अस्ति मैले जोकैजोकमा भनेको थिएँ– कांग्रेसहरू यति अल्छी छन् कि यिनलाई त फुट्ने समेत जाँगर छैन। तर कांग्रेसहरूले मलाई गलत सावित गरे। आज ३० पुस बुधबारका दिन नेपालको सबैभन्दा ठूलो र पुरानो दल कांग्रेस फुटेको छ ।
इतिहासको संयोग यो छ कि, शेरबहादुर देउवा, जसले महाधिवेशन प्रतिनिधि र केन्द्रीय समिति दुवैतर्फ आफ्नो हात माथि नपर्दा समेत पार्टी फुटाउने दुस्साहस २०५९ सालमा गरेका थिए, तिनै देउवा सभापति रहेका बेला कांग्रेस फुट्यो ।
दुई महामन्त्रीहरूले कांग्रेसको बहुमतभन्दा बढी प्रतिनिधि संख्याको बलमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिरहेका छन् । त्यो चुनाव प्रक्रियामा गइरहेकै बेला एकसाथ देउवासँग वार्ता समेत चलिरहेको थियो। तर पार्टीभित्र सुधार र परिवर्तनका एजेन्डामाथि देउवा पक्ष अनुदार बन्दा कांग्रेसलाई यसको क्षति पुग्न गएको छ ।
यसको मुख्य जिम्मेवार चाहि शेरबहादुर देउवा, कावा सभापति पूर्णबहादुर खड्का र उनीसँग रहेका सात भाइ हुनेछन् ।
र कांग्रेसभित्र जमेर बसेको गिरोहतन्त्र भत्काउन एउटा विद्रोह चाहिएको नै थियो। त्यो गगनले मात्र गर्नुपर्छ वा गर्न सक्छन् भन्ने थिएन, त्यो जोकसैले आँटेको भए पनि हुनेथियो । तर कांग्रेसमा त्यो सम्भव नै भइरहेको थिएन। विद्रोह त के विद्रोहको शब्द मात्रै चुहाए पनि चुनावका टिकट, राजनीतिक नियुक्ति र अवसरहरू मिल्दै नमिल्ने ! अनि कसले बेकारमा गरिरहोस् विद्रोह ?
तर गगन थापाको साहस, अनि विश्वप्रकाश शर्माको दरिलो साथले नेपालको सबैभन्दा पुरानो र स्थापित राजनीतिक पार्टी कांग्रेसभित्र सुधार र परिवर्तनका आवाजहरूले निर्णायक घुम्ती पाएरै छाडे। नत्र त मान्छेहरू के भन्थे भने, यी गगन भनेका गन्गन मात्रै गरिबस्छन्, केही ठोस कदम चाहिं चाल्न सक्दैनन् ।
हुन पनि गगनलाई पार्टी महामन्त्रीका रूपमा कस्तो अप्ठेरो। सभापति शेरबहादुर देउवाले गरेका निर्णयलाई पूरै काट्न पनि नमिल्ने। बोकेर जाउँ भने बोक्नै नसकिने ।
यही द्विविधा बीच गुज्रँदा गुज्रँदा युवा र विद्रोही चेतना नै बिर्सुंला जस्तो गरी गगन थकित अनि क्लान्त सुनिंदै थिए। दुई वर्षअघि यिनले गाउँघर चहार्ने प्रयास थाले । एकपल्ट हामीसँग अनौपचारिक गफमा उनले भनेका थिए, काठमाडौंमै बसिराख्यो भने अगाडि जाने बाटो नै नपाए जस्तो हुन्छ। जब भुइँमा गएर समर्थक, कार्यकर्ता र नागरिकहरूलाई भेट्छु, मलाई अघि बढ्ने ऊर्जा त्यहाँबाट आउँछ ।

अब कांग्रेस विभाजित हुँदै गर्दा गगनलाई विशेष महाधिवेशनबाट सभापतिका रूपमा अघि बढ्ने बाटो खुला छ दुई महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरेले त्यस अुनसार काम थाल्नेछन् । विश्वप्रकाश शर्मा उच्च मूल्यांकनका भागीदार छन्, जसले पुस्ताका हिसाबले आफूभन्दा कनिष्ठ गगनलाई नि:शर्त रूपमा प्रधानमन्त्री र पार्टी सभापतिको उम्मेदवारका रूपमा अघि बढाउन तयार भए ।
र यो महाधिवेशन केवल कांग्रेसको आन्तरिक जीवनका लागि महत्वपूर्ण छैन, यसले नेपालका राजनीतिक पार्टीहरू, तिनको आन्तरिक जीवन, तिनको सञ्चालन प्रक्रिया समेतका लागि महत्वपूर्ण बहसको माग गर्नेछ। पार्टी कसैको बपौती होइन । निजी सम्पत्ति होइन । आम नागरिकले पनि कुनै पनि पार्टीको बारेमा बोल्न पाउँछन्, तिनका कार्यकर्ताको मात्रै पेवा होइन पार्टी। कांग्रेसले यो पुष्टि गरिदिएको छ ।
