३ माघ, दमौली (तनहुँ) । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन ।
निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन् । यसअघि माघ १ गतेसम्म निवेदन दिने समय रहेकामा कम निवेदन परेपछि आजसम्मका लागि अन्तिम समय तोकिएको छ ।
उनले भने, ‘माग गरेबमोजिम कमको निवेदन परेपछि जिल्ला निर्वाचन समितिको निर्णयअनुसार अवधि बढाइएको छ ।’ निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।
उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने प्रनाउ विकले बताए ।
उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने सर्त राखिएको छ ।
प्रतिक्रिया 4