+
+
Shares

सेफ सन्तोष शाहबारेको फिल्म ‘द टेस्ट अफ सल्ट’ बर्लिनाले को-प्रोडक्सनमा छनोट

दीपक रौनियारद्वारा निर्देशित ‘द टेस्ट अफ सल्ट’ नेपाल र बेलायतको सह-निर्माणमा बन्न लागेको फिल्म हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १२:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेफ सन्तोष शाहको जीवनयात्रामा आधारित फिल्म 'द टेस्ट अफ सल्ट' बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको को-प्रोडक्सन मार्केटमा छनोट भएको छ।
  • निर्देशक दीपक रौनियारले निर्देशन गरेको यो फिल्म नेपाल र बेलायतको सह-निर्माणमा बन्नेछ र आप्रवासन, जातीय विभेद लगायत विषय उठाउनेछ।
  • सेफ शाहले भने, 'यो फिल्म मेरो जीवनी मात्र होइन, नेपालको पाक सम्पदा र संघर्षप्रतिको सम्मान हो' र यो छनोट सम्पूर्ण नेपालीको जित हो।

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष शाहको असाधारण जीवनयात्राबाट प्रभावित भई निर्माण हुन लागेको कथानक फिल्म ‘द टेस्ट अफ सल्ट’ प्रतिष्ठित बर्लिनाले को-प्रोडक्सन मार्केटको लागि छनोट भएको छ ।

करिब ४०० अन्तर्राष्ट्रिय आवेदनबाट छानिएर यो प्रोजेक्ट मुख्य ‘अफिसियल फिचर प्रोजेक्ट’ विधा अन्तर्गतका १९ उत्कृष्ट फिल्मभित्र पर्न सफल भएको हो ।

फेब्रुअरीमा आयोजना हुने ७६ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा यो प्रोजेक्ट ६०० भन्दा बढी प्रमुख अन्तर्राष्ट्रिय फिल्म निर्माता, वितरक, सेल्स एजेन्ट र लगानीकर्तामाझ प्रस्तुत गरिनेछ ।

हाइवे, सेतो सूर्य, पूजा सरजस्ता चलचित्र बनाएर नेपाली सिनेमालाई प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउँदै आएका निर्देशक दीपक रौनियारद्वारा निर्देशित ‘द टेस्ट अफ सल्ट’ नेपाल र बेलायतको सह-निर्माणमा बन्न लागेको फिल्म हो ।

यसले सेफ शाहको संघर्षपूर्ण र उदाहरणयोग्य यात्रालाई चित्रण गर्नेछ । नेपाल, भारत र बेलायतमा छायांकन हुने यो फिल्मले सन्तोषले तयार पारेका परिकारमार्फत आप्रवासन, जातीय विभेद र निर्वासनजस्ता जटिल सामाजिक विषयलाई उठान गर्नेछ ।

यो प्रोजेक्ट निर्माणमा दुई कम्पनी एकठाउँमा उभिएका छन् । ती हुन्- निर्देशक रौनियार र अभिनेत्री आशा मगरातीद्वारा स्थापित नेपालको आदि फिल्म्स र अनुभव निर्माता स्याम टेलर नेतृत्वको बेलायती कम्पनी फिल्म एन्ड म्युजिक इन्टरटेनमेन्ट ।

निर्देशक दीपक रौनियार ।

अस्कर मनोनित फिल्म ‘विफोर द रेन’ सहित ७५ भन्दा बढी फिल्म निर्माण गरिसकेका युरोपेली सिनेमाका दिग्गज टेलरले सहकार्यबारे भने, ‘दीपकसँग स्पष्ट सिनेमायी दृष्टिकोण छ । यो फिल्ममा प्रसिद्ध ए-लिस्टर स्टारको अभिनय हुनेछ । यो दीपकको सिर्जनाको यात्राको अर्को ठूलो मानक हो । महत्वपूर्ण कुरा, यो कथा सेफ सन्तोष र स्वयम दीपकको वास्तविक जीवनमा आधारित भएकाले यसले वास्तविकताको धरातल छाडेको छैन ।’

बेलायती टिभी रियालिटी शो ‘मास्टरसेफ : द प्रोफेसनल्स’ मार्फत विश्वभरी ख्याति कमाएका शाहले यस छनोटलाई सम्पूर्ण नेपालीको जितको रुपमा लिएका छन् ।

सेफ शाहले भने, ‘यो फिल्म मेरो जीवनी मात्र होइन, यो नेपालको पाक सम्पदा र त्यस पछाडिको संघर्षप्रतिको सम्मान हो । नेपालको विद्यालयको पाठ्यक्रममा मेरो कथा पठाइँदा म जति गौरवान्तित थिएँ, विश्वविख्यात फिल्म फेस्टिभलमा यो छनोट अर्को ठूलो उपलब्धि हो । मेरी जन्मभूमि नेपाल र मेरी आमाले पक्कै गर्व गर्नुहुनेछ ।’

निर्देशक रौनियारले भने, ‘अहिले विश्वभर आप्रवासन र पहिचानमाथि प्रहार भैरहेको तथा अमेरिका लगायतका देशले भिसामा कडाइ गरिरहेको समयमा मलाई यो कथा भन्नु अत्यावश्यक लागेको छ ।’

उनले अघि भने, ‘सन्तोष, जसले नेपालमा जन्मेर पनि भारत हुँदै बेलायत पुगेर नाम र करिअर मात्र बनाएनन्, नेपाली खाना र पहिचानलाई विश्वसामु चिनाए । उनको कथामा चलचित्र बनाउनु अहिले निकै सान्दर्भिक छ । ‘द टेस्ट अफ सल्ट’ आधारभूत अधिकारबाट बञ्चित गरिनु, घर र बहिष्कारले निम्त्याउने दैनिक मूल्य सँगसँगै एक साधारण व्यक्तिको संघर्षले ल्याएको ठूलो सफलताको कथा हो ।’

बर्लिनाले को-प्रोडक्सन मार्केट फिल्मको लगानी तथा बिक्रीका लागि विश्वकै लागि प्रमुख थलो मानिन्छ । यसले उच्च सम्भावना बोकेका फिचर प्रोजेक्टलाई अन्तर्राष्ट्रिय वितरक, निर्माता र लगानीकर्तासँग जोड्दै विश्वस्तरीय निर्माण र वितरण सुनिश्चित गर्छ ।

यहाँबाट छनोट भएका विगतका प्रोजेक्टले कान्स, सनडान्स र अस्करजस्ता प्रतिष्ठित मञ्चमा शीर्ष पुरस्कार जितेका छन् । थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका रौनियारको लागि पनि यो मार्केटमा पहिलो छनोट हो र नेपालको तर्फबाट पनि छनोट हुने यो पहिलो प्रोजेक्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?