अब यो विभाजनले फागुन २१ को चुनावका लागि के असर पार्छ भन्ने धेरैको जिज्ञासा हुन सक्छ। यो विभाजनमा हेर्नुपर्ने पक्ष के छ भने भृकुटीमण्डपमा महाधिवेशन गर्ने पक्षसँग बहुसंख्यक कार्यकर्ता छन् भन्ने देखिन्छ । देउवा पक्षसँग मास लिडर लगभग बाँकी छैनन् । आगामी चुनावमा मतदातासामु हात जोड्दै भोट माग्ने अनुहार एकदमै कम छन् देउवा पक्षसँग। यता गगन, विश्व, प्रदीप, गुरु घिमिरे आदिको पल्टन खडा छ ।
अब यस्तो बेलामा समग्र चुनावी तयारी कति प्रभावित होला त ? निर्वाचन आयोगलाई आफ्नै खालको दबाब हुनेछ । कांग्रेसको झगडाले चुनावी प्रक्रिया प्रभावित पार्न हुँदैन भन्नेमा दुवै पक्ष जिम्मेवार हुनुपर्छ । यो चुनाव नियमित नभई विशेष खालकै चुनाव भएकाले कताकति यो राजनीतिक स्थिरतासँग पनि जोडिएको छ। त्यसकारण कांग्रेसलाई गैरजिम्मेवार भएर हर्कतहरू गर्ने छुट छैन ।
इतिहासमा कांग्रेसले संकटका बेला जिम्मेवारी देखाएको नजिर छ। र, यो विषय सरकारको पहल, अनि स्वयं निर्वाचन आयोगको पनि जिम्मेवारीको विषय हुनेछ । समानुपातिक सिटका लागि यसअघि नै बन्दसूची आयोगमा गइसकेका छन्। माघ ६ गते प्रत्यक्षतर्फको नाम फाइनल गर्नुपर्नेछ। अझ यो कांग्रेस फुटको विषय अदालत समेत जान सक्छ, जसलाई चाहे आयोगले, चाहे अदालतले आधिकारिकताको विषय रत्ति ढिलाइ नगरी टुंग्याउनुपर्छ । यसलाई आनन्दले पेशी सार्दै अघि बढाइयो भने देशलाई नोक्सानी बाहेक केही हुँदैन । कांग्रेसका दुईमध्ये कुनै एक पक्ष बाहिर राखेर चुनाव गरौंला भनेर आयोगले, अनि सरकारले पनि नठाने हुन्छ ।

कांग्रेसमा गगनले उठाएको रूपान्तरणको एजेन्डा आजदेखिको होइन । यसअघिका प्रत्येक महाधिवेशन वा बैठकहरूमा उनले आफ्ना गर्जनहरू पेश गर्दै आएका छन् । त्यसैले आवरणमा यो कांग्रेसको आन्तरिक कुरा देखिए पनि नेपालको पुस्तासँग जोडिएको विषय हो। यो विभाजन दुइटा नेताको पदीय झगडा मात्रै होइन, जहाँ शेखर कोइरालाले बीचमा घुसेर ६०–४० को बार्गेनिङ गर्न सकुन् । उनले त आफ्नो बचेखुचेको राजनीतिक उपादेयता नै दाउमा राखिदिएका छन् ।
सरकारले वा निर्वाचन आयोगले यसलाई देखाएर समेत चुनाव सार्ने बहाना बनाउनुहुँदैन। हरेकका रुचि र स्वार्थ अुनसार चुनावको तिथि तोक्न सकिंदैन। देशको अस्थिरताका लागि फुटका दुवै पक्ष जिम्मेवार हुनेछन् ।
मौजुदा कानुनहरूले के भन्छन् भन्दा पनि जेनजीको भावनाले के भन्छ भन्नेमा समेत ध्यान दिनुपर्छ। हामी प्राविधिक कुरा गरेर समय कटाउने सुविधा सहुलियतमा छैनौं । नत्र यहाँ त यसोउसो बहाना देखाएर चुनाव बहिष्कार इधरउधर गर्ने चलन छ। यहाँ त वैज्ञानिक समाजवादी पार्टीका आहुतिलाई समेत के निहुँ देखाउँ र चुनाव बहिष्कार गरुँ भन्ने शास्त्रीय बहाना चाहिएको छ ।
अब लामो कुरा नगरुँ, आज हतारमै एस्प्रेसो सट तयार छ। निर्वाचन आयोगले कांग्रेस विवादको कुनै पक्ष लिनै परेन। केवल संवैधानिक नजिर, राजनीतिक दल सम्बन्धी ऐन, व्यवस्था हेरे पुगिहाल्यो ।
कांग्रेस विशेष महाधिवेशनमा देशैभरिका कार्यकर्ता आएका छन् । माओवादी युद्धकालमा आँखा गुमाएका व्यक्तिदेखि अनेक संवेदना जोडिएका भुइँमान्छेलाई एकठाउँ जुटाएर भृकृटीमण्डपमा ल्याउने कार्यकर्ताहरू सामान्य त हुँदै होइनन् ।
उता देउवा पक्षले आफूसँग केन्द्रीय समितिको बहुमत छ भनिरहेको छ, त्यसको विधिवत् निर्क्योल गरिनुपर्छ । कुनै पक्षलाई बाहिर राखेर होइन, समेटेर चुनावतर्फ लैजाने विधिसम्मत बाटो खोज्नुपर्छ। र, निर्धारित मिति अर्थात् फागुनमै चुनाव गराउने बाटोतर्फ सरकार, निर्वाचन आयोग र सबै दलहरू लाग्नुपर्छ ।
प्रतिक्रिया 4