय आधार र सम्भावित ध्रुवीकरण
पार्टीको वैधानिकता गगनको हातमा जानेछ भन्ने विश्वाससहित केही कुरा गरौं। अबको नेपाली कांग्रेस कुन वर्गमा आधारित हुनेछ? के यसले आम नेपाली नागरिकको साझा नेपाल, साझा समृद्धि, साझा उन्नयनको बाटो लिनेछ? या कुन वर्गको पक्षमा उभिनेछ? कसको सेवा गर्नेछ?
मूलतः मध्यम वर्गका मतदाताको शक्ति एमालेसँग सेयर गर्दै बुर्जुवा वर्गको सेवा गर्दै आएको पार्टी हो नेपाली कांग्रेस। यसले २०१५ सालमा बीपीको नेतृत्वमा लिएका नीतिहरू सामन्तवादको समाप्ति र पूँजीवादका लागि सहज बाटो बनाउनमा केन्द्रित थिए। भूमिसुधार तथा अन्य सामाजिक सुधारको पक्षमा उभिएको कांग्रेसका नीतिहरूलाई समाजवादी विचारधाराले प्रभावित गरिरहेका थिए।
२०४८ साल पछिको कांग्रेसले समाजवादबाट आफ्नो ध्यान हटायो र नवउदारीकरणका माध्यमबाट बुर्जुवा वर्गको उत्थानमा सहयोग गर्ने नीति अवलम्बन गर्न पुग्यो। मध्यम वर्गीय ग्रामीण मतदाता पनि कांग्रेसका साझा जनाधार भएकाले उसका नीतिले तल्लो वर्गको पक्षमा केही निर्णयहरू लिएको भए पनि मूलतः ठूलो बुर्जुवा वर्ग र दलाल पूँजीपति वर्गको सेवा कांग्रेसका नीतिहरूको सारमा थियो। ‘क्रोनीहरू’ कांग्रेस र एमालेका बीचमा विभाजित थिए, कतिपय त साझा पनि थिए। अरू वर्गका मतदातामा जस्तै ठूलो बुर्जुवा वर्गको ‘कन्स्टिच्युयन्सी’मा एमाले र कांग्रेसको तानातान छ।
भृकुटीमण्डपमा जम्मा भएका गैरसरकारी कांग्रेसीहरूलाई हेर्दा यो नेपालको सानो र मझौला पूँजीपति वर्गको पार्टी हो जस्तो देखिन्छ। पूँजीवादी उत्पादन प्रणालीसँग जोडिएको र त्यसका लागि पुरानो सामन्तवादी युगको उत्तराधिकारमा प्राप्त भूमिबाट उठेको (जागिर खाएर या व्यापार व्यवसाय गरेर) शहरिया पूँजीपति (बुर्जुवा) वर्ग र धनी किसान जगमा रहेको ग्रामीण उच्च मध्यम वर्ग नै कांग्रेसको जनाधार हो भन्ने मेरो अल्पसमयको अब्जर्भेसनको निष्कर्ष हो।
उदीयमान रास्वपाले पनि मूलतः उदारवादलाई नै आफ्नो मुख्य वैचारिक धार बनाएको सन्दर्भमा नेपालमा बुर्जुवा वर्गका दुई दलहरू बन्ने र बुर्जुवा वर्गका दुई समूहका बीच एउटै ‘स्पेस’का लागि प्रतिस्पर्धा हुने सम्भावना बढाइदिएको छ।
बुर्जुवा वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दै आएको तथा आफ्ना नीतिहरूका माध्यमबाट उपल्लो बुर्जुवा वर्गको उत्पादन पनि गर्दै आएको नेकपा एमाले यो प्रतिस्पर्धाबाट बाहिर धकेलिन सक्छ। आरम्भमा कांग्रेस, एमाले र रास्वपाका बीच यो वर्गको प्रतिनिधित्वका लागि प्रतिस्पर्धा हुनेछ। यसपटकको निर्वाचन पछि नेतृत्वमा दाबी गुमाउनेले ठुलो बुर्जुवा वर्गको समर्थन गुमाउनेछ।
धेरै सम्भावना के छ भने एमाले सानो हैसियतको उद्यम गरिखाने बुर्जुवा वर्ग र शहरिया मध्यम वर्ग तथा ग्रामीण एलिट र निम्न पूँजीपतिहरूको पार्टीमा बदलिने छ। विचारधारात्मक रूपमा आफ्नो भागमा परेको यो ग्राउन्ड अनुकूल नीति बनाउन सके एमालेले वामपन्थी राजनीतिको झन्डा फेरि बोक्न सक्थ्यो। यसो हुनसके देशको समग्र राजनीति विचारधारात्मक ध्रुवीकरणतिर लाग्न सक्छ। यो हाम्रो लोकतन्त्रको भविष्यका लागि पनि सकारात्मक नै हुनेथियो।
