+
+
Shares

कांग्रेसमा ‘जेन-एक्स’ विद्रोह

जेनजी आन्दोलनले ल्याएको मुलुकको राजनीतिक चेतनामा आएको परिवर्तनको बलमा गगन थापा-विश्वप्रकाश शर्माहरूको ‘जेन-एक्स’ पुस्ताले कांग्रेस भित्र विद्रोह गरेको छ । यो विद्रोहले जेजनी आन्दोलनले औचित्यहीन बनाइसकेका बेबी-बुमर्स पुस्ताका शेरबहादुर देउवाले लिँदै आएको नीति नै बदलेको छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ पुष ३० गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ को जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई शासकीय सत्ताबाट बहिर्गमन गरायो।
  • कांग्रेसको विशेष महाधिवेशनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेका संरचनात्मक सुधार प्रस्ताव पारित गर्‍यो।
  • महाधिवेशनले कांग्रेसमा नेतृत्व दोहोर्याएर नबस्ने, प्राइमरी निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने निर्णय गर्‍यो।

३० पुस, काठमाडौं । भदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा ।

भदौ २४ गते प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट नेपाली सेनाले रेस्क्यु नै गरेर बाहिर लैजानुपर्‍यो । त्यस दिन कांग्रेस सभापति देउवा र उनकी श्रीमती आरजु राणा बुढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमणमा परे ।

पटक- पटक नेतृत्वमा बसेको तर शासकीय अभ्यासमा सुधार ल्याउन नसकेका व्यक्तिको रूपमा यी दुई पात्रमाथि नागरिक आक्रोश चुलिएको थियो । त्यसैले जेनजी आन्दोलनकारीको भौतिक आक्रमणको निशानामा देउवा परे ।

जेनजी आन्दोलनले देउवा र ओलीलाई तत्कालीन शासकीय सत्ताबाट बहिर्गमन गरायो । यही बहिर्गमनपछि दुवै दल भित्र नेतृत्व परिवर्तनको बहस चलेको थियो । यो बहसमा दुवै दल भित्रका ‘जेनरेसन-एक्स’ पुस्ता अग्रपंक्तिमा थिए । यही बहसका कारण एमालेमा महाधिवेशन नै भयो । महाधिवेशनबाट ओली पुन: अनुमोदित भए । त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्ष कमजोर देखिए । नेतृत्व फेर्न सकेनन् ।

यता, कांग्रेसमा भने नेतृत्व परिवर्तनको मागलाई महाधिवेशसम्म लैजाने इच्छा देउवाले देखाउँदै देखाएनन् । बरु कार्यबाहक सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई दिएर पार्टीको कार्यकारी काम चाहिँ आफैंले गर्दै बसे ।

बरु महाधिवेशन पर धकेलेर चुनावपछि मात्र नेतृत्व बदल्ने अडान लिए । जसका विरुद्ध पार्टी भित्र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायत ‘जेनरेसन-एक्स’ का नेताहरूले विशेष महाधिवेशन गर्नुपर्ने माग राखे । पार्टीको वैधानिक विधि प्रयोग गरेर गरिएको माग पूरा नगरेपछि यो जेन-एक्सले पार्टी भित्र विद्रोह गरेको छ ।

त्यही विद्रोहको बलमा कांग्रेसको विशेष महाधिवेशन भएको छ । चार दिनसम्म चलेको विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व बदल्दै छ ।

जेनजी आन्दोलनले देउवा समेत संलग्न रहेको राजकीय सत्ता ढल्यो । अहिले पार्टी भित्रको जेन-एक्स विद्रोहले कांग्रेस भित्रको उनको एकतन्त्रीय सत्ता ढलेको छ । अब देउवा कांग्रेसको एउटा पक्षको मात्र नेताको रूपमा रहने छन् ।

महामन्त्री थापा र शर्मा जेन-एक्स पुस्ताका नेताहरूको निर्णायक हस्तक्षेपले पार्टी भित्रको पुरानो शक्ति सन्तुलनलाई मात्र हल्लाएन, कांग्रेसको भविष्य कुन दिशामा जान्छ स्पष्ट खाका पनि महाधिवेशनबाट ल्याइदियो ।

यो विशेष महाधिवेशन शेरबहादुर देउवाको विकल्प खोज्ने प्रयासको रूपमा मात्र थिएन कांग्रेस भित्र पुस्तान्तरण, राजनीतिक चेतना र नेतृत्व संस्कारबीचको ऐतिहासिक टकराव थियो । तर यसलाई देउवा पक्षले नेतृत्व बदल्ने एउटा गुटको कोसिसको रूपमा मात्र बुझ्यो । जुन बुझाइका कारण कांग्रेस सग्लो रहेन ।

शेरबहादुर देउवाको नेतृत्व विगत तीन दशकदेखि विवाद, सम्झौता र यथास्थितिवादको पर्याय थियो । दुई पटक पार्टी सभापति र ५ पटक प्रधानमन्त्री बने पनि उनले कांग्रेसलाई वैचारिक रूपमा न स्पष्ट दिशा दिन सकेका थिए, न त संस्थागत रूपमा बलियो बनाउन ।

सत्ता राजनीतिमा टिकिरहने देउवाको शैलीले तत्कालीन राजनीतिक लाभ त दिलायो, तर पार्टी भित्र आन्तरिक लोकतन्त्र, नेतृत्व विकास र नीतिगत बहस क्रमशः कमजोर बन्दै गएको थियो । त्यसैले गगन थापा लगायतको नयाँ पुस्ताले यो रुचाएन ।

पछिल्ला निर्वाचन परिणामहरूले कांग्रेसको खास भोटको जनाधार खुम्चिँदै गएको थियो । कम्युनिस्टहरूसँग गठबन्धन गर्दा कांग्रेसका समर्थकहरूको मत ‘ककटेल’ भइसकेको थियो । देउवा र उनको कोटरी आत्मालोचना गर्नुभन्दा गुट व्यवस्थापन र सत्ता समीकरणमै समय खर्च गरिरह्यो । यही कारण जेनजी पुस्ताले उठाएको पारदर्शिता, जवाफदेहिता र परिवर्तनको माग देउवा नेतृत्वका लागि असहज भइरह्यो ।

पार्टी भित्र जेन-एक्स पुस्ताको यही असन्तुष्टिको गर्भबाट विशेष महाधिवेशन जन्मिएको हो । महाधिवेशनले महामन्त्री थापा र शर्माले अघि सारेका संरचनात्मक सुधारका प्रस्तावहरू पारित गरेको छ । यी प्रस्तावहरू पुरानो इतिहासलाई समेत समेट्दै र अहिलेको जेनजी पुस्ताका मागहरूलाई सम्बोधन गर्ने खालका छन् ।

विशेष महाधिवेशनबाट पारित प्रस्तावहरूले कांग्रेस अब पुरानै ढर्रामा चल्न सक्दैन भन्ने सन्देश दिएका छन् ।

पार्टी भित्र अब गुटको गोटी बन्दा मात्र नेता भइन्छ भन्ने मान्यता महाधिवेशनबाट पारित दस्तावेजहरूले खण्डित गरेका छन् ।

पार्टी भित्र अब तल्लो तहबाटै प्राइमरी निर्वाचनमार्फत चयन भएर माथि आउनुपर्ने प्रस्ताव कांग्रेसको आन्तरिक जीवनमा अहिलेसम्म गरेकोभन्दा उन्नत खालको लोकतान्त्रिक अभ्यास हुनेछ ।

त्यस्तै पार्टी भित्र समानुपातिकका नाममा तरमारा वर्गहरूले पटकपटक अवसर पाउने व्यवस्था अन्त्य गर्न एक पटक मात्र समानुपातिकमा बस्न पाउने नीतिगत व्यवस्था दीर्घकालीन महत्वको छ ।

त्यस्तै, नेतृत्वमा भइराख्ने जाम, एउटै व्यक्ति पटकपटक निर्वाचनमा उठ्ने पदमा बस्ने पद्धतिमा पनि क्रान्तिकारी परिवर्तन ल्याउन खोजिएको छ ।