रूपान्तरणका लागि दबाब
गगनको नेतृत्वमा कांग्रेसले लिने नीतिले नेपालको राजनीतिलाई थप गतिशील बनाउने निश्चित छ। यसको दबाब अहिले नै एमाले, नेकपा र रास्वपा जस्ता दलमा पर्नेछ। निर्वाचनको मुखैमा कांग्रेसको नेतृत्वमा परिवर्तन आएको, यसले उक्त दललाई आन्तरिक रूपमा विभाजित गरिदिएको र विभाजित भएर चुनावमा जाने भएकोले निर्वाचनमा गगनको नेतृत्वबाट कांग्रेसले पर्याप्त फाइदा नउठाउन सक्छ।
कांग्रेसमा जुन पुनर्जागरण आएको छ र गगनप्रति गैरकांग्रेस सहित नागरिक समाजको जुन अपेक्षा छ, त्यसले कांग्रेसलाई नवजीवन दिनेछ। सँगै समाजमा एउटा आशावाद जगाउने अनुमान गरिएको छ। अन्ततः यसको बेनिफिट पनि कांग्रेसले ढिलोचाँडो हात पार्नेछ।
बासी संकथनको सहारा
पुस २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेका बेला भएका आन्तरिक भेटघाटमा देउवाले गगनहरूलाई बाह्य शक्तिले चलाइरहेको आक्षेप लगाएछन्। ‘हामी संकटमा छौं। पार्टी मात्र नभएर देश नै बचाउनुपर्नेछ। अरू नै शक्ति लागेको भए पार्टी फुट्छ, अन्यथा फुट्छ जस्तो लाग्दैन। अरू नै लागेका हुन् भने त के मिलाउलान् र!’
देउवाका अन्तरङ्ग बैठकका भनाइ भन्दै नयाँ पत्रिका दैनिकले लेखेको छ। यसको अर्थ गगनहरूको विद्रोहलाई विदेशी शक्तिकेन्द्रको चलखेलका रूपमा बदनाम गर्ने प्रयास हुनेछ।
यसले देखाउँछ देउवा निकै बासी भइसकेका ‘क्लिशे’ आक्षेपहरूका माध्यमबाट समाजको गतिशीलताले माग गरेको रूपान्तरणका आवाज र चेतनालाई रोक्न चाहन्छन्। यस्तै आरोप सामान्यतया वामपन्थी समूहहरूले भदौ २३ र २४ का घटनाका सन्दर्भमा लगाउने गरेका छन्।
सिनो भएको ठाउँमा औंसा हाल्न जताबाट पनि हरियो झिंगा आइहाल्छ नै। सिनो बेलैमा थान्को नलगाउँदा उत्पन्न हुने समस्याका लागि झिंगालाई दोष दिनु कत्ति पनि तर्कसंगत हुने छैन। आफूभित्रका भिन्न विचारलाई निषेध गर्ने यो पञ्चायती ओखतीले काम गर्न छाडेको धेरै भयो। म देउवा समूह र एमाले नेतृत्वलाई पनि आफ्ना कमजोरी छोप्न अरूलाई आरोपित गर्ने परम्पराबाट मुक्त हुन अनुरोध गर्छु। यदि कुनै शक्ति केन्द्र यसका पछि छ भन्ने प्रमाणित गर्न सक्ने भए खुलेर त्यसको विरोध गर्न सक्नुपर्छ।
विश्व राजनीतिमा आइरहेको र ल्याइँदै गरेका अनेक झन्झावातका सम्मुख उभिएका छौं हामी। इरान, भेनेजुएला अनेक अरू देशका घटना असामान्य अवस्थातिर संकेत गर्छन्। चुनौतीहरूसँग जुध्न गर्नुपर्ने पहिलो काम देशलाई एकताबद्ध पार्नु, युवाहरूमा आशावाद जगाउनु र आर्थिक रूपले समुन्नत बनाउनु हो। परीक्षित नेतृत्वबाट यस्तो अपेक्षा गर्नु मूर्खता मात्र हो।
जसले युवाहरूलाई विश्वास गर्दैन त्यसले अर्को कुनै तत्त्वलाई स्पेस खाली गरिदिनेछ। गगन र उनको पुस्ताले गरेको यो साहस र हस्तक्षेपका लागि उनीहरूलाई बधाई। नयाँ नेताका रूपमा गगनलाई बधाई तथा सफलताको लागि शुभकामना!
आफ्ना वैचारिक मान्यताका कारणले कांग्रेस र गगनका विचार र दृष्टिकोणमा मेरा असहमति छन् तर म उनलाई ‘बेनिफिट अफ डाउट’ दिन्छु। हामीले आशा गरिएका एक जना नेताबाट निराश हुनु नपरोस्!
प्रतिक्रिया 4