सभापति र प्रधानमन्त्री दुई पटक मात्र हुने, सांसद चार पटकभन्दा बढी नहुने प्रस्तावले नेतृत्वमा माथि आउन भइरहेको लामो जाम खुलाउन खोजेको छ ।

कांग्रेसमा विशेष महाधिवेशनको क्रममा पनि अन्तिम समयसम्म पार्टी विभाजन नहोस् भन्ने उद्देश्यले सहमतिको कोसिस भएको थियो ।

जब शेरबहादुर देउवाले सभापति पद छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने र सुधारका प्रस्ताव स्वीकार्नुपर्ने मागमा संस्थापन पक्ष टसमस नहुनु, संवादभन्दा टकरावलाई प्राथमिकता दिने रणनीति जस्तो देखियो । वार्ताका अनेक प्रयास हुँदाहुँदै पनि सहमति जुटेन । देउवा र उनको समूहले पद छोड्न तयार भएन ।

पदमा आफैं बस्नुपर्ने, अरूलाई नेतृत्व स्वीकार्न नसक्ने देउवा प्रबृत्तिविरुद्ध महाधिवेशनका दौरान विश्वप्रकाश शर्माले आफूलाई एउटा मानकका रूपमा पेस गरेका छन् ।

किनकि, उनले राजनीतिक रूपमा आफूभन्दा जुनियर रहेका गगन थापालाई उदारतापूर्वक भावी प्रधानमन्त्री र पार्टी सभापतिको रूपमा स्वीकार्ने घोषणा महाधिवेशनको हलबाटै गरे ।

पद नै नछोड्ने र आफूभन्दा कम उमेरकालाई नेता नै नमान्ने राजनीतिक संकीर्णहरूलाई उनले उदाहरण पेस गरेका छन् । थापालाई भावी नेतृत्व र सम्भावित प्रधानमन्त्रीका रूपमा महाधिवेशनको हलबाटै प्रस्ताव गर्नु केवल व्यक्तिगत समर्थन होइन, त्यो नयाँ पुस्तामाथिको राजनीतिक आत्मविश्वासको सार्वजनिक घोषणा पनि थियो । यसले कांग्रेस भित्र पहिलो पटक नेतृत्व पदको रवाफ होइन, राजनीतिक जिम्मेवारी हो भन्ने स्थापित गरेको छ ।

नेपाली कांग्रेसको इतिहास हेर्दा, यो अवस्था कुनै नयाँ चाहिँ होइन । सात दशकभन्दा लामो यात्रामा कांग्रेस दुई पटक पहिले पनि फुटेको हो । कतिपय अवस्थामा फुटको नजिक पुगेर पनि जुटेको छ ।

बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूको युगमा पनि नेतृत्व संघर्ष, वैचारिक मतभेद र संगठनात्मक टकराव निरन्तर थियो ।

डिल्लीरमण रेग्मीको विद्रोह, सुवर्ण शमशेर, मातृका-बीपी विवाददेखि देउवा-कोइराला विभाजनसम्म, कांग्रेसको इतिहास नेतृत्वको कार्यशैलीकै कारण टकराव आएको इतिहास छ ।

तर, वर्तमान संकटको चरित्र केही फरक छ। अघिल्ला विभाजनहरू वैचारिक वा रणनीतिक मतभेदसँग जोडिएका थिए, तर अहिलेको विद्रोह पुस्तान्तरण र राजनीतिक संस्कारसँग पनि सम्बन्धित छ ।

अहिले कांग्रेसको जेन-एक्स पुस्ताले केवल नेतृत्व परिवर्तनको मात्र कुरा गरेन । उसले आफ्नो संगठन, समाज बदलिँदै गर्दा पार्टी भित्रको नेतृत्व संरचना जस्ताको तस्तै रहनु असम्भव छ भन्ने पनि देखायो । कांग्रेस भित्रको अहिलेको विद्रोही समूहले केवल एक पार्टीको भविष्यको निर्णय मात्र गरेको छैन । यसले नेपालको लोकतान्त्रिक राजनीति र नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने दिशा पनि पक्रिन खोजेको छ ